जीवनको रंगमञ्चमा क्यान्सरसँग लडिरहेका घनश्याम (भिडियाे स्टाेरी)

म एउटा कहानी लेख्दैछु
प्रेमको अन्त्य भएको
रुवाएर एक प्रेमीलाई संसार छोडी गएको...

पहिलोचोटी गीतका यी शब्दहरू लेख्दा जीवनका चञ्चल रसहरू भरिएका थिए। यिनै शब्दमा उनले संगीत पनि भरे।

सूर्यका किरणसँगै भर्खरै तंग्रिन लागेको थियो, काठमाडौँ। बिहानी सिरेटोका चिसा स्पर्शहरूमा ठोक्किँदै-ठोक्किँदै हामी सूर्यबिनायकस्थित कटुन्जे पुग्यौँ।

सहरको कर्कसदेखि अलि टाढा सानो फूलबारी अनि करेसाले घेरिएको उनको घर टिनका पाताले घेरिएको छ। साँघुरो गल्लीमा एकछिन हिँडेपछि टिनकै पाताको गेट खुल्यो।

घरको माथिल्लो तला अझै निम्जिएको छैन। कलाकारिता गर्दा गर्दै कमाएको पैसाले जोडेको यो एकटुक्रा जमिनमा घर त ठड्याउन सके। तर, सिङ्गार्दा सिङ्गार्दै घनश्याम आफैँ थला परेका छन् यतिबेला।

साँघुरो कोठामा थरिथरिका प्रमाणपत्र, प्रशंसापत्र अनि पुरस्कार पाएका प्रमाणले लपक्कै छोपिएको भित्तामुनि एउटा खाटमा पल्टिएको पनि महिनाैँ बितिसक्यो।

सिमेन्टको भित्तामा झुन्डिएको एउटा तस्विरमा सर्लक्क परेका ‘प्रचण्ड’को मीठो मुस्कान छ। त्यो तस्विरका वास्तविक मान्छे भने घनश्याम गौतम हुन्।

जो लामाे समयदेखि क्यान्सरसँग लडिरहेका छन्।

०००

२०५१ सालतिर रेडियो नेपालमा सुनिने ‘हातेमालो’मा गुञ्जिने एउटा कलिलो आवाज यिनै घनश्यामको थियो। त्यतिबेला उनी ११ वर्षका मात्रै थिए।

बालापनमै मनभित्र हुर्किबसेका कतिपय रहर अनि आकांक्षाहरूले नै जीवनको भविष्य रेखाहरू कोरिदिन्छन्। घनश्यामको जीवनमा पनि त्यो बेलै हुर्किएका रहरहरूले उनलाई ‘कलाकार’ बनायो।

कलाकारिताको यो यात्रामा उनले के मात्रै गरेनन्, उनले गीत लेखे, गीतका ती अक्षरहरूमा संगीत भरे। कति गीतका शब्दमा आफ्नै आवाज भरे।

कथा लेखे, कविता लेखे। नाटक अनि प्रहसनहरू लेखे।

जिन्दगीले ‘तन्नेरी’ रेखाहरू कोर्दै गर्दा घनश्याम देशभरि चिनिएका कलाकार भइसकेका थिए। नाटक र प्रहसनका मञ्चहरूमा घनश्यामको माग बढिरहेको थियो।

सयौँ मञ्चमा ‘नाटक’ खेल्दा खेल्दै घनश्याम अहिले ‘क्यारिकेचर’ गर्ने कलाकारका रुपमा दरिएका थिए।

नेताहरूको बोली ठ्याक्कै मिलाएर मञ्चमा देखिने घनश्यामले यी दिनहरूमा ‘प्रचण्ड’को नक्कल गर्थे। ओछ्यानमा ढल्नुअघि पनि प्रचण्डकै नक्कल गर्न उनी राजधानीबाहिरको जिल्ला गएका थिए।

पखालाले थलिएका घनश्याम अस्पतालमा चेकजाँच गराएर कार्यक्रमतिर हिँडे। केही दिनपछि उनी फर्किए। अनि थलिए। काठमाडौँ मेडिकल कलेजले उनको रिपोर्ट लिन बोलायो।

श्रीमतीले रिपोर्ट त लिएर आइन तर त्यो भन्दा अघि ओछ्यानमा ढलिरहेका घनश्यामले श्रीमतिका आँखामा आँसु देखे।

त्यसैदिन श्रीमतिले छिमेकी र आफन्त बोलाएर सरसल्लाह गरिन्। सबैले भने- भक्तपुर क्यान्सर अस्पताल लगिहाल्नु पर्‍यो।

तत्कालै अस्पताल लगियो। अस्पतालको ताल उही त हो। जताततै उस्तै अस्तव्यस्त। एकातिर ब्यथा थियो, अर्कोतिर अन्योल।

दिमागमा क्यान्सरको झट्का थियो। मनभरि थरिथरि पीरका पोकाहरू। अस्पतालमा बेडधरि थिएन। घनश्याम अस्पतालको आँगनमै बेहोस भए। ब्युँझिदा उनी त्यही भक्तपुर क्यान्सर अस्पतालको ‘इमर्जेन्सी’मा थिए। वरिपरि आफन्तहरूले घेरिएका उनले देखे, थाहा पाएजति कलाकार, पत्रकार अनि साथी-भाइहरू सबै थिए।

त्यसपछि सुरु भयो क्यान्सरको उपचार यात्रा। तेस्रो स्टेजमा उक्लिएर आन्द्रामा ‘ट्युमर’ बनाइसकेको क्यान्सर उपचारको सुरुवात नै ‘किमो थेरापी’ थियो।

शरीरमा क्यान्सर भएको थाहा पाएर जति मन भक्कानिएको थियो त्यो भन्दा धेरै अब घनश्यामको मुटु धड्किन थालिसकेको थियो- लखतरान यो ज्यानले कसरी किमो थेग्ला?

सुनेका थिए ‘किमो चढाउँदा ज्यानले धान्दैन, किमो हाल्दा हाल्दै मान्छे मर्छन्, कपाल झर्छ, ज्यानै खलबलिन्छ’ डरका यी बतासहरूले बेस्सरी हल्लिएका घनश्यामलाई त्यो बेला यी सब कुरा भ्रम लागे जब उनको ज्यानले पहिलोपटक किमो चढाएको त पत्तै पाएन।

बेडमा सुतिरहेका घनश्यामको ज्यानमा किमो चढिसकेको थियो। एकछिनपछि उनले सोधे- खै त किमो चढाएको? श्रीमतिले भनिन्- किमो त चढाइसक्यो त…!

क्यान्सरका थुप्रै कथाहरू सुनेका थिए घनश्यामले। ‘नाटकीय’ जीवनमा क्यान्सरसँग लडिरहेका साथीहरू पनि भेटेका छन् उनले। क्यान्सरले निलेका आफन्त अनि साथी-भाइको परिवारलाई धेरैपटक सान्त्वना पनि दिएका छन्।

आफैँ पनि ‘मोटिभेसनल स्पीकर’ हुन् उनी। जीवनको यो यात्रामा उनले सयौँलाई जीवनका ‘सकारात्मक’ कुराहरू सिकाएका छन्। जिन्दगी जिउने मन्त्रहरू दिएका छन्। खुसीका उपायहरू सिकाएका छन्, सुख, दु:ख अनि हाँसो- खुसीका परिभाषाहरू सिकाएका छन्।

र, आज ती सब ऐनासरी भए जसले उनी बाँचेको र बाँचिरहेको जीवनका पानाहरू जस्ताको तस्तै देखाइरहेका छन्।

क्यान्सरका धेरै मिथकहरूलाई त उनले अब जितिसकेका छन्, कतिपय भ्रमबाट उनी आफैँ मुक्त भएका क्यान्सरसँग लड्दा लड्दै।

एउटा महंगो अनि दुर्लभ उपचार भएको क्यान्सरसँग लड्दालड्दै उनले बुझेका छन्- क्यान्सर जित्ने सबैभन्दा महंगो भने पनि अमूल्य भने पनि एउटै औषधि रहेछ- आत्मबल।

अनि आफूसँगै सधैं बलियो बनेर उभिदिने प्रिय आफन्त। घनश्यामभन्दा धेरै त उनकी श्रीमती रोइन् जब हातमा ‘क्यान्सर’को रिपोर्ट थियो।

तर, त्यसपछिका दिनमा घनश्यामभन्दा बलियो भनेर श्रीमती नै उभिइन्, त्यही क्यान्सरको सबैभन्दा अनमोल औषधि बनेर।

एउटाको घाउ अर्कोलाई दुख्दोरैछ। त्यो प्रेम थियो, घनश्याम अनि उनको शरीरमा मौलाइरहेको क्यान्सरको लागि त्यो एउटा औषधि थियो।

आज घनश्यामले बुझेका छन्, एउटा नारीले आफ्नो प्रिय मान्छेका लागि जे जति गर्नसक्छ त्यो त एउटा पुरुषले नारीका लागि कहिल्यै गर्न सक्दैन।

आज-भोलि रंगमञ्च छुटेको छ। साथी-भाइहरूसँगै छैनन्। तर, पनि घनश्यामलाई यस्तो लाग्छ कि ती सबको प्रेम अनि स्नेहले अहिले त उनी भित्रभित्रै स्नीग्ध छन्।

प्यास लाग्दा भेटिएको पानीको के महत्व हुन्छ र जति प्यास लाग्दा नभेटिएको पानीको हुन्छ।

जे छ त्यसको महत्व हुँदैन। जे छैन त्यसको महत्व हुँदोरैछ। जसरी आज घनश्यामसँग काम गर्ने क्षमता छैन। समय छैन।

अनि घनश्यामलाई लाग्छ साथी-भाइ आफन्तहरू त दुखिरहेको घाउका मलम रहेछन्। कोही छुटेका थिए, छुटाइएका थिए। तर यो बेला भेटिए। भेट्न आए। त्यो माया, त्यो प्रेम अनि त्यो स्नेह मलम थिए सायद।

क्यान्सरले लपेटिएको ट्युमर फाल्न उनको शरीर गत पुसमा चिरिएको थियो। अपरेशनपछि अहिले केही हल्का भएको छ।

अनि घनश्यामको मनलाई झन् लागेको छ क्यान्सर लाग्दैमा मरिँदैन। समयमै राम्रो उपचार पाए क्यान्सर जित्न पनि सकिन्छ। बाँच्न पनि सकिन्छ।

तर, छ महिनादेखि क्यान्सरसँग यही लडाइँ लडिरहेका घनश्यामको अनुभव भन्छ- उपचार नै पनि अलि महंगो हुँदो रहेछ। पैसा हुनेहरू त विदेश जान्छन्, महंगो महंगो अस्पताल जान्छन्।

क्यान्सरसँगको ‘रणभूमि’मा घनश्यामले भने उतिधेरै अभाव झेल्नुपरेको छैन।

किनकि आफूसँग धेरै पैसा नभए पनि आफ्ना मान्छे रहेछन्। सहयोग गर्ने मान्छे रहेछन्। घनश्यामले यहीबेला थाहा पाए उनले चिनेका पनि धेरै मान्छे रहेछन्, उनलाई चिन्नेहरू पनि धेरै रहेछन्।

सायद एउटा कलाकारले जिन्दगीमा कमाएको सबैभन्दा ठुलो धन पनि यही हो कि !

यो बिचमा उनका साथीहरू भेट्नमात्रै आएनन्, मायामात्रै दिएनन्। बरु प्रेम र स्नेहका पोकासँगै सहायता पनि गरेका छन्, कसैले आर्थिक सहयोग गरेका छन्। कसैले घनश्यामको मन थमथमाएका छन्।

उपचारका लागि कति खर्च लाग्छ अझ कति चाहिने हो त्यो त उनी आफैँलाई पनि थाहा छैन। सोचेभन्दा धेरै बढी खर्चिलो हुने रहेछ। देखिने भन्दा पनि नदेखिने खर्चहरू धेरै नै हुँदोरहेछ। कहिलेकाहीँ त घनश्यामलाई लाग्छ, बोरामै पैसा राख्नपर्ने पनि हुनेरहेछ।

जीवनमा उनले धेरैका नक्कल गरेका छन्। सबैभन्दा धेरै यो रङ्गमञ्चमा गरेको ‘क्यारिकेचर’ नेपालका प्रधानमन्त्री अनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हो।

केही वर्षअघि प्रचण्ड घनश्यामकाे दैलाेमा पुगेका थिए।

‘सक्कली’ प्रचण्डसँगको यही नाताका कारण अहिले पनि धेरैले सोध्छन्- उपचारका लागि सरकारले कति पैसा दियो?

तर, घनश्यामले अहिलेसम्म सरकार वा कुनै नेतासँग एक पैसा पनि लिएका छैनन्। आश त लाग्दोरैछ। तर, उनले मागेका छैनन्। कसैले दिएका पनि छैनन्।

बेला-बेला सार्वजनिक कार्यक्रमहरूमै ‘भावुक’ भइदिने प्रचण्डबारे घनश्यामले सुनेका छन्, उनी कोमल मनका छन्।

क्यान्सरले निलेकी प्रचण्डकी जेठी छोरी ज्ञानुको चिताको अघि होस् वा उनका ह्रदयघातले बितेका छोरा प्रकाशको शवका अघि अनि पत्नी सीतालाई घाटमा पुर्‍याउँदा किन नहोस्, घनश्यामले देखेका छन्।

जे हामीसँग छ, जे हामीले पाइरहेका हुन्छौँ त्यसबाट हामी कहिल्यै खुसी हुन सक्दैनौँ। त्यसको महत्व बुझ्दैनौँ। तर, जब त्यो गुमाउँछौँ अनि बल्ल त्यसको महत्व बुझ्छौँ।

मान्छेले बनाएका कृत्रिम रङ्गमञ्चहरूमा घनश्यामले धेरैथरि ‘नाटक’ गरेका छन्। कहिले हाँस्दा हाँस्दै कसैलाई रुवाएका छन्। कहिले रुँदारुँदै कसैलाई हँसाएका छन्।

साँच्चिकै असली रंगमञ्च त जीवन नै हो।

घनश्यामले भोगेका छन् एउटा मञ्चमा नाटक देखाउँदा छोटो समय हुन्छ। वरिवरि दर्शक हुन्छन्। पीडामा पनि रमाइरहेका हुन्छौँ।

जीवन पनि नाटक त नाटकै हो। तर, यहाँ त्यो रंगमञ्च हुँदैन। दर्शक हुँदैनन्। समयको सीमा हुँदैन।

जीवनमा जे हुन्छ। जीवन र मृत्युको बिचमा जे-जे कुरा हुन्छन् ती सबै भोग्नुपर्छ। त्यही भोगाइ नै जीवन त हो।

घनश्यामलाई आज लाग्दैछ- हामी त खुसी हुनै नजानेका रहेछौं। हामी सुखमात्रै खोजिरहन्छौँ तर दु:ख नभए त सुखको मात्रै के काम रैछ र !

अनि अब त लाग्छ, यो क्यान्सर पनि जीवनको एउटा सामान्य भोगाइ नै हो।

फाेटाे/भिडियाे: शनि शाक्य।

प्रकाशित मिति: : 2024-05-06 22:00:00

प्रतिकृया दिनुहोस्