उता रुसमा लडिरहेछन्, मरिरहेछन् अनि हराइरहेछन्, यता गुहार सुन्दैन सरकार 

रोजी पुन
रोजी पुन

घाम र प्रदुषणको तुँवालोले छोपेको काठमाडौं। यो सहरको एउटा निकै व्यस्त सडक हो रत्नपार्क। बिहानदेखि रातभरि पनि जागिदिने यो पार्क आसपासमा सहरका अनेकौं मान्छे भेटिन्छन्। 

यही सडकको एक छेउमा एक हुल मान्छेका समूह दुई सातादेखि ‘धर्ना’ दिइरहेको छ। सडकको कोलाहल र छेउमा रमितेहरूलाई बिथोल्ने गरी एउटा कलिलो आवाज सुनियो– रोइरहेको। आँसु केही भन्दै थियो। केही खोज्दै थियो। 

तर आफैमा हतार–हतार कुदिरहेको यो सहर के सुन्थ्यो र! 

सुन्ने त आमा छेउमै आमा थिइन्– रोजी पुन। उनी ढलिरहेकी थिइन्। त्यस्तैमा रोइरहेको छोरा टेनिसलाई काखमा तानिन्। १८ महिनाका टेनिस आमाकै काखमा पनि एकछिन रोए, त्यसपछि सब भुले कि सायद अनि काखमै निदाइदिए। 

तर उनकी आमा रोजी पुन न छोरा जसरी रुन सकेकी छिन्, न मन भुलाउने केही नै पाएकी छिन्। आमाको काख छुटेको चार वर्ष (२०७७ सालमा बिहे) भयो। त्यसपछि श्रीमानकै साथ त हो।  

उनै श्रीमान (भुवन पुन) पनि बिरानो मुलुक रुस–युक्रेनको युद्धमा हराएपछि उनका सारा खुसी हराएसरी भएका छन्। ७ महिनाअघि (असोज २ गते) रुसको भूमीमा धन खोज्न गएका भुवन गएको केही समयमै सम्पर्कविहीन भए। 

त्यसयता श्रीमानको खोजीका लागि रोजी सरकारी अड्डा धाउन थालेको ४ महिना भइसक्यो। ४ महिनायता उनी राजधानी काठमाडौँको सडकमा चप्पल खिआउँदै सरकारी अड्डामा धाइरहेकी छिन्। 

श्रीमानको अवस्था बुझ्न कहिले त्रिपुरेश्वरको कन्सुलर विभाग, कहिले सिंहदरबार त कहिले बालुवाटरको रुसी राजदूतावास धाइरहेकी छिन्। उनी राजधानीमा सरकारका यी ढोका–ढोका धाउँदा पनि श्रीमानको अवस्था थाहा पाउन सकेकी छैनन्। 

सरकारले उनको बेदना सुनिदिएको छैन। जसले उनी कहिले प्रदर्शनमा उत्रिन्छिन्। प्रदर्शनकाक्रममा दुई पटक सिंहदरबार र एक पटक रुसी राजदूतावासबाट पक्राउ पनि परिसकिन्। आइतबारसम्म शान्तिवाटीकामा अनसनमा बसिन्।

म्याग्दीको ओखरपोट गाउँपालिका–४ मवीर गाउँकी रोजीका २ छोरा छन्। १८ महिने कान्छा छोरा टेनिसलाई आफूसँग ल्याएकी छिन्। ४ वर्षे अर्का छोरा गाउँमै छन्। 

छोरा काँधमा बोकेर श्रीमानको खोजीमा राजधानी छिरेकी उनको हाल अवस्था राम्रो छैन। शनिबार भेटिदा उनी बिरामी थिइन्। राम्रोसँग बस्न सक्ने अवस्थामा थिइनन्। ‘घाँटीमा टन्सिल भएको छ। बस्न पनि सकेकी छैन’, उनले बिसन्चो शरीरको खबर सुनाइन्।

श्रीमानसँगै ७ महिना अघि ४ जना रुसी सेना बन्न उडेका थिए। उनीहरुमध्ये ३ जनाको अवस्था ठिक छैन। रोजीकाअनुसार उनका श्रीमानसँगै अर्का एक जना पनि ५ महिनादेखि सम्पर्कमा छैनन्। एक जना अस्पतालमा उपचाररत छन्। अर्का एक जना भने घर फर्किन सफल भएका छन्। 

‘सँगै गएका ४ जनामध्ये एक जना मात्र घरमा आएका छन्’ उनले भनिन्, ‘अरु ३ जनामध्ये २ जना बेपत्ता छन्। एक जना अस्पतालमा बेहोस छन्।’
रोजी अहिले २२ वर्ष मात्र भइन्।

बिहे भएको ४ वर्षमै श्रीमानलाई विदेश धन कमाउन पठाएकी उनी अहिले ऋणको भारी बोकेर बसिरहेकी छिन्। श्रमानलाई रुस पठाउन गाउँकै सूर्यदय सहकारीबाट ८ लाख ऋण लिएकी थिइन्। 

अहिले त्यो ऋणले उनलाई सताइरहेको छ। श्रीमानले गएदेखि एक रुपैयाँ पनि पठाएनन्। धन्न माइतमा ८ लाख ऋणको ब्याज तिरिदिएकाले सहकारीको तनाब केही कम भएको छ।

रोजीको मात्र होइन, शान्तिवाटीका अनसनमा बसेका करिब २ दर्जनको बेथा उस्तै–उस्तै हो। कोहीका आफन्त बेपत्ता छन्। कसैका आफन्तको मृत्यु भएको खबर आइसकेको छ। कसैका आफन्तले युद्धभूमीबाट उद्धारका लागि हारगुहार गरिरहेका छन्। 

सरकार सुन्दैन 

रुसी सेनामा भर्ती भएका नेपालीको मृत्यु भएको खबर पहिलो पटक मङ्सिरमा बाहिरिएको थियो। त्यसबेला स्याङ्जाका प्रितम कार्की, गोरखाका सन्दीप थपलिया, इलामका गङ्गाराज मोक्तान र दोलखाका राजकुमार रोक्का गरी ४ जनाको रुस–युक्रेनको युद्धमा मारिएका थिए। 

त्यसयता कति नेपालीको मृत्यु भएको भन्ने आधाकारिक तथ्याङ्क छैन। नेपाल सरकारले हालसम्म रुसी सेनामा भर्ती भएर रुस–युक्रेन यद्धमा २२ जना नेपालीको मृत्यु भएको जनाएको छ। 

तर रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीले सरकारी तथ्याङ्क भन्दा अवस्था भयावह रहेको बताउँछिन्। उनकाअनुसार हालसम्म ३९ जनाको मृत्यु भएको परिवारले स्वीकार गरिसकेका छन्। 

४० परिवारलाई आफन्तको मृत्यु भएको खबर आएको तर पुष्टिको पर्खाइमा रहेको उनले जानकारी दिइन्। रुस–युक्रेन युद्धमा रहेका २ सय ७२ जना करिब ५ महिनादेखि सम्पर्कमा छैनन्। १ सय १७ जना घाइते र १५ जना तत्काल्यै उद्धारको पर्खाइमा रहेको विवरण आफूसँग रहेको भण्डरीले बताइन्। 

तर सरकारले उद्धारको प्रयास भइरहेको र उद्धार गर्ने बताउँदै आए पनि प्रभाकारी काम नगरेको भण्डारीको भनाइ छ। ‘रुसी सेनामा रहेकाहरूको अवस्था थप जटिल बनिरहेको छ। रेड जोनमा लडाइमा पठाएको छ। सम्झौता अवधि सकिए पनि रुसले नेपालीलाई घर फर्किन दिएको छैन’, उनले भनिन्, ‘तर सरकारको पहलकदमी देखिएको छैन।’ 

परराष्ट्र मन्त्रालय कन्सुल विभागका कानुनी अधिकृत कृष्ण बस्याल भने नेपालीको उद्धारका लागि सरकारले काम गरिरहेको बताउँछन्। ‘केही नगरेको भन्न मिल्दैन। मस्कोमा पराराष्ट्र मन्त्रीस्थतरी भेटघाट भइरहेको छ। यहाँ पनि राजदूतावाससँग उद्धारका लागि छलफल भइरहेको छ’, उनले भने। 

उनका अनुसार २२ जना मृत्यु भएकामा १२ जनाको पुष्टिका लागि डिएनए पठाइएको छ। ६ जना मृतकका परिवारलाई क्षतिपूर्तीका लागि प्रकृया अगाडि बढिरहेको छ। हालसम्म ७० जना बढी नेपाल फर्किएको उनले जानकारी दिए। 

माथिका विवरण भन्दै उनले भने, ‘यति काम त भइरहेकै छन्। सरकारले केही नगरेको होइन। काम गरिरहेको छ। सम्झौता गरेर गएको विषय हो। उद्धारमा अलिअलि गाह्रो त भइहाल्छ।’ 

अनसन स्थगन 

असनरत रुसी सेनाका परिवारले आज आइतबार अनसन स्थगन गरेका छन्। १७औँ दिनमा सरकारसँग भएको छलफलपछि सहमति गरेर असन स्थगन गरिएको रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानकी संयोजक भण्डारीले जानकारी दिइन्। 

रुसी सेनामा भर्ती भएका आफन्तहरूले सेनामा भर्ती भएकाहरूको उद्धार, युद्धमा घाइते नेपालीको उचित उपचार, क्षतिपूर्ती, युक्रेनको कब्जामा रहेका ५ नेपालीको उद्धार, मृतकको शव ल्याउन र क्षतिपूर्तीसहित रुसी सेनाबाट प्राप्त गर्ने सबैखाले सेवा सुविधा नेपाल ल्याउने ब्यवस्थालगायत १३ बुँदे माग राखेर अनसन बसेका थिए। 

प्रकाशित मिति: : 2024-05-05 19:26:00

प्रतिकृया दिनुहोस्