अमेरिकाको तल्लो सदन अर्थात् अमेरिकी कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको ‘बिग ब्यूटिफुल विल’ अर्थात् कर र खर्चसम्बन्धी एउटा विधेयक पारित गरेको छ। यसअघि नै अमेरिकी सिनेटले उक्त विधेयक पारित गरिसकेको थियो। त्यसमा उपराष्ट्रपति जेडी भान्सको मत निर्णायक रह्यो।
ट्रम्पले यसलाई अमेरिकी ‘स्वतन्त्रता दिवसको सबैभन्दा महत्वपूर्ण र ऐतिहासिक उपहार’ भनेका छन्। त्यो विधेयक पारित गर्न जुलाई ४ का लागि ट्रम्पले अन्तिम समय दिएका थिए। जुलाई ४ अमेरिकी स्वतन्त्रता दिवस पनि हो।
निकै रस्साकस्सी र विवादका बीच यो विधेकका पक्षमा २१८ र विपक्षमा २१४ मत परेको थियो। आफ्नो कार्यकालका लागि ट्रम्पले यसलाई निकै महत्वपूर्ण जिते ठानेका छन्।
यो विधेयक लागु भएसँगै आगामी १० वर्षमा अमेरिकाको वित्तीय घाटामा थप ३३ अर्ब डलरभन्दा धेरै भार पर्ने र दशौं लाख मानिसहरू स्वास्थ्य बिमाबाट वञ्चित हुनसक्ने अनुमानअनुसार यो विधेयकको आलोचना भएको थियो। तर ह्वाइट हाउसले भने त्यसलाई अस्वीकार गरेको छ।
ट्रम्पले यो कानुनलाई अमेरिकी विकासका लागि ‘रकेट यान’ भन्दै देशका लागि सबैभन्दा ‘महान कानुन’ भएको टिप्पणी गरेका
खासगरी यो विधेकमा सरकारले अमेरिकी नागरिकलाई दिँदै आएका मौलिकअधिकारजन्य क्षेत्रका अनुदानमा ब्यापक कटौती हुने व्यवस्था छ। त्यसबाट लाखौं अमेरिकी नागरिक खाद्य सहयोग तथा स्वास्थ्योपचारबाट वञ्चित हुनेछन्। त्यस्तै स्वच्छ उर्जाका लागि संघीय सरकराले दिन अनुदानहरूमा पनि ब्यापक कटौती हुनेछ। यसलाई ट्रम्पले ‘खर्च वचत’ गरिने बताएका छन्।
ट्रम्पले पहिलो कार्यकालमै यस्ता प्रावधानहरू लागु गर्न खोजेका थिए। त्यसलाई स्थायी रुप दिन अहिले यो विधेयक ल्याएका हुन्। यसमा टिप्स, ओभरटाइम, सामाजिक सुरक्षा अनुदानमा लाग्ने करहरू हटाइएको छ। जसको आर्थिक मूल्य आगामी दश वर्षमा लगभग ४५ खर्ब डलर हुने अनुमान गरिएको छ।
त्यस्तै सिमाना सुरक्षा, हिरासत केन्द्र तथा आप्रवासन कानुन कार्यान्वयन अधिकारीहरूमा १५० अर्ब डलर खर्च गरिने छ। अर्को १५० अर्ब डलर ट्रम्पले अघि सारेको 'गोल्ड डोम' क्षेप्यास्त्र प्रतिरक्षा कार्यक्रम लगायतका सैन्य खर्चमा लगाइने छ।
सदनमा मतदान हुँदा प्रक्रियागत अवरोधहरू गर्ने कोसिस गर्दै डेमोक्र्याटहरूले विधेयकप्रति विरोध जनाए।
उनीहरूका अनुसार उक्त विधेयकले दशौँ लाख अमेरिकीहरूसँग स्वास्थ्योपचार तथा खाद्य सहयोग खोसेर धनीहरूलाई करमा छूट दिलाउने छ।
बिबिसीको सहयोगमा