प्रिय ‘सुफी’, सबथोक हाेइन माया

‘जिन्दगी, तिमी आँसुको खहरे लिएर आऊ,
म मुस्कानको सागर लिएर पर्खिउँला।’

नयाँ पुस्ताका पाठकहरूमाझ खुब रुचाइएका लेखक हुन, सुविन भट्टराई। उनका प्रेम कथासँग सम्बन्धित पुस्तकहरू बजारमा वेस्ट सेलर छन्। सुविनद्धारा लिखित पुस्तक इजोरिया, समर लभ, कथाकी पात्र, साया, मनसुन, प्रिय सुफीलगायतका पुस्तकहरू प्रकाशित छन्। यी पुस्तकहरू नपढ्ने पछिल्लो पुस्ताका टी˗नेजहरु सायद कमै होलान्।

त्योमध्ये मैले पछिल्लो समय पढेको उनको पुस्तक हो, प्रिय सुफी। पुस्तकबारे धेरै साथीहरूबाट, धेरै थरीका प्रतिक्रिया पाएको थिएँ। पुस्तक पढिसकेपछि छोटो समीक्षा नलेखी मनले मानेन। तसर्थ, छोटो समीक्षा लेख्ने प्रयास भने गरेको छु।

पुस्तक हातमा परेसँगै पछाडिको कभरले ध्यान तान्यो। त्यहाँ लेखिएको छोटो प्रतिक्रियाले मन छोयो। पाठकले लेखकलाई लेखेको ‘प्रिय लेखक’ पढ्दा त्यसले मलाई पुस्तकभित्र पस्न उत्सुक बनायो। पहिलो पृष्ठमा प्रवेश गरेसँगै पुस्तक छोड्न भने मन लागेन।

अब पसौँ ‘प्रिय सुफी’भित्र। वीरगन्जबाट काठमाडौँ फर्किँदै गरेकी एउटी युवतीको पहिलो गाडी बिग्रिन्छ। आफू चढेको गाडी बिग्रिएपछि उनी कतैबाट व्यवस्था मिलाएर दोस्रो गाडीमा बस्छिन्। फर्किने क्रममा गाडिभित्र तीन जना व्यक्ति फेला पर्छन्। ती हुन आमा, बाउ र प्रेम रोगी छोरा।

गाडीको यात्रा लामो भएकाले उनी ती व्यक्तिहरूसँग कुरा गर्न खोजिरहेकी हुन्छिन्। तर, त्यति राम्रो ‘रेस्पोन्स’ पाउँदिनन्। बाउको रुखो व्यवहार र आमाको प्रतिरक्षाले कुरा गर्ने बाटो खुल्छ। प्रेममा धोका पाएको छोरा आत्महत्या गर्न विष सेवन गरेको हुन्छ। तर, मर्दैन। उपचारका लागि राजधानी काठमाडाैँ जाँदै गरेका हुन्छन् उनीहरू।

उनीहरूको व्यथा सुनेपछि ती युवतीले एउटा कथा सुनाउन थाल्छिन्। कथाको पात्र हुन्छन्, ‘सदा र सार्थक’। सदा एमएससीकी छात्र हुन भने सार्थक उनका सहपाठी। एउटै कलेजको एउटै कोठामा बस्ने उनीहरूको भेटघाट दिनहुँ भइरहन्थ्यो। समय बित्दै जाँदा सदा सार्थकलाई मनमनै खुब मन पराउँथी। तर, मन पराउँछु भनेर कहिल्यै भनिन्। भनोस् पनि कसरी, अक्सर केटाहरूले नै पहिला प्रेम प्रस्ताव गर्ने चलन जो थियो।

अहिले पनि प्रायजसो केटाहरूले नै प्रेम प्रस्ताव गर्ने गर्छन्। हतार पुरुषलाई नै हुन्छ। तर, यहाँ कथा अलि फरक थियो। सार्थकप्रति मोहित सदा थिई। तर, सिधैं प्रेम प्रस्ताव भने राखिन्। आफ्ना केही मन मिल्ने साथीहरूसँग कुरा खुस्काय पनि सार्थकका अगाडि भने ऊप्रति केही नभएझै अभिनय गर्न सफल हुन्थी।

बिस्तारै-बिस्तारै सार्थक नजिक आउँछ। बोलीचाली दिनहुँ बढ्न थाल्छ। अनि प्रेम नामको तीन वटा परीक्षाबाट गुज्रिन्छ सार्थक। प्रेम प्रकट भएता पनि सीमारेखा पार गरेका हुँदैनन्, उनीहरूले।

सार्थकले आफ्नो प्रेमलाई दिनुपर्ने समय दिन्छ। बिचमा सदा एक्कासी बिरामी पर्छे। निरन्तर रोगले च्याप्दै जान्छ। एक वर्ष, डेढ वर्ष समय बित्छ तर सदाको रोग सन्चो हुँदैन। सुरु सुरुमा सदालाई सन्चो नहुँदा खुब हेरचाह गर्ने सार्थक बिस्तारै-बिस्तारै दूरी बढाउन थाल्छ। बेला–बेलामा आफ्नो भित्री अनुहार देखाउँछ पनि। सदालाई पढाइको पिरलो हुन्छ। हरेकतिरबाट ठगिएकी सदालाई एकदिन सार्थकले पनि ठग्छ। बिरामी सदा सन्चो हुने आस मार्न थाल्छ।

सार्थकलाई सदाको भन्दा पनि आफूले आफैंलाई माया गर्न थाल्छ। ऊ प्रेममा सहिद हुँदैन। सार्थकले सदाको साथ सधैँका लागि चटक्कै छोड्छ। सदा झन् झन् थाला पर्दै जान्छे। छरछिमेक, आफन्तको त साथ थिएन उसलाई हुँदा-हुँदा एकदिन उसलाई सबैभन्दा बढी माया गर्ने सार्थकले समेत छोडेपछि सदालाई यो संसारबाटै सदाका लागि बिदा दिने निधो गर्ने। र, एउटा पत्र कोर्छे .....

प्रिय सुफी,

मलाई माफ गर, मेरी बहिनी। रोगको लामो धपेडीबाट गुज्रिएको यो जीवन अब धेरै थाक्यो। थाक्यो शरीर धेरै। थाक्यो मन धेरै। हिम्मत, आशा, जोस, उत्साह, ऊर्जा सबै थाकेर लखतरान छ। मैले सकिनँ मेरी बहिनी। मेरो केही लागेन। मृत्युमाथि विजय प्राप्त गर्न नसक्ने नै भएँ। जीवनसित प्रेम हुँदाहुँदै पनि यो शरीरका कारणले म विवश भएँ।

सबै कुराको जड यही रोगी शरीर भइदियो। यसलाई सरक्क बिसाउन मन भयो। वास्तवमा म आफूलाई भन्दा पनि मबाट उब्जिएका विकारहरूको अन्त गर्न गइरहेकी छु। मेरो शरीरभन्दा पनि यसको कारणले उत्पन्न भएका समस्याहरूको अन्त्येष्टि गर्न गइरहेकी छु। मेरो यो पीडा, यी सब विवशता, असफल प्रेमको सिलसिला, बाबाको लाचारी, तेरो दिक्दारी सबै थोकको एकमुष्ट अन्त्य गर्न गइरहेकी छु।

म स्वयम् त यहीँ हुनेछु, बाबा र तेरो मनमस्तिष्कमा बसिरहनेछु। मेरो चाहना यही छ, म तिमीहरू दुवै जनाको यादमा सुखद तरिकाले बाँचिरहनु। केही दिनको पीडापश्चात् यो घरमा मसित जोडिएको राम्रो स्मृति मात्र तिमीहरूको मनमस्तिष्कमा आओस्। कहिल्यै पनि मलाई सम्झँदा तिमीहरूको मनमस्तिष्कमा ओछ्यानमा लम्पसार परिरहेको मेरो शरीरको याद नआओस्। म आफ्नो रोगी शरीरसँगै योसँग सम्बन्धित कुरूप यादहरू पनि लैजान चाहन्छु। सुफी, मलाई सम्झिँदा मेरो निरोगी अवस्थामा नै सम्झनु है। मलाई यो रोग, यो अशक्ततासित यति घृणा छ कि म कसैको स्मृतिमा समेत यो अवस्थामा नपुगूँझै लाग्छ।

मेरी सुफी, जानुअघि एकपटक मेरी बहिनीलाई केही भन्न मन लागेर यो लेख्ने दुस्साहस गरेँ। मलाई माफ गरिदे, मेरी बहिनी। हामी एउटै चराका दुई भिन्न प्वाँख भइकन पनि सँगै उड्न सकेनौँ। सायद चराबाट उडेर छरिएका प्वाँखहरूको नियति नै यस्तै हुँदो हो। तैपनि तँ पनि उड्दै खोज्दै मेरो छेउमा आउँथिस्। मलाई तँसँगै कहिल्यै उड्न मन थिएन।

बाल्यकालमा तैँले गरेको प्रेमलाई मैले कहिल्यै बुझिनँ, बुझन चाहिनँ। मभित्र लागेको पूर्वाग्रहको धमिराले हाम्रो सम्बन्धलाई समेत लामो समयसम्म खाइदियो। म घमन्डी। म मूर्ख। म आरिस गर्थे, तैँले मैलेभन्दा धेरै माया पाएको देखेर। म डाह गर्थेँ, तेरो क्षमता देखेर। मलाई तँसित रिस उठ्थ्यो। मलाई तँ मनै पर्दैन थियो।

मेरो प्रेम खोस्ने मान्छे जस्तो लाग्थ्यो। ममी बाबाको प्रेम एक्लै हडपेर मेरो हक खोसेको भन्ठान्थे। तेरा हरेक सफलताहरूले म जल्थे। तँलाई मानिसहरूले रुचाएका कुराले मलाई सताउँथ्यो। तँ मभन्दा राम्री, मभन्दा तीक्ष्ण, मभन्दा समझदार, मभन्दा हाई हाई भएको कुराले मलाई दुःखी बनाउँथ्यो। तेरो खुसीले मलाई पोल्थ्यो। तँ प्रशंसित हुँदा म सशङ्कित हुन्थ्यो। तँ सफलताको उचाइमा पुग्दा म समुन्द्रको गहिराइमा पुग्थे। तेरो प्लस टुको ट्रान्सक्रिप्ट हराएको थिएन, मैले लुकाइदिएकी थिएँ। तेरो तीन वटा चस्मा मैले नै फुटाइदिएकी थिएँ। जाँचका बेलामा तेरा कति नोटहरू हराइदिने मै थिएँ। पाँच क्लासमा स्कुल टप गरिस् भनेर ममी बाबाले किनिदिएको त्यो रातो फ्रकमा लोडसेडिङका बेला जानीजानी मैनबत्ती झारेर आगो लगाइदिने पनि मै थिएँ। छ क्लासमा पढ्दा फाइनल जाँच दिन जाने बेलामा जोमेट्री बक्सभित्र  चिट लुकाइदिने पनि मै थिएँ।

बाबाको गोजीबाट हजार हजारका नोट झिकेर तेरो जिन्समा हुलिदिने पनि मै थिए। मेरा कारणले मेरा कारणले तैँले धेरै पटक धेरैको गाली सहिस्। मेरै कारणले तेरो जीवनको शान्ति र चैन बिथोलिएको थियो।

हेर् त, म कस्ती थिएँ ! कत्ति स्वार्थी, कति नीच थिएँ। के मलाई माफ गरिदिन्छेस्? यी कुराहरू माफीका लायक त होइनन्, तेरो ठाउँमा म भएकी भए सायद दिन्न थिएँ होला। तर तेरै प्रेमले सब ठिक भयो, सुफी। तेरै प्रेमले जित्यो। तैँले नै जितिस् सुफी। र पहिलो पटक तेरो जितमा सबैभन्दा खुसी म स्वयम् भएकी छु।

अब उप्रान्त सधैँ तेरै जित होस् भन्ने कामना गर्दैछु। फरक यही भयो कि तेरो हरेक जित हेर्नलाई मसित मेरै जीवन रहनेछैन। मेरी प्यारी बहिनी, ‘प्रेम के हो ?’ भनेर कसैले सोधे, म निर्धक्क भएर भन्न सक्छु, प्रेम त्यो हो, जो सुफीले जीवनभर आफ्नी नालायक दिदीलाई गरी। फिर्ता आए पनि नआए पनि गर्नुपर्छ भनेर निरन्तर गरिरही। केही पाउनलाई भनेर कहिल्यै गरिन। प्रेम दिइरहने चिज हो भन्ठानी र निःस्वार्थ भएर गरिरही। यसरी प्रेम गर्न सार्थकले जानेको भए...।

तैँले यस्तो प्रेम गरिस्, जो मैले जीवनभरि कसैलाई गर्न सकिनँ। सायद गर्न सक्दिनँ पनि होला। तेरो जस्तै मन र हिम्मत मेरो भइदिएको भए अहिले यो कदम उठाउन पर्थेन मलाई।

तर, मलाई कुनै गुनासो छैन। मैले जीवनको अन्तिम समयमा मेरी बहिनी फिर्ता पाएँ। आमाको ममता बिर्साउने प्रेम र स्याहार दिइस् सुफी तैँले। एउटा साथीले दिनेभन्दा पनि धेरै साथ दिइस् तैँले। अफसोस त यही कुराको छ कि तेरो प्रेमलाई चिन्न धेरै ढिलो गरेँ। तँलाई बेलैमा चिन्न पाएको भए मेरो साढे दुई दशक तेरो साथ र प्रेमबिना त्यसै खेर जाने थिएन। कहिलेकाहीँ लाग्छ, मलाई यो रोग पन्ध्र वर्ष अगाडि किन लागेन?

पुनर्जन्ममा विश्वास त लाग्दैन तर पनि मेरो विश्वासले धोका खाएर अर्को जन्म भयो भने म तेरी छोरी भएर जन्मन चाहन्छु। अहिले यतिखेर, यो जीवनलाई छाडेर जाँदा अफसोस एउटै कुराको मात्र लागिरहेको छ कि म यस्ती माया गर्ने बहिनी मेरो जीवनमा हुदाँहुदै मर्दैछु। माफ गर्, बहिनी। बाँचुन्जेल कहिल्यै भन्न नसकेको कुरा मर्ने बेलामा कबोले र मर्दैछु।

बाबाको ख्याल गर्नु। टाढा भए पनि यहाँ आउन कन्जुस्याइँ नगर्नु। उसै पनि एक्लो बाबा, म नभएपछि घरभरिमा झनै एक्लो हुनुहुनेछ। बाँचुन्जेल पनि बाबाको ख्याल तैँले न गर्थिस् अब झन् धेरै गर्नू।

मेरी प्रिय सुफी, म मरेर गएँ, यो कहिल्यै नसोच्नु। जीवनको यात्रामा ओर्लनुपर्ने स्टपमा नओर्लिएर केही स्टप अगाडि नै ओर्लनु मेरो बाध्यता भइदियो। यही सोच्नु। यात्रा भन्ने चिज यस्तै हो। सधैँ कसैले कसैलाई साथ दिन सक्दो रहेनछ।

मेरी बहिनी, मेरी सुफी, 
बिदा!
तेरो माया नबुझिने अबुझ दिदी, सदा!

सरल भाषा र मिठो लेखनीले ‘प्रिय सुफी’ पढ्दै जाँदा कतिखेर सकिएछ पत्तै पाइन्ँ। माया नै साबथोक हो भन्ने भाष्य भएका अहिलेका टिएनहरुलाई झसङ्ग पार्छ ‘प्रिय सुफी’ले। सुखका बेला सदालाई सबथोक ठान्ने सार्थकले सदालाई दु:ख पर्दा उसको साथ चटक्कै छाडिदिन्छ। यसले जीवन भोगाइको सबैभन्दा ठुलो पाठ सिकाउँछ। प्रेम, परीक्षा र जीवन भोगाइबाट हरेस खाएकाहरुलाई, असफलता, तिरस्कार र अभावबाट गुज्रिएकाहरुलाई बाँच्ने साहस दिएको छ, पुस्तकले।

यो किताब हरेक अभिभावक, शिक्षक, डाक्टर सबैको हातमा पुगोस्। सुरुमा सामान्य प्रेम कथा लागेको उक्त पुस्तकले पढ्दै जाँदा जीवनभरि नभुल्ने ज्ञान दिएको छ। साहस दिएको छ। आसा र हौसला दिएको छ। जीवन जिउने कला दिएको छ।

०००

सुफीले कथा भन्दै गर्दा सबैले ध्यान दिएका सुनेका थिए। कसैको आँखा रसाएको थियो। अगाडि झोक्रिएको प्रेम रोगी छोरा सहज अवस्थामा आएको थियो। गाडीले गन्तव्यसम्म पुर्‍याउँछ। बिदा माग्ने बेलामा ती युवतीले एउटा किताब उपहार दिन्छिन्। सदा क्षेत्री सर्जक। अरे, ‘नानी, परिचय गर्नै बिर्सिएछ’ केटाको बाउले सोध्छन्। ‘म सुफी क्षेत्री।’ युवतीको उत्तरले चालकलगायत सबैको मनमा छुट्टै तरङ उत्पन्न गराउँछ।

यदि कोही कुनै मोडमा जिन्दगीदेखि बिरक्तिन्छ, जिन्दगीदेखि भाग्न खोज्छ त यो कृतिलाई एकपटक अवश्य पढ्न आवश्यक छ। यो पुस्तकले जिन्दगीको अर्थ मात्रै दिँदैन् आफैँमा खुसी खोजेर बाँच्न सिकाउँछ। ‘जे हुन्छ राम्रैका लागि हुन्छ’ भन्ने सन्देश दिएको छ।

वाउ ! प्रिय सुफी। धन्यवाद, प्रिय लेखक!!

प्रकाशित मिति: : 2024-05-04 22:00:00

प्रतिकृया दिनुहोस्