माधव नेपालको पार्टी पनि फुट्न लागेको हो? 

File Photo
File Photo

सत्ता साझेदारी गरेर पनि सत्ता गठबन्धनविरुद्ध नै बोल्दै हिँडेका माधवकुमार नेपालको पार्टी नेकपा एकीकृत समाजवादी पार्टीभित्र पनि विभाजनको चर्चा सुरु भएको छ। यद्यपि नेकपा विभाजनका बेला एमालेबाट छुट्टिएका नेता-कार्यकर्ताबीच यो पार्टीभित्र पहिलादेखि नै विवादहरू छन्।

त्योबेला माधव नेपाल, झलनाथ खनाल र वामदेव गाैतमलगायतका नेताहरू बाहिरिएका थिए। वामदेव भने माधव नेपालको पार्टीमा बसेनन्। नेपाल र खनालहरू मिलेर एकीकृत समाजवादी पार्टी बनाएका थिए।

त्यही पार्टी २०७९ सालको चुनावमा नेपाली काँग्रेस र माओवादीसँग मिलेर चुनाव लडेको थियो। तर उसले प्रतिनिधिसभा र प्रदेशमा समेत उल्लेख्य सिटहरू ल्याउन सकेन। प्रतिनिधिसभामा यो पार्टीले १० सिट जितेको थियो।

फेरि सत्ता समीकरण बदलिएपछि अहिले नेपाली काँग्रेस प्रतिपक्षमा छ। नेकपा एमाले सरकारमा। योसँगै माधव नेपालको पार्टी पनि अन्तिम अवस्थामा यही सरकारमा सामेल भएको थियो।

यहीबीचमा सत्ता गठबन्धनमै रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी पनि फुटेको छ। सात जना सांसद र कैयौँ केन्द्रीय सदस्यहरूले अर्को पार्टी दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन्। पार्टी अध्यक्ष तथा उपप्रधान एंव स्वास्थ्यमन्त्री उपेन्द्र यादव पनि अमेरिकाबाट स्वदेश फर्किंदैछन्।

अघिल्ला गठबन्धनदेखि अहिलेकोसम्ममा आफू प्रधानमन्त्री बन्ने सहमतिमा सरकारमै रहिरहेका माधव नेपाल अहिले जसपाको यो विभाजनबाट झस्किएका छन्।

पार्टीभित्र असन्तुष्ट रहेका झलनाथ खलान पक्षका नेता, सांसदहरूले विभाजित जसपासँग मिल्नसक्ने संकेत पाएपछि उनले संसदीय दलको बैठक बोलाएका छन्। नेकपा एसका एकजना नेताका अनुसार बैठकमा अहिलेको विकसित राजनीतिक अवस्था र सरकारका बारेमा छलफल हुनेछ।

प्रकाशित मिति: : 2024-05-06 10:20:00

प्रतिकृया दिनुहोस्