काफ्ले र बस्नेतसहित ३ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता, ब्ल्याकमेलिङ र मानहानी गरेको आरोप  

सामाजिक सञ्जाल, भिडियो/अडियोमार्फत ब्लाकमेलिङ गरेको भन्दै मोरङको पथरीशनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले तीन जनाविरुद्ध गाली बेइजतीसम्बन्धी मुद्दा दर्ता गरेका छन्। 

आचार्यले गत बिहीबार (वैशाख २० गते) जिल्ला अदालत मोरङमा उजुरी दर्ता गरेका हुन्। सामाजिक सञ्जालहरू प्रयोग गरेर बारम्बार गाली बेइजती गरेको, अडियो/भिडियो रेकर्ड गरी सार्वजनिक गरिदिन्छु भन्दै ब्ल्याकमेलिङ गरेको भन्दै पथरीशनिश्चरे-१ का गोपाल काफ्ले, बेलबारी-११ का नरेन्द्र बस्नेत र एक महिलाविरुद्ध मुद्दा दर्ता गरेका हुन्।

पथरीशनिश्चरे नगर अस्पतालकी एक महिला स्वास्थ्यकर्मीले २०८० वैशाख ३ गते राजीनामा दिएकी थिइन्। काठमाडौँ बस्दै आएकी ती महिला अस्पतालले पथरीमा काम गर्दाका घटनाहरू बिर्सेर नयाँ यात्रा सुरु गरिसकेकी थिइन्।

तर, पथरीबाट राजीनामा दिएर काठमाडौँ जानु पहिले अर्थात करिब २ वर्षअघि २०७८ मंसिर ६ गते स्वास्थ्य प्रमुख मुरारी आचार्यले दुर्व्यवहार गरेको भन्न लगाएर काफ्ले र बस्नेतले महिलालाई बाेल्न लगाएकाे खुलेको छ। समाचार स्राेतका अनुसार काफ्ले र बस्नेतले महिलालाई पटकपटक पथरीबाट बेलबारी पुर्याएर आचार्यविरुद्ध बाेल्न लगाइ अडियो/भिडियो बनाएका हुन्।

२ वर्षअघिकाे घटना उतिबेलै महिला कर्मचारीका अभिभावक, जनप्रतिनिधि र पार्टी नेताहरु राखेर मिलाइएको थियो। उसबेला दुर्व्यवहार नभएको र ड्युटीमा समस्या भएको कारण प्रमुखको हैसियतले सामान्य सुझावहरू दिएको भनेर साे विषय टुङ्ग्याइएको थियो। समस्या समाधान भएपछि  महिला कर्मचारी काममा फर्किएकी थिइन्। साैहार्दपूर्ण बिदाइपछि पनि आचार्य र ती कर्मचारीबीच कुनै द्वन्द्व थिएन। अझ राेचक कुरा त उनीहरूबीच समझदारी भएको २ वर्षपछि ती महिलाले राजीनामा दिएर गएकी थिइन्।

एकपटक टुङ्गिएको विषयलाई उचाल्ने गरी गोपाल काफ्लेले सामाजिक सञ्जालमा पटकपटक आचार्यप्रति मानहानी हुने गरी स्टाटस लेखेका थिए। तर, आफ्नो गल्ती नभएको कारण आचार्यले काफ्लेकाे स्टाटसमा कुनै जवाफ फर्काएनन्। आचार्यले प्रतिक्रिया नदिएपछि काफ्ले अझै आक्रमक बने। त्यसपछि काफ्लेले आचार्यलाई गलाउन अर्को हर्कत रचे।

२०८० चैत २२ गते  कर्मचारी महिलालाई बेलबारीस्थित एक दैनिक पत्रिकाकाे कार्यालय पुर्याइयाे।त्यहीँ आचार्यलाई गलाउने हिसाबले महिलालाई बाेल्न लगाइयाे। महिलालाई बाेल्न लगाएर उक्त भ्वाइस रेकर्ड सिधै सामाजिक सञ्जालमा आएन। २४ घण्टासम्म विभिन्न मानिसका म्यासेन्जरमा घुमेर अन्तत: मुरारी आचार्यकाे म्यासेज बक्स आइपुग्याे।

समाचार स्राेत भन्छ- भ्वाइस रेकर्ड गोपाल काफ्ले र नरेन्द्र बस्नेतले दुई तीन जना प्रयाेग गरेर २३ गते बिहान स्वास्थ्य शाखा आचार्यको म्यासेन्जरमा पुर्याएका थिए।

जाे-जाेमार्फत भ्वाइस रेकर्ड आएपनि आचार्य माैन रहिरहे। उनले भने, 'सिधै सामाजिक सञ्जाल र अनलाइन मिडियामा नआई घुम्दै घुम्दै आएपछि मसँग बार्गेनिङ भएको बुझेँ। मैले नगरेको गल्तीमा किन झुक्ने भनेर जवाफ फर्काइन्।'

'त्यो भ्वाइस रेकर्ड सिद्धै मुरारी आचार्यकोमा नपुग्नु र सामाजिक सञ्जालमा अपलोड गर्नुअघि विभिन्न व्यक्तिमार्फत पठाउनु नै काफ्ले र बस्नेतले ब्ल्याकमेलिङ नै  गरेको स्पष्ट हुन्छ', मुरारी आचार्य भन्छन्। उनी थप्छन्, 'समाचारका लागि तयार भएको अडियो किन अरु अरुकाे म्यासेन्जरमा घुम्दै मेराेमा आयाे। अदालतमा मुद्दा पुगेपछि पक्कै अनुसन्धान हाेला।' उनले अडियो रेकर्ड भएपछि अरु अरुकाे माेबाइलमा पुगेर आफ्नोमा आउनु नै ब्ल्याकमेलिङ भएको दाबी गरे।

यता आचार्यले आफूले गल्ती नगरेको, ड्युटिीमा समस्या देखेपछि कर्मचारी प्रमुखको नाताले सामान्य सुझाव मात्रै दिएर मिलाइसकेकाे विषयमा किन बाेल्नु भनेर कुनै प्रतिक्रिया नदिएकाे बताएका छन्।

एकपटक सामाजिक अगुवाहरू राखेर मिलाइसकेकाे विषयलाई पुनःसञ्जालमार्फत् उचाल्न काफ्ले र बस्नेतले समेत ती महिलालाई खर्च दिएको बताइएको छ। 'हामी न्याय दिलाउँछाैँ- हामीले भनेको मान्नु, जे जे सिकाउँछाैँ, त्यही त्यही भन्नु भन्दै ती महिलाको भिडियोसमेत लिइएको थियो', बेलबारीमै लिइएको भिडियोकाे स्कृप्ट नरेन्द्र बस्नेतले लेखेका छहुन्।

चैत २३ गते पनि अडियो जस्तै भिडियो रेकर्ड गरेर अपलोड गर्नुअघि मुरारी चायार्यसम्म आएका थिए। अति भएपछि आचार्यले प्रदेश सांसद मानबहादुर लिम्बू, पथरीशनिश्चरे नगरका पूर्ववडाध्यक्ष जयबहादुर तामाङलाई राखेर गोपाल काफ्ले, नरेन्द्र बस्नेतसँग छलफल गरेका थिए। सांसदसँग बसेपछि ब्याक भएका काफ्ले र बस्नेत केहीदिन चुपचाप बसेका थिए।

पैसाको पर्खाईमा बसेका काफ्ले र बस्नेतले नगद नपाएपछि १० वैशाखमा एउटा स्थानीय दैनिकमा साेही विषयलाई मुख्य समाचार बनाएर छापे। समाचार र सामाजिक सञ्जालमा भिडियो पाेष्ट भएपछि आचार्य अदालत पुगेका हुन्।

'महिलाले बोलेको भिडियो विभिन्न सामाजिक सञ्जालमा अपलोड/प्रकाशन गरेर आफ्नो मान हानी गरेको र महिलाले पनि अप्रमाणित रुपमा बेइजती गर्न खोजेको भन्दै तीन जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेकाे छु', आचार्यले भनेका छन्।

महिलाले गोपाल काफ्ले र नरेन्द्र बस्नेतको योजनामा अडियो, भिडियो रेकर्ड गराएर बार्गेनिङ गरेको तर उद्देश्य पूरा नभएपछि प्रकाशन गरेको आचार्यको भनाइ छ।

'अडियो रेकर्ड गरेर भोलिपल्ट बिहान तीन जनाबाट आफूसम्म आइपुग्नु, भिडियो रेकर्ड गरेर भिडियो हामीसँग छ भन्नु ब्ल्याकमेलिङ नै हाे। म दाेषी हुँ भने अदालतले कार्यवाही गर्छ। हाेइन भने मानहानी गर्नेलाई कानुनी कार्यवाही हुनुपर्छ', आचार्य थप्छन्, 'मेराे उदेश्य मिडियावाजी गर्नु थिएन। तर, सामाजिक सञ्जालमा लगातारको अपमान, सामाजिक बेइजती र छाडा प्रवृत्तिले मविरुद्ध लेख्ने क्रम नराेकिएपछि अदालत पुगेको हुँ। ७८ हजार जनसंख्या भएको पथरीशनिश्चरेमा एकजना व्यक्ति मात्र मेराविरुद्ध लगातार किन लाग्छ? अब त समाजले पनि प्रश्न गर्न थालेको छ।'

अन्यायमा परेपछि प्रहरी, अदालत जानुको साटो अडियो, भिडियो रेकर्ड गरेर सिधै प्रकाशन/प्रशारण नगरीकन बार्गेनिङ गरेकोप्रति आचार्यले खेद प्रकट गरेका छन्। उता कतैबाट केही प्राप्त नभएपछि ती महिलाले पनि वैशाख ४ गते आचार्यविरुद्ध जिल्ला अदालत मोरङमा दुर्व्यवहार मुद्दा दायर गरेकी छन्।

महिलाले मुरारी आचार्यविरुद्ध र आचार्यले ती महिलासहित गोपाल काफ्ले, नरेन्द्र बस्नेतविरुद्ध मुद्दा दायर गरेका हुन्।

प्रकाशित मिति: : 2024-05-06 10:58:00

प्रतिकृया दिनुहोस्