दिनभरि स्वास्थ्य चाैकीमा बिरामीका नाडी छाम्छन्, साँझ-बिहान गाउँकाे। गाउँमा युवा छैनन्, युवासँगै रस छैन, राग छैन।
बाआमाका मन-मस्तिष्कमा संस्कार छन्, संस्कृति छन्, माैलिकता छन्, गीत छन्, कथा छन् र सिंगाे इतिहास छ। तर, छैनन् सुनिदिने युवा।
‘अहाे,... गाउँका यी संस्कार, संस्कृति, गीत, कथा र इतिहास हराए के हाेला? नयाँ पुस्तामा पुस्तान्तरण नभएकाे के हाे?’
यही चिन्ताले सताउँछ र दिनभरि स्वास्थ्य चाैकीमा बिरामीकाे उपचार गरेर थाकेका तिलकबहादुर राेका गाउँ डुल्छन्।
‘बिहान १० बजेदेखि ५ बजेसम्म एउटा स्वास्थ्य संस्थामा समय बिताउँछु। त्याे भन्दा पछाडिका र सार्वजनिक बिदाका दिनमा अन्य ठाउँहरुमा घुम्ने, डुल्ने र त्यहाँ ऐतिहासिकता खाेज्ने काममा लागेकाे छु।’
रुकुम (पूर्व)काे भूमेस्थित क्याङ्सीमा खेले-हुर्किएका तिलक बाल्यकालमा त्यहाँका संस्कार, संस्कृति र माैलिकताबाट माेहित भए। मगरगाउँ यसै पनि कला, संस्कृतिले भरिपूर्ण, त्यसमाथि तिलकका बुबा गीत गाउँथे। बुबाकाे गीत गायन र संस्कृति संरक्षण गर्ने हुटहुटीबाट तिलक प्रेरित थिए।
तर गीत गाएर, नाचेर र लेखेर इतिहास खाेपेरमात्र पुग्ने अवस्था थिएन। उनी पनि ती कुरा छाडेर जागिर खाने धुनमा लागे। २०५६ सालमा शिक्षक बने।
दिनभरि पढाएर गाउन हिँड्ने समय नमिले पनि गीत संकलन गर्न भने छाडेका थिएनन्। मास्टरी काम गर्दा गर्दै उनले २०५६ मा पहिलाे गीत रेकर्ड गरे।
२०६० सालमा अरु कलाकारसँग मिलेर मगर खाम भाषाका सातवटा गीत रेकर्ड गरे। ०६१ मा शिक्षक पेसा छाडेर स्वास्थ्य क्षेत्रमा लागे।
१० बर्से जनयुद्धले गाउँका संस्कार, संस्कृति र परम्परा बिथाेलेकाे थियाे। शान्ति सम्झाैतापछि ठुलाे जमात सहर केन्द्रित हुँदै आधुनिकतातिर लम्किँदै थियाे। तिलक झनै चिन्तित भए, ‘अब त माैलिकता हराउने नै भयाे।’
‘जनयुद्धले यहाँका गीत-संगीतलाई ओझेलमा पार्याे। जनयुद्धपश्चात गाउँका सबै युवा-युवती आधुनिकतामा गइसकेपछि माैलिक संस्कार-संस्कृति ओझेलमा परे। त्यसपछि त म माैलिकता जाेगाउने अभियानमा निरन्तर लाग्न थालेँ’, तिलक भन्छन्।
रुकुमका गाउँमात्र हाेइन, तिलक राेल्पा र बाग्लुङका टाेल-टाेलमा पुगेर बुढापाकाबाट गीत सुन्छन्, इतिहास खाेतल्छन् र संकलन गर्छन्। उनकाे जाेड विशेषगरी मगर समुदायकाे थातथलाे, इतिहास र माैलिकता अध्ययनमा छ।
‘यी गीतहरु मेराे जीवनकालमा रेकर्ड गरेर सक्ने अभियानमा छु। यहाँकाे माैलिकता, यहाँका जति माैलिक गीतहरु छन्, ती सबै रेकर्ड गरेर एउटा दस्तावेजीकरण गर्ने अभियानमा छु,’ तिलक याेजना सुनाउँछन्।
त्यसैले त तिलकले २०६० मा मगर खाम भाषाकाे गीतपछि २०६४/०६५ मा स्यामसाइँला गीत रेकर्ड गरे।
त्यसपछि स्याम्बाे, मासे, नानीला गीत रेकर्ड गरे। यी गीतहरु अहिले गाउँमा त्यति खासै सुन्न पाइँदैन।
हुन त अहिले गाउँमा गीत गाउने, जमघट गर्ने मानिस नै छैनन्। युवाहरु शिक्षा र कामकाे खाेजीमा विदेशिन थालेका छन्। गाउँमा बुढाबुढी र महिलाहरुमात्रै छन्।
चिन्ता व्यक्त गर्दै तिलक गुनगुनाउँछन्:
आकाशबाट खस, भुइँबाट फुट
युवा-युवतीहरु बाहिरमात्रै नजाऊ
हाम्रा आमा राेइरहेका छन्, हाम्रा बुबा राेइरहेका छन्...।