भोलिदेखि पनि काठमाडौंमा जोर/विजोर कायमै, धार्मिकस्थलमा जम्मा भएर भिडभाड गरे कारबाही

सरकारले असोज १ गतेबाट निधेषाज्ञा खुकुलो गर्दै लामो दूरीका यातायात र हवाई उडानलगायत खोले पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौमा केही क्षेत्रलाई भने अझै रोकेको छ।

कोरोना भाइरसको संक्रमणलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौले बुधबार एक विज्ञप्ति निकाल्दै काठमाडौं जिल्लाभित्र चल्दै सम्पूर्ण सवारी साधनमा यसअघि लाग्दै आएको जोर/विजोर प्रणालीलाई निरन्तरता दिएको छ। यद्यपी अत्यावश्यक सेवा, कार्यालय आउ जाउमा प्रयोग हुने सवारी साधनको हकमा यो लागू नहुने जनाएको छ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको आदेशमा  खुल्ला स्थानमा मानिसहरु भेलाजम्मा हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभतेर आदि गर्न पनि अनिश्चितकालका लागि रोक लगाएको छ।

मठ मन्दिर, मस्जिद, चर्चलगायतका परम्परागत धार्मिक तथा सांस्कृतिक स्थलहरूमा दैनिक नित्यपूजा बाहेक भीडभाड जन्य गतिविधिहरु सञ्चालन गर्न रोक लगाएको कार्य निरन्तरता दिने निर्णय गरेको छ।

यदि यसको उल्लंघन गरेमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रमक रोग ऐन २०२० अनुसार कारबाही हुने चेतावनी दिइएको छ।

अर्को आदेश जारी नहुन्जेलसम्मका लागि यस्ता गतिविधिमा काठमाडौं प्रशासनले रोक लगाएको हो। 

प्रकाशित मिति: : 2020-09-16 22:20:50

प्रतिकृया दिनुहोस्