‘राजनीति विचार, सिद्धान्त, निष्ठा र आदर्शले चल्ने हो। जब यी सबै कुरा बिर्सेर राजनीति व्यवहारवादी बाटोमा लाग्छ, तब पार्टी र देश अवसरवादीहरूका हातमा जान्छन्। अहिले नेपाली कांग्रेससहित सबै दलभित्र विचार, सिद्धान्त, निष्ठा र आदर्श हैन, अवसरवाद हाबी भएको छ।’
अवसरवादको राजनीति शीर्षकमा कांग्रेस नेता डा.शेखर कोइरालाले २०७९ साउन २५ मा कान्तिपुर दैनिकमा एउटा आलेख लेखेका थिए।
कोशी प्रदेशमा काँग्रेस नेतृत्वमा बनेको सरकारको आयु लगभग ८ महिनामै सकिएको छ। योसँगै पूर्वका दुई नेता कांग्रेसका डा.शेखर कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीको सहकार्य टुङ्गिएको देखिन्छ।
पछिल्लो समय एमाले र कांग्रेस मिलेर सरकार चलाउनुपर्ने धारणा राखिरहेका कांग्रेसका नेता डा.कोइरालामाथि नैतिक प्रश्न उठेको छ। त्यो गठबन्धनको संस्कृति र नैतिकताको प्रश्न, संघीय सरकारमा भएको गठबन्धनविरुद्धको सत्ता समीकरण कोशी प्रदेशमा गरेकोमा।
पार्टीभित्र एकमतमा निर्णय नहुँदा पनि कोशीमा प्रदेश सरकार बनाएर ‘पावर एक्सर्साइज’ गरेका डा.कोइरालाले हरसम्भव प्रयास गरिरहेका थिए, त्यहाँको सरकार जोगाउन।
केदार कार्कीलाई मुख्यमन्त्री बनाउन कांग्रेसभित्रै एकमत थिएन। तर पनि डा.कोइरालाले सभापति देउवालाई विश्वासमा लिएर एमालेको सहयोगमा सरकार बनाएका थिए। सत्तामा यो नै डा.कोइरालाको पहिलो चाल थियो।
डा.शेखर कोइरालाको अगुवाइमा एमालेको समर्थनमा काँग्रेस प्रदेशसभा सदस्य केदार कार्कीलाई अघि बढाएर मुख्यमन्त्रीमा दाबी पेस भयो। त्यही सन्दर्भमा २०८० असोज २६ गते साँझ कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको थियो। तर बैठकमा नेता डा.शेखर कोइराला अनुपस्थित भएका थिए। कोइराला अनुपस्थित भएपछि कांग्रेसको कार्यसम्पादन समितिको बैठक निष्कर्षमा पुग्न सकेन।
कोशीमा सरकार बनाएर काठमाडौँमा प्रधानमन्त्री पुष्पकमल दाहल, शेरबहादुर देउवा र डा.शेखर कोइरालाले एउटा कागजको चिर्कटोमा गठबन्धन अघि बढाउने सहमति गरेका थिए। त्यसयता गठबन्धन फेरि बदलियो।
त्यतिबेला सभापति शेरबहादुर देउवाले डा.कोइराला र महामन्त्री गगन थापाको समूह एक ठाउँमा नआउन भनेर रणनीतिक रुपमा ‘पासा’ फ्याँकेको समेत चर्चा भयो।
मुख्यमन्त्री नियुक्त भएका काँग्रेसका केदार कार्कीले महामन्त्री थापालाई लक्षित गर्दै ओखलढुङ्गामा २०८० मंसिर १९ गते भएको जिल्ला सम्मेलन कार्यक्रममा आक्रोश व्यक्त गरेका थिए।
यता २०८० फागुन २१ मा प्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेससँग चलिरहेको गठबन्धन तोडेर एमालेसँग गठबन्धन गरेपछि कोशीको सरकार अल्पमतमा परेकाे थियो।
२०८० असोज २७ मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेसका कार्की मुख्यमन्त्री बनेका थिए। उनलाई एमालेको समर्थन थियो। विश्वासको मत लिँदा उनलाई नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाका सांसदहरूले समेत समर्थन दिएका थिए।
कोइराला परिवारमा सत्ताको साँचो आफूसँग राख्ने शक्तिको अभ्यास लामो समयदेखिकै हो। तर आफ्नै दलभित्र नेतृत्वसँग संघर्षरत डा.शेखरको पछिल्लो प्रयास भने अल्पकालीन भएको देखिन्छ।
पटक-पटक सर्वोच्च अदालतमा पुगेको कोशी प्रदेश सरकारको वैधानिकताको प्रश्न फेरि सर्वोच्च अदालतमा पुगेको छ। निर्वाचन भएको करिब २ वर्ष नपुग्दै कोशी प्रदेश सरकारको नेतृत्वमा आधा दर्जन पटक फेरबदल भइसकेको छ।
९३ सदस्य रहेको कोशी प्रदेशसभामा एमालेका (उपसभामुखसहित) ४०, काँग्रेसका २९, माओवादीका १३, राप्रपाका (सभामुखसहित) ६, एकीकृत समाजवादीका चार र जसपाका एक प्रदेशसभा सदस्य छन्। कोशीमा सरकार बनाउन बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ।
२०५२ सालमा एमालेका मनमोहन अधिकारी नेतृत्वको सरकार ढल्दा पहिलोपटक गिरिजाप्रसाद कोइरालाको हातबाट सत्ताको साँचो शेरबहादुर देउवाको पोल्टामा परेको थियो।
पृष्ठभूमिमा देउवाको संसदीय दलका नेता बन्ने संयोग फलदायी बन्यो।
पार्टीको संसदीय दलको नेताको चुनावमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, खुमबहादुर खड्कालगायत करिब आधा दर्जन सासंदले उम्मेदवारी दिएका थिए। तर तीनजना नेताहरू गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले सबैलाई उम्मेदवारी फिर्ता लिन लगाएर सर्वसम्मत उम्मेदवार चयन गराउने भन्दै प्रयास थाले।
सहमतिमा नेता छान्ने विषयमा सबैले उम्मेदवारी फिर्ता लिए पनि देउवाले आफ्नो उम्मेदवारी कायमै राखे। देउवा मात्रै उम्मेदवार बाँकी रहेपछि निर्विरोध संसदीय दलको नेता चुनिए। हुन त उतिबेला भट्टराई र सिंह देउवाको पक्षमा रहेकाले गिरिजाप्रसाद कोइराला चुकेको भन्ने कुरा काँग्रेसका पुराना नेताहरु बताउँछन्।
पछि २०५६ सालको निर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीका रुपमा चिनाएर र चुनावमा गएको कांग्रेसले बहुमत हासिल गर्यो। कोइरालाले फेरि सत्ताको साँचो गुमाउनु परेको थियो। तर करिब ९ महिनामा कोइरालाले भट्टराईबाट सत्ताको साँचो हत्याए।
डा.शेखर कोइराला पार्टीको सक्रिय राजनीतिमा आएयता स्व.गिरिजाप्रसाद कोइरालाको नजिक भएर काम गरेका थिए। तर पछि स्व. सुशील कोइरालाले डा.शंशाक कोइरालालाई अघि बढाउन खोजेपछि डा.शेखर हच्किएका थिए।
बेलाबखत मुख्य राजनीतिक दलहरु मिलेर सरकार चलाउनुपर्छ भन्ने धारणा राख्दै आइरहेका डा.शेखरले सन् २०१० मा कन्जरभेटिभ पार्टी र लिबरल डेमोक्रेट्सले बेलायतमा गठबन्धन सरकार गठन गरेका उदाहरणलाई सम्झाउने गर्छन्।
डा. शेखर कोइराला ‘पूर्वले हिँडेको बाटो’ शीर्षकमा २०७९ आश्विन ८ मा कान्तिपुरमा लेख्छन्-
‘आफ्नै विशिष्ट पहिचान बोकेको पूर्वी नेपालको विकासक्रम थुप्रै पक्षसँग जोडिएको छ। यहाँको सम्पूर्ण इतिहास किरात संस्कृतिसँग जोडिन्छ भने विश्वकै सर्वोच्च शिखर सगरमाथा अनि सभ्यताको प्रतीक कोशी पनि यहीँ छ। यसरी हेर्दा पूर्वी नेपालको इतिहास अलि भिन्न लाग्छ। समाज, सांस्कृतिक विकास र परिवर्तनको हिसाबले पूर्वी नेपाल निकै अघि थियो, तर समयक्रममा त्यो स्थिर रह्यो।’
माओवादीसँगको सत्ता गठबन्धनमा कोशी प्रदेशको नेतृत्व माओवादीबाट इन्द्रबहादुर आङ्बोलाई समर्थन गर्ने सहमतिविपरीत डा.कोइरालाले कार्कीलाई मुख्यमन्त्री बनाउन अग्रसरता लिएका थिए।
यी तमाम राजनीतिक घटनाक्रम र परिदृश्यमा सत्ताको ‘की’ आफ्नो हातमा राख्न कोइराला परिवारका सदस्यहरूको सक्रियता प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रहिआएको देखिन्छ। पार्टीभित्रको आफ्नो पारिवारिक विरासतको शक्ति आर्जन गर्न संघर्षरत कोइरालाले त्यो प्रयासस्वरुप ‘पूर्वमा हिँडेको बाटो’ भने अलि छोटो भयो कि!