छोराछोरीले खेदेका आमाहरू

बुढ्यौलीले छोपेका अनि छोराछोरी आउने बाटो कुरिरहेका यी अनुहारहरू खोज्न हामीलाई खासै गाह्रो थिएन।

घरैघरले भरिएको सहरका कुनाकाप्चाहरूमा त्यस्ता धेरै ‘आश्रम’हरू छन्, जहाँ छोराछोरीको बाटो हेर्दै अन्तिम पल कुरिरहेका ‘अनाथ’ आमाबाबुहरूलाई राखिन्छ।

समाजको यो ऐना खोज्ने जिम्मा बिएल नेपाली सेवाको समाचार कक्षले मेरै काँधमा थमाइदिएको थियो। सारा जीवन सन्तानका लागि घोटिएका यी ‘अनाथ’ आमाबाबुको कथा लेख्नु आफैमा एउटा भावनात्मक चुनौती पनि थियो।

कथा थिए, शब्द थिए। जीवन थिए। अनुहारहरू थिए। त्यत्ति नै भावना र पीडाका पोकाहरू पनि थिए। त्यसैलाई हामीले ‘समाचार कथा’ लेख्दै थियौँ।

पहिलोचोटी समाचार कक्षबाट यी अनुहार भेट्न निस्किँदा मनभरि यस्ता धेरै कुराहरू सल्बलाइरहेका थिए।

‘मलाई लिन आको…?’ गेटभित्र छिर्दै गर्दा ठोक्किएको यो आवाजले मलाई झसङ्ग बनायो। त्यो ८४ वर्षकी फूलमाया नेपालीको आवाज थियो।

सायद हाम्रा अनुहारमा उनले आफ्नै सन्तानको छायाँ देखिन् कि!

काठमाडौँ घुमाउन ल्याएको छोराले उनलाई यतै कतै सहरको एउटा कुनामा छोडिदियो। त्यसपछि न छोरा फर्कियो, न फुलमाया फर्किने बाटो भेटियो।

छोरा आउँछ कि भनेर सहरका गल्लीहरू चाहर्दा चाहर्दै फुलमायाका आशाका फूलहरू त्यसै त्यसै ओइलाइरहेका थिए, आफ्नै जीवनसरी। 

फुलमायाको जीवन सहरका यिनै गल्लीहरूमै थियो। कतै भोकले ढल्थिन्। पीडाको त्यो थप्पडले हिर्काउँथ्यो अनि बेस्सरी रुन्थिन्। यो सहर हो, कसले पो सुन्थ्यो र, जति चिच्याए पनि जति रोए पनि। सहरको चरित्र यस्तै हुन्छ।

एकदिन मानव सेवा आश्रमका ‘स्वंयसेवक’हरूले उनलाई आश्रममा पुर्‍याए। आफूजस्ता धेरै ‘अनाथ’ आमाहरू भेटेपछि उनको मन एकछिन त शान्त भयो। तर बेला-बेला उही छोराको यादले उनलाई यसरी हुत्याइदिन्थ्यो कि फेरि भक्कानो फुट्थ्यो।

‘यहाँ त मेरो ज्यानमात्रै छ…’ कुराकानीकै क्रममा फुलमायाले भन्थिन्, ‘हंश जति सबै उतै छ…।’

०००

७२ वर्षकी हिमादेवी बस्नेत, ‘हिमालय वृद्धाश्रम’मा भेटिएकी थिइन्। त्यहाँ अरु पनि त्यस्ता आमाबुवाहरू थिए, जसलाई गेटमा नयाँ मान्छे देख्नासाथ लाग्थ्यो कि ‘मलाई पो लिन आए कि…!’

फरासिलो कुरा गर्दै हिमादेवीलाई पनि सुरुमा त्यस्तै लागेको थियो।

सिक्किमको एउटा धनी परिवारमा जन्मेहुर्केकी हिमादेवीको जिन्दगी पनि त्यसै थियो। जीवनको लीला न हो, कलिलै उमेरमा उनले श्रीमान गुमाइन्। काखभरि छोरी छोडेर श्रीमान त बितिगए, हिमादेवीको जीवनको सुरुवाती बाटो नै एक्लो भइदियो। जति बाँच्नु थियो, अब छोरीकै लागि थियो।

छोरीलाई हुर्काउन-बढाउन उनले छिमेकमा भाँडासमेत माझ्नुपर्‍यो। छोरीको सुखका लागि उनका अघि दु:खका सारा पहाडहरू त समथल नै लाग्थे।

जब छोरी हुर्किइन् अनि हिमादेवी बोझ हुन थालिन्। छोरीकै कारण सहरका गल्लीहरूमा भौतारिनुपर्‍यो। वृद्धाश्रमबाहेक अरु के नै उपाय थियो र!

जीवनभरि सन्तानका लागि आफूलाई समर्पण गरेका यस्ता धेरै आमाहरूको कथा हामीले लेख्यौँ। यी कथा पढेपछि कति आमाबुवाहरूलाई उनीहरूका सन्तानले घर पनि लगेका छन्।

यो वर्ष दिनमा हामीले फुलमाया अनि हिमादेवीजस्ता धेरै आमाहरूका कथा बटुलेका छौँ। पीडाका कैयौँ पोकाहरूमा सन्तानप्रतिको प्रेम भेटेका छौँ।

कतिका यी प्रेम फेरि एक भएका पनि छन्। कति आमाहरू अहिले पनि वृद्धाश्रममा बसेर सन्तानकै बाटो कुरिरहेका होलान्…।

बाँचुञ्जेली त हो जीवन। जिन्दगीका सारा खुसीहरू सन्तानका लागि समर्पण गर्ने तमाम आमाहरूला मातातीर्थ औंशी अर्थात् ‘आमाको मुख हेर्ने दिन’को शुभकामना…।

प्रकाशित मिति: : 2024-05-08 13:40:00

प्रतिकृया दिनुहोस्