अघिल्लो शनिबार दिउँसो एउटा नम्बरबाट फोन आयो।
‘कता हुनुहुन्छ हिजोआज ? म अर्को हप्ता आउँदैछु, फुर्सद भए मिलाएर आउनु न,’ एकजना साथी बाेले।
मैले भनेँ,‘किन आउन लाग्या ?’
‘त्यति पनि थाहा छैन, आमाको मुख हेर्ने दिन क्या लाटा !,’ ऊ कड्कियाे।
म झस्किएँ। म मात्रै होइन आमा शब्द सुन्ने बित्तिकै झस्किने/स्तब्ध हुने धेरै भेटेको छु मैले।
आज वैशाख १७ गते शनिबार मातातीर्थ औँसी अर्थात् आमाको सम्मानमा आमाले गरेका त्याग, समर्पण र योगदानको कदर गरिने दिन। धेरैले मान्ने गरेका छ्न, आखाँले देख्न सकिने भगवान धर्तीमा छ भने त्यो जन्मदिने माता/पिता नै हुन्।
आमा ! शब्दमै यति भारी छ कि लेखिरहँदा मैले हेर्न खोजेका आमाका अनुहारहरुलाई न्याय दिन सक्दिनँ कि ? आफैले आफैलाई प्रश्न गरिरहेछु।प्रिय पाठकहरुलाई न्यायाधीश सम्झिदै किबोर्ड थिच्ने अनुमानि मागिरहेछु।
मेरो अर्थमा मैले आमालाई महाभारत युद्धमा लड्ने सिपाहरु, ग्रिक र रोमका युद्धका सिपाही, विश्वयुद्धमा लड्ने सिपाही र आजको युक्रेन रसिया युद्धमा लडने सिपाहीभन्दा पनि बहादुर सिपाहिको रुपमा लिएको छु। ती आमा जो आज नेपाली समाजमा हरेक घरभित्र प्रत्येक दिन पितृसत्तासँग विश्वयुद्ध लडिरहेकी छिन। त्यसैले अब्राहम् लिङकनले भनेका छ्न,‘जो मानिसको साथमा आमा हुन्छिन त्यो मानिस कहिले गरीब हुँदैन।’
हो, आज कोही धनी छ, सम्पन्न छ, विज्ञ छ, समाजमा सबथोक भएको महसुस गर्छ, त्यो आमाकै देन हो। सन्तानको उज्ज्वल भविष्यको लागि आफ्नो व्यक्तिगत जीवनलाई आत्मसमर्पण गरेर आफ्ना सपनाहरूलाई सन्तानको सपनामा मिसाएर बिद्रोहलाई पूर्णविराम दिएर शान्त सहनशील बनेर सबथोक सहिरहेकी छिन।
आज धेरैले सामाजिक सञ्जालका भित्ताहरु रंगाउने छ्न। आमाका नाममा अनेक साहित्यहरु लेख्ने छ्न। ग्यालरीबाट छानेर सबैभन्दा हसिलो र खाइलाग्दो फोटो मुस्किलले भेटेर फेसबुकको भित्तामा टाँस्ने छ्न। मनमा अनेकन प्रश्नहरु खेलिरहेछ्न आमा के तिम्रो समर्पण, त्याग, निष्ठा र योगदानको साच्चिकै न्याय हुनेछ ? हुन त कैयौंका बाध्यताहरु पनि छ्न छोरीहरु आमाको काखलाई विवाहको साइनोपछि रुदै छोड्छ्न छोराहरू बाध्यताका भारीहरुले थिचिएर आमाको हातको टीकासँगै आँसु लुकाएर देश छोड्छ्न केही त प्रस्ताव पीडासँग हारेकी आमाको कथाहरूसँग मात्रै हुर्किन्छ्न। प्राकृतिक र समाजिक नियतिका कथाहरू बेग्लाबेग्लै छ्न। तथापी, इज्जत र प्रतिष्ठाको कालो पर्दाले आँखा छोपिएकाहरु आमा च्यातिएको चोली र धोतीमा हुर्किएको, घाँसका भारीले थिचिएर धर्तिमा पसिना सिंचित गरेर पाउहरु धर्तीमा बजारेरको खाई ! को खाई गरेर हुर्किएको चटक्कै बिर्सिएर आज पनि आमालाई वृद्धआश्रम घिसारिरहेका छ्न।
सानोमा आफूभन्दा ठूलो मान्छेले आमालाई मेरो आमा हो भन्दा रुदै, होइन मेरो मात्रै आमा हो प्रायः नभन्ने को होला ! नुहाउन ज्यान गए नमान्दा च्याप्प समातेर चिसो पानी खन्यइदिँदा गाउँ टोल थर्काउने गरी नरुनेको होला ? अध्यारो हुन्जेल धुलो मैलोमा खेलेर फर्किँदा कुटाइ नखाने को होला ? बा'को अगाडि स्वास फेर्न नसकेर आमालाई एक्लै पारेर खुसुक्क आफ्ना मागहरु नबिसाउने को होला ? बाठ्याई गर्दा बा'को हेराइले तर्सिएर आमाको छेउमा लुटुपुटु नहुने को होला ? स्कुलबाट फर्किँदा मुलबाटोबाटै आमा ! भनेर नचिच्याउने को होला ? अरु त के–के हो के–के जति पाना लेखेपनि सायद सबैका लागि अक्षरहरु कम हुन्छ्न होला। त्यो बालापन आमा अनि जिन्दगी। जिन्दगीमा नफर्किने चिजहरुको धेरै माया लाग्छ। समयले कहाँ सधै उस्तै पारेर आमाले जस्तै काखी च्यापेर राखोस् फेरि जीवनको गतिसँगै संघर्षको यात्रामा सपनाको भारीले च्यापिएर हिँडनु न छ।
प्रत्येक आमाको हरेक सन्तानलाई आशीर्वाद हुन्छ कि मेरो सन्तानले संसार जितोस्। अवस्था र परिस्थितिअनुसार बाध्यता र रहरअनुसार प्रत्येक आमाका संसार जित्ने सपनाहरू पनि फरक–फरक तर जे होस् हरेक आमाको आँखामा समग्रमा सन्तानको खुसी नै झल्किएको हुन्छ।
सहर पढन बसेको छोरोले/छोरीले आमाले पठाएको तरकारीको झोलाभित्र सुटुक्क कच्याक्कुचुक पारेर पठाएको नोट हेरेर स्तब्ध हुन्छन। बाध्यताले परदेशिएको परदेशी छोरोले चर्को घाममा भोको पेट पसिना पुछ्दै आमाले बारीको काल्नामा ल्यादिएको मही र मकैले भोक मेटछ। माइती छोडेकी चेलीले आमाले पठाएको ध्युको बट्टामा खुसी हुन्छिन। संसारको कुन ठाउँ, कुन कुना होला जहाँ आमा पुगेकी छैनन। आमाको माया पुगेको छैन।
लाग्छ सात समुन्द्रपारि पनि आमा हावा बनेर पुग्छिन, जहाँ उनको सम्झनाले मात्रै पनि सितलता दिन्छ। अझै साहुको मेलामा पाएको रोटीको टुक्रालाई पटुकीमा च्यापेर घरमा छोराछोरीलाई बोकेर आउने आमा, हजुरआमाहरुका मायाका पोकाहरु मेरो पुस्ताको म बबुरोले खोलेर के न्याय गर्न सकुलाँ र। बिरामी परेर हनहनी ज्वरोले थलिँदा के डाक्टरी औषधिले छुँदो हो त्यसको चौगुना छिटो त आमाको चिसो पानीपट्टि र कोमल हातले निधार सुम्सुम्याउँदा हुन्थेयो। हो, आज पनि म मेरी आमाको हौसला, हिम्मत र संघर्षका कथाले झन बलियो भएर बाँचिरहेको छु। त्यसैले आज पनि आमाको फोनको घण्टीले मलाई प्रत्येक पाइला–पाइलामा हिँडाइरहेको छ, खाल्डा र काल्नाहरुबाट जोगाइरहेको छ।
सबथोक लेखिरहँदा आमाको भौतिक उपस्थिति मात्रै होइन आमा नहुँदाका बखत पनि आमासँग हाम्रो मनोविज्ञान जोडिएको छ। आस्था मूल्य मान्यता जोडिएका छ्न। संघर्षका कथाहरु जोडिएका छ्न। संसारभरका सबै आमाहरू जो आजपनि सन्तानको समर्पणका लागि आफू आत्मसमर्पण गरेर हाम्रा लागि खुसीको बलि दिइरहेका छ्न। घर, समाज, सत्ता सबथोकविरुद्ध अनवरत लडिँरहेछ्न। ती तमाम आमाहरूको मुहारमा खुसी ल्याउने दिनको रुपमा हामीले भोलिको दिनलाई सम्झनुपर्छ। आज समाजमा आमाप्रति गरिने व्यवहारहरु सम्बन्धहरु सामानसँग दाँजिन थालेको छ। स्नेह, माया र ममता सबथोकलाई प्लाष्टिकका फूलहरु र पिठोले श्रुंगारिएका केकहरुसँग साटिन थालेको छ। संयोगले वर्ष दिनको दसैंमा खिचिएका तस्बिर र फुर्सदमा बिदा मनाउन जाँदा खिचिएका तस्बिरले रिझाउन खोजिएको छ।
सफलताको जिन्दगीलाई इज्जतको डरले आमाबाट टाढै राख्न थालिएको छ। तोरीको तेलले सन्तानका सन्तान सेक्ने रहरलाई आमाको हातबाट खोसिएको छ। जीवनभर सन्तानको खुसीको लागि लडेर छोराछोरीबाट खुसी पाउने आशा राखेकी आमा कैयौंको नजरमा आज चाउरिएकी, झुत्रा कपडा लगाएकी, बोल्न नजान्ने र चेतना नभएकी अनपढ लाग्न थालेको छ। स्नेहको अभावमा बिरामी भएकी आमालाई जबर्जस्ति डाक्टरको सुई रोपिएको छ। अभाव, गरिबी, दबाब र भयसँग जुधेर हामीलाई सम्पन्न गराउने हाम्री आमा आजकाल केहीलाई बोझ लाग्न थालेको छ। धर्ती र आमामा फरक छैन भने धर्तीका बोझहरुले दिएका शुभकामना र दयाका शब्दले आमा शब्दको कदर हुने छैन। आमाले जीवनभर लडेको विश्वयुद्धको न्याय हुने छैन।
आजको दिन आमाको संघर्षको सम्मान, आमाले लडेको युद्धको न्याय, आमाले दिएको ज्ञानको कदर र आमाले मागेको स्नेहको भाव मनन गर्दै हाम्रा अनेकन परिस्थितिका बिचबाट पनि हाम्रा ममतामयी माताहरुको ओठमा जीवनभर हाँसो ल्याउने खुसी ल्याउने दिनको रुपमा स्थापित होस्। समाजमा सत्कर्म र सत्मार्गमार्फत् आमाको हृदयमा मायाका पुष्पगुच्छाहरु छर्न सकियोस्। मलाई जन्मदिने मेरी आमा र संसारभरका सबै आमाहरूप्रति सम्मानसहित सु-स्वास्थ एवम दीर्घ जीवनको कामना। माथातीर्थ औँशी आमाको मुख आज मात्रै होइन प्रत्येक दिन प्रत्येक जीवनका क्षणहरुमा हाम्रा माता/पिता र अग्रजले दिएका जिम्मेवारी, अपेक्षा र ज्ञानलाई सधै सिरोपर गरौं ।
शुभकामना