‘स्याउला’ले हिर्काएरमात्रै निभ्दैन वनको आगो 

बाँकेको राप्तीसोनारी–८ स्थित भगवती सामुदायिक वनमा लागेको डढेलो निमाउँदै वन कर्मचारी, सशस्त्र प्रहरी  र स्थानीय। तस्बिरः रासस
बाँकेको राप्तीसोनारी–८ स्थित भगवती सामुदायिक वनमा लागेको डढेलो निमाउँदै वन कर्मचारी, सशस्त्र प्रहरी र स्थानीय। तस्बिरः रासस

हरेक वर्षजस्तै खडेरीमासका यी दिनहरू देशका वनैभरि आगो नै आगो फैलिरहेको छ। वनको आगोले बस्ती खरानीमात्रै भएको छैन, कैयौ ज्यान पनि लिइसकेको छ। तर आगलागी नियन्त्रणका लागि सरकारसँग न कुनै संयन्त्र छ न कुनै सामग्री र जनशक्ति। आगो लाग्छ मानिस रमिते हुन्छन्। सके पानी छ्याप्छन्। त्यो पनि सबै ठाउँमा हुँदैन। स्याउलाले हिर्काएरमात्रै दन्किएको आगो त निभ्दै निभ्दैन। 


ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-१० बेतेनीस्थित हरिबोले बसाहा सामुदायिक वनमा सोमबार आगो फैलियो। आगो फैलिएको यो वनको नजिकै स्थानीयका खरबारीको पाखो छ। यो पाखाको एक छेउमा ५५ वर्षीया पुन्यमाया धमलाको पनि खर थियो। 

बसाहा सामुदायिक वनको आगो खरबारीतिर आउन थालेपछि पुन्यमाया काटिराखेको खर जोगाउन खरबारी पुगिन्। खर सुरक्षित ठाउँमा लैजान थालिन्। 

तर बेहोसीमा खरबारीमा फैलिरहेको आगोले पुन्यमायालाई के खर बचाउन दिन्थ्यो र, चारैतिर आगो फैलियो। आगो यसरी फैलियो कि पुन्यमायाले खर त बचाउन सकिनन् नै उनी आफूले आफैलाईसमेत बचाउन सकिनन्। 

बेहोसी आगोले खरसँगै उनलाई पनि लपेट्यो। आगोले पुन्यमायालाई लपेटेको देखेपछि सँगै खर बचाउन आएका १५ वर्षीय छोरा कञ्चन धमला आमा बचाउन दौडिए। 

उनी आमा नजिक पुग्दै थिए। तर आमालाई लपेटिसकेको आगोले उनलाई पनि छाडेन। उनलाई पनि आगोमै लपेटिए। न खर बच्यो, न आमा–छोरा नै बचे। सोमबार खर बचाउने चटारोमा दुवै जना खरबारीमा खरानी बने। 

यस्ता दर्दनाक घटना दिनहुँजसो सुन्नुपरेको छ। गर्मी लागेयता देशका विभिन्न वनमा सुरु भएको आगोले सारा वनत सकि नै सक्यो। साथमा दर्जनौँ बस्ती सकाएको छ। मानिसको ज्यान निलिरहेको छ। 

आइतबार मात्र ललिपुर महानगरपालिका १७ स्थित एक टहरोमा आगलागी हुँदा एकै घरका ५ जना घाइते भए। आगोले जलेर घाइते भएका ५ जनामध्ये सोमबार नै ८ वर्षीया प्रिया गिरी र ३ वर्षीय एलिस गिरीको मृत्यु भयो। 

उनीहरूका बाबु–आमा ३५ वर्षीय सञ्जय गिरी र ३२ वर्षीय रुपा गिरीको आइसियुमा राखेर उपचार भइरहेको छ। अर्का घाइते नित गिरी उपचारपछि घर फर्किसकेका छन्।  

यी उदाहरण आगोले कसरी ज्यान निलिरहेको छ भन्ने देखाउने दर्दनाक घटना हुन्। वनमा लागेको आगो होस् वा घरमा लागेको आगो किन नहोस् दैनिकजसो नागरिक आगोमा लपेटिरहेका छन्। 

चालु आर्थिक वर्षको ८ महिना (साउन देखि फागुन)मा आगलागीमा परी ७९ जनाको ज्यान गइसकेको छ। २ हजार ५ सय २२ आगलागीका घटना हुँदा ३ सय ४१ जना घाइते भएका छन्। 

नेपाल प्रहरीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ८ महिनामा ६ सय १७ वटा घरहरू जलेका छन्। ३ सय ५४ वटा गोठ जलेका छन्। यस अवधिमा आगलागीबाट १ अर्ब ३० करोड १५ लाख बढीको सम्पति क्षति भएको छ। 

तस्बिर: सोमबार दैलेख बजारमा लागेको आगो। तस्बिर: रासस

सरकारसँग छैन आगो निभाउने उपकरण

विभिन्न अध्ययनले वर्षेनी आगजनीका घटना बढिहरहेको देखाउँछ। त्यो वनमा हुने आगलागी मात्र होइन घरहरुमा पनि यसैगरी आगलागी हुने घटना बढिरहेका छन्। 

आगलागीका घटना नेपालमा मात्र बढेको होइन। विश्वव्यापी रुपमा आगलागीका घटना बढ्दोक्रममा छ। जुन अझै बढेर जाने प्रक्षेपण संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम यूएनईपीले गरेको छ। यूएनईपीले सन् २०३० सम्म आगलागीका घटना १२ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ।

तर सरकारसँग आगो निभाउन उपयुक्त उपकरणहरू छैनन्, तालिमप्राप्त पर्याप्त जनशक्ति नै। आगो कतिखेर लाग्छ भन्ने थाहा हुने विषय पनि होइन। आगलागी एउटा विपद नै हो।  सरकारले विपद् जोखिम न्यूनिकरणकै नाममा अनेकन परियोजनाहरूदेखि लिएर वर्षमा अर्बौं रकम लगानी पनि गरिरहेकै छ। 

चालु आवको बजेटमा संघ सरकारले डढेलोको न्यूनीकरणका लागि प्रदेश सरकारको सहकार्यमा सामान खरिद गर्न र तालिम सञ्चालन गर्न बजेट छुट्याएको थियो। यस्ता कार्यक्रममा संघ सरकार मात्र होइन प्रदेश र स्थानीय सरकार पनि काम गरिरहेका देखिन्छन्। 

तर सरकारसँग आगो निभाउन अहिलेसम्म उयुक्त उपकरण छैन। जसको परिणाम राज्यले यस वर्ष बेहोर्नु पर्यो। कहिल्यै डढेलोले नखाने उपत्यका छेउकै वनहरूमा पनि यस वर्ष डढेलो लाग्यो। ललितपुरको गोदावरी वन सखाप भयो नै साथमा डढेलो निभाउ गएकै २ जनालेसमेत ज्यान गुमाए। 

राजधानी उपत्यकाकै जंगलको अवस्था त यस्तो छ भने बाहिरी जिल्लाको अवस्था कस्तो होला भनिरहन परेन। डढेलो निभाउन सरकार सेउला (हरियो रुखको हाँगा)कै भरमा छ। तराइका सडक छेउका जंगलमा दमकल प्रयोग गरेर डढेलो निभाउने प्रयास गरिएपनि ती प्रभावकारी हुन सकेको छैन। 

यी दमकल पनि सबै स्थानीय तहमा छैनन्। वनको डढेलो निभाउन सरकारसँग भएको अर्को उपकरण फायर पम्प हो। जुन देशका विभिन्न जिल्लामा गरी ११४ वटा राखिएका छन्। 

ती पनि आगलागीकाबेलामा प्रभावकारी प्रयोगमा देखिदैनन्। ‘फायर पम्प’का लागि आगलागी भएको ठाउँमा पानीको स्रोत हुनुपर्छ। जलस्रोतको दास्रो दनी देश भए पनि नेपालमा प्रसस्त पानीका स्रोतहरु छैनन्। 

यसबाहेक सरकारसँग अर्को डढेलो निभाउन प्रयोग गरिने प्रविधि छैन। कहिलेकाँही हेलिकप्टर प्रयोग गरिए पनि यस वर्ष देशका वन सखप हुञ्जेलसमेत हेलिकप्टर प्रयोग गरेर डढेलो निमाउन सरकारले सकेन। 

महंगो प्रविधि भएकाले पनि हेलिकप्टर प्रयोग नगरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता दिजन भट्टराईले बताए। ‘सरकारसँग खास प्रविधि छैन। डढेलो निभाउन अझै सेउलाकै भर पर्नुपर्ने छ’, उनले भने। 

वनको डढेलो निभाउने सरकारसँग प्रविधि त छैनन नै घरहरूमा हुने आगलागी नियन्त्रण गर्नसमेत सरकार सक्षम छैन। अहिले दमकलकै भर पर्नुपर्ने अवस्था छ। दमकलले ठूला घरहरूमा आगो नियन्त्रण गर्न सम्भव छैन। 

अन्य देशमा ठूला घरहरुमा हुने आगलागी नियन्त्रणका लागि रोवर्ट प्रयोग गर्ने गर्छन्। यहाँ त्यो पनि छैन। किन सरकारसँग आगलागी नियन्त्रण गर्न उपयुक्त प्रविधि छैन? विपद् प्राधिकरणका प्रवक्ता भट्टराई भन्छन्– ‘योजनावद्ध रुपमा काम हुन सकेको छैन।’

–जङ्गलको डढेलोबाट घर बचाउन घरको छानामा पानी खन्याउदै सोलुखुम्बु सुकेपोखरीका एक स्थानीय। तस्बिर: रासस

वन उपभोक्ताको पनि उस्तै हाल

सरकारसँग डढेलो निभाउनका लागि प्रभावकारी योजना छैन नै। वन संरक्षनको विषेश भूमिका सामुदायिक उपभोक्ताको पनि हुन्छ। तर यी उपभोक्ता वनलाई डढेलोबाट बचाउने भन्दा पनि वनमा डढेलो लगाउन उद्धत जस्तो देखिन्छन्। 

हरेक वनको संरक्षण गर्न स्थानीय रुपमै वन उपभोक्ता समिति हुन्छ। यी समितिले प्रभावकारी काम नगर्दा वन डढेलोबाट जोगिन सकेको छैन। सामुदायिक वन उपभोक्ता महासंघले वन संरक्षणमा जसरी प्रभावकारिता देखाउन सक्नुपर्ने थियो त्यो देखाउन सकेको छैन। 

महासंघकी महासचिव पार्वता गौतम वन समितिलाई वन संरक्षणका लागि विभिन्न अभिमुखिकरण कार्यक्रम गरेको बताउँछिन्। तर वनमा लाग्ने आगो ९० देखि ९५ प्रतिशत मानवीय कारणले लाग्ने गरेको जानकार स्वीकार्छन्। 

उनका अनुसार अहिले पनि स्थानीय तहसँग न आगो नियन्त्रणका लागि आधुनिक र प्रभावकारी उपकरणहरू छन्। न संयन्त्र छ न जनशक्ति।

‘आगो लाग्छ हामी त रमिते हुनेमात्रै हो। सकेजति स्याउलाले हानेर निभाउने हो। नभए त भगवान भरोसा’ उनी भन्छिन् ‘अरु देशमा जस्तो हामीसँग महंगा र प्रभावकारी उपकरण पनि छैन। नीति र परियोजनाहरू पनि छैन। न संघीय सरकारसँग न स्थानीय सरकार कसैसँग त्यस्तो कुनै संयन्त्र छैन।’ 

शतर्कता न सचेतना 

वनको डढेलो कसरी निभाउने भन्नेमा नागरिकमा सचेतना देखिदैन। जुन ओखलढुङ्गामा सोमबार आमा–छोराको मृत्युले पनि देखाउँछ। उनीहरू खरबारीमा सबैभन्दा छिटो आगो फैलिन्छ र ज्यान खतरामा हुन्छ भन्ने जानकार भएको भए सायद उनीहरू दन्किरहेको आगोमा हाम्फाल्दैन थिए कि! 

तर उनीहरू खर बचाउने लोभमा पाखाको खरबारीमा पुग्दा ज्यान गुमाए। अर्थात उनीहरू खरबारीमा खर बचाउन जाँदा आगोबाट सुरक्षित हुन सकिने लुगा हुन्छ, बुट हुन्छ भन्ने थाहा भएको भए वा उपलब्ध भए जलेर ज्यान गुमाउनु पर्ने थिएन। 

यसरी आम नागरिक मात्र आगोबाट कसरी जोगिने भन्नेमा सचेत त छेनन् नै सुरक्षाका निकायका व्यक्तिहरूमा प्रायाप्त तालिम भएको देखिदैन। गएको चैतमा डोल्पामा आगो निभाउन वनमा गएका ३ सैनिकको जलेर ज्यान गएको थियो। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता भट्टराई भन्छन्– आगो कसरी निमाउने, निभाउँदा कस्ता उपाय अपनाउने भन्ने पर्याप्त रुपमा तालिम हुन सकेको छैन।’

यो पनि पढ्नुस्– कसले झोसिरहेछ आगो?

उनी सरकारले प्रयाप्त रुपमा आगोबाट जोगिन प्रयोग गरिने ज्याकेट, बुटहरू पनि उपलब्ध गराउन नसकेको स्वीकार्छन्। 

यस्तै नागरिकले साना–साना गल्ती गर्दा आगलागीका घटना हुने गरेका छन्। वन छेउमा आगो बालेर ननिभाउने, चुरोट, बिडी खाएर ननिभाएर फाल्ने गर्दा वनमा आगलागी हुने गरेको छ। 

जुन नागरिकमा हुनुपर्ने सचेतना नहुनु हो। एउटा वनमा आगलागी भएमा वन मात्र जल्ने होइन। वनमा रहेका साना किराफट्यङ्ग्रादेखि चराचुङ्गी र ठुला जनावरसम्म नष्ट हुन्छन्। 

घरमा पनि बिद्युतीय उपकरण प्रयोगमा ध्यान नदिँदा आगलागीका घटना हुने गरेका छन्। 

प्रकाशित मिति: : 2024-05-07 20:07:00

प्रतिकृया दिनुहोस्