सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीमा एकै पटक ४७ घर जले। केहीले घरका सामान अलिअलि बचाउन सके। केहीका आगोमै जले। याे घटना गत मंगलबार (वैशाख १८ गते) भएको थियो।
स्थानीय शत्रुधन यादवको घरबाट सल्किएको त्यो आगोले एकैछिनमा बस्तीभरिका घरहरू टिप्यो।
यादवको घरमा हरेक दिनजसो गाईभैँसीलाई दाना पकाउन आगो बलिरहन्छन्। यो उनको दैनिक कार्य हो। तर त्यो दिन आगो बालेकै बेला बेस्सरी हावा चलेको थियो। त्यही हावाले उडाइलगेका आगाेका फिलिङ्गाहरू फैलिएर घरका छानाहरू दनदनी बल्न थाले।
महादेवा गाउँपालिकाकी उपाध्यक्ष अर्चना कुमारी यादवकाअनुसार यो प्रारम्भिक अनुमान हो। आगोबाट करिब १५० वटा घर र गोठ जलेको अनुमान छ।
धन्न दिउँसो आगलागी हुँदा मानवीय क्षति हुनबाट बच्यो। तर आगलागीपछि ५ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
अहिले चिम्टी गाउँका नागरिक त्रिपालमुनि बसेका छन्। बस्नको समस्या त भएको छ नै, खानाको समस्यामा समेत आगलागी पीडित छन्। राहतस्वरुप गाउँपालिकाले केही सहयोग गरेपनि प्रयाप्त हुन सकेको छैन। पालिकालाई समेत कसरी नागरिकलाई पुनर्स्थपना गर्ने भन्ने समस्या भएको छ।
त्योभन्दा अघि महोत्तरीको मटिहानीको एउटा बस्ती पनि त्यसैगरी जलेको थियो। त्यो बस्तीको खरानी सेलाउन नपाउँदै गत सोमबार ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा डढेलो लाग्यो। डढेलोले वन सकायो नै, २ जनाको ज्यान पनि लियो।
डढेलो निभाउन गएका स्थानीय ५० वर्षीय रमेश पहरी र शंकर पहरीलाई डढेलोले जलाएपछि उपचारका क्रममा मृत्यु भएको थियो। गोदावरीमा लागेको डढेलो उपत्यका आसपास क्षेत्रमा पछिल्लो समयको सबैभन्दा ठूलो हो।
काठमाडौँ उपत्यका घेरेका विभिन्न वनमा अनियन्त्रित रुपमा डढेलो लागेको थिएन। लागेको डढेलो नियन्त्रणमा आउँथ्यो। तर गोदावरीमा ४ दिनसम्म पनि डढेलो नियन्त्रणमा आउन सकेको छैन।
गोदावरीमा मात्र होइन, यस वर्ष डढेलो देशभर अनियन्त्रित बनेको छ। कहिल्यै डढेलो नलाग्ने वन पनि यस वर्ष डढेलोले सखाप बनाएको छ। बिहीबार मात्रै ५३ जिल्लाका ४३६ ठाउँमा डढेलो लागेकाे थियाे।
डढेलोले वन मात्र खाएको छैन, मानव बस्ती पनि खाएको छ। गुल्मीमा वनको डढेलो गाउँमा पस्दा ३ दिनमा ४७ घर जले। वैशाख ८ गतेदेखि १२ गतेसम्म ४७ घर र ५३ गोठ जले। ९६ पशुचौपाया जले।
गुल्मीमा भएको यो क्षति डढेलोले वन र बस्ती कसरी सकिरहेको छ भन्ने देखाउने दृश्य हो। छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा, प्युठान, दाङलगायत जिल्लामा पनि वनको डढेलो गाउँमा पसेर बस्ती सखाप पारेको छ।
उसैगरी तराईका विभिन्न ठाउँमा आगलागी हुँदा बस्ती सखाप भइरहेका छन्। यस वर्षमात्र यसरी आगलागीले बस्ती र डढेलोले वन सखाप पारेका होइनन्। यो हरेक सुख्खायाम र गर्मीका बेलामा धेरै नेपालीले भोग्नुपर्ने नियति बनेको छ।
नीति, नियम र उद्धार अनि राहतको चुस्त व्यवस्था नहुँदा भैपरी आउने यस्ता विपद्हरूबाट क्षति न्यूनीकरण गर्न हाम्रा सरकारहरू चुकिरहेका छन्।
वन जलाउनेले बस्ती जलेको देखेनन्
वनमा आगलागी कसरी हुन्छ? वनसम्बद्ध निकायको एउटै बाली हुन्छ– ‘मानवीय त्रुटीले।’ त्यो जानीजानी होस् वा अनजानमा होस्, मानवीय त्रुटीले गर्दा वनमा आगलागी हुने जानकारहरू दाबी गर्छन्।
वनमा जानीजानी आगो लगाउने गरेको पनि पाइन्छ। वनमा नयाँ घाँस पलाउने लोभमा आगो लगाउने गरेको भेटिएको सामुदायिक वन उपभोक्ता महासंघकी महासचिव पार्वता गौतम बताउँछिन्।
यीबाहेक खोला, सडकका किनारहरूमा बालिएका आगो ननिभाउने, वनमा चुरोट–बिँडी खाएर ननिभाएर जथाभावी फाल्ने, सलाइका काँटीहरू जंगलमा फालिने गर्दा आगलागीले वन र बस्तीहरू सकाइरहेको छ।
पछिल्लो समय गाउँमा जंगली जनावरले बालीहरू खाएर सताउने हुँदा पनि जंगलमा आगो लगाउने गरेको बताइन्छ। ‘जंगली जनावरले लगाएका बालीनाली खाएर सताउँदा पनि कतिपय ठाउँमा गाउँ नजिकको जंगलमा आगो लगाउँदा ती जनावर भाग्ने मनसायले पनि वनमा आगो लगाउने गरेको भन्ने छ’, महासंघकी महासचिव गौतमले भनिन्।
वनमा हुने आगलागी ९० देखि ९५ प्रतिशत मानवीय त्रुटीले हुने गरेको बताइन्छ। २–४ प्रतिशत अन्य प्राकृतिक कारण जस्तै, ढुंगा–ढुंगा ठोक्किँदा उत्पन्न हुने आगोले पनि वनमा आगलागी हुने गरेको भन्ने गरिन्छ।
तर आजसम्म कसरी आगलागी हुन्छ भन्ने आधिकारिक अध्ययन रिपोर्ट भेटिँदैन। तर जसरी वनमा आगलागी भए पनि मानवीय कारणले हुने आगलागी रोकेमा वन, बस्ती आगलागीको मारमा नपर्ने डढेलो विज्ञ सुन्दरप्रसाद शर्मा बताउँछन्।
वनमा अनेकन लोभले वा लापर्वाहीले आगो लगाउँदा बस्ती जलिरहे पनि नागरिकमा चेतना विकास भएको देखिँदैन। कुनै न कुनै बहानामा वनमा आगो लागिरहेको छ। जसले बस्ती उठिबास बनिरहेको छ।
सरकारले आगजनीसम्बन्धी जनचेतनाका कार्यक्रम गरेको छ। आगो नियन्त्रणका तालिमहरू पनि गरिरहेको हुन्छ। तर ती काम प्रभावकारी नभएको डढेलो विज्ञले शर्मा सुनाउँछन्।
नागरिकको ज्यान निलिरहेको डढेलो
समान्य रुपमा हेर्दा डढेलोले केही वन सक्यो, केही बस्ती सक्यो भन्ने देखिन्छ। तर यसको असर बिकराल छ। वनमा बिरुवादेखि जडिबुटी र जीवजन्तुसम्म डढेलोको मारमा हुन्छन्।
त्यति मात्र नभएर बस्तीसम्म डढेलो पुगेर वर्षदिनमा सयौँ नागरिकलाई उठिबास बनाइरहेको छ। त्यति मात्र होइन, डढेलो मानव अस्तित्वमाथि समेत धावा बोलिरहेको छ।
मंगलबार ललितपुरको गोदावरीमा डढेलो निभाउन गएका दुई जनाले ज्यान गुमाए। यो पछिल्लो पटक डढेलोले मान्छेको ज्यान निलिरहेको देखाउने दृश्य हो।
बितेको दुई महिनामा १७ जनाले डढेलोका कारण ज्यान गुमाउनु परेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ।
नेपालमा आगलागीका कारण ज्यान गुमाउने नागरिकको संख्या बढिरहेको छ। चालु आर्थिक वर्ष २०८०/०८१ को फागुनसम्म आगलागीका कारण ७९ जनाले ज्यान गुमाइसकेका छन्।
अघिल्लो आव ०७९/८० मा १११ जनाले आगलागीमा परी ज्यान गुमाएका थिए। यो पछिल्लो तीन वर्षको सबैभन्दा धेरै हो। आव ०७८/७९ मा आगलागीमा परी ९१ र आव ०७७/७८ मा ८१ जनाले ज्यान गुमाएका थिए।
पछिल्ला वर्षहरूमा आगलागी पनि अत्यधिक भइरहेको छ। सुरक्षित मानिने बीच सहरमा समेत आगलागी भएर घरहरू ध्वस्त भइरहेका छन्।
आव २०७७/७८ मा २ हजार ८५३ र आव ०७८/७९ मा २ हजार ६ सय ६२ आगलागीका घटना भएकोमा आव ०७९/८० मा दोब्बरले वृद्धि भएर ४ हजार ४ सय १२ वटा आगलागीका घटना भएका छन्।
नेपालमा मात्र होइन्, आगलागीका घटना विश्वमा नै बढ्दोक्रममा छ। जुन अझै बढेर जाने प्रक्षेपण संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम यूएनईपीले गरेको छ। यूएनईपीले सन् २०३० सम्म आगलागीका घटना १२ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ। सबै तस्बिर: रासस