भारतीय राजनीतिमा एकजना चर्चित पात्र छन्, लालु यादव। जसलाई सत्तामा पुग्न र त्यहाँ रहन गर्न मिल्ने/नमिल्ने जुनसुकै हर्कत गर्न सक्ने पात्रको रुपमा लिइन्छ। त्यसो हुनाले लालु यादव एक पात्र मात्रै नभई अनैतिक र षड्यन्त्रकारी राजनीतिक प्रवृतिका एक उदाहरण हुन्।
विहारका मुख्यमन्त्रीदेखि केन्द्र सरकारका रेल मन्त्रीसम्म भइसकेका लालु यादवसँग जोडिएर अक्सर सुनिने ‘जवतक रहेगा समोसेमे आलु तबतक रहेगा विहारमे लालु!’ भन्ने हास्यास्पद डाइलग त लालु यादवलाई नै नचिन्ने र उनको बारेमा केही नबुझेकाहरुले पनि पक्कै सुनेकै हुन्छन्। हो, त्यस्तो विकृत राजनीतिक प्रवृतिका घोतक लालु यादव राजनीतिमा विद्यमान दुखद् यथार्थ हुन्, जसको उपस्थिति भारतीय राजनीतिमा जबर्जस्त छ तर स्विकार्यता शून्य छ।
अनि विडम्बना त यो छ कि संसारको कुनै पनि देशको राजनीतिमा स्विकार्य नहुनु पर्ने त्यो लालु प्रवृतिले नेपालको राजनीतिमा पनि क्रमश: टाउको उठाउँदै लगेको छ।
केही समय अगाडिसम्म प्रतिस्पर्धाको बीचमा पनि आपसी सम्मान कायम रहने, विपक्षीहरुको सम्बन्धमा बोल्दा वा लेख्दा पनि व्यक्तिगत सम्मानको ख्याल राखिने र एउटा निश्चित नैतिकता कायम राख्ने विशिष्टता बोकेको नेपाली राजनीति पछिल्ला केही वर्षहरु यता आफ्ना मौलिकताभन्दा विल्कुल भिन्न बाटोमा हिँड्न अभ्यस्त हुँदै गएको छ।
आजको मितिमा यदि गम्भीर भएर नेपाली राजनीतिमा घटिरहेका घटनाहरु र त्यसको पृष्ठभूमिलाई हेर्ने हो भने नेपाली राजनीतिले तीव्रतर ढंगले लालु यादव प्रवृतिलाई पछ्याइरहेको छ।
दुखका साथ भन्नैपर्ने हुन्छ कि नेपालको राजनीतिमा ‘लालु यादव युग’को सुरुवात गराएर त्यसलाई आजको दिनसम्म ल्याउने कामचाहिँ पार्टी अध्यक्षलाई ‘बा’ भन्दै रमाउनेहरूले नै हाे। जसले केपी ओलीलाई नेपाली राजनीतिको निर्णायकको भूमिकामा ल्याउन मदत गरे।
कुनैबेला बोलीदेखि व्यवहारसम्म सु-संस्कार झल्कने, अनुशासनमा अनुपम उदाहरण देखिने एमाले आज बिग्रेर ‘एमाले’सम्म आइपुग्दा त्यो कु-संस्कारिता अनि अनैतिकताको पर्याय बन्दै गएको छ।
अहिले पनि त्यस पार्टीमा हजारौँ लाखौँ असली एमाले चरित्रका मानिसहरु छन् तर ती असली एमालेहरु एमालेहरुको यस्तो च्यापमा परेका छन् कि उनीहरुको गुण एमालेका पछिल्ला कुनै निर्णयमा देखिँदैन। वास्तविक एमालेहरू सदैव लालु प्रवृतिको विरोधी रहँदै आए, तिनैको सम्मान योग्य व्यक्तित्व र व्यवहारकै जगमा एमाले बन्यो तर विडम्बना आज त्यही एमाले एमाले बनेर लालु यादव प्रवृतिको पर्यायको रुपमा नेपाली राजनीतिमा स्थापित भएको छ भन्ने दावी हैन, तथ्य हो।
असंवैधानिक ढंगले संसद विघटन गर्ने केपी ओलीको तत्कालीन कामदेखि आजसम्म उहाँको अराजनीतिक, असंवैधानिक र अनैतिक कामहरुको पंक्तिकारले निरन्तर विरोध गर्दै आएको हुनाले एमालेका असली सन्ततीहरुले केपी ओलीले नेपालको राजनीतिलाई बिहारीकरण गरेको दावीलाई इन्कार गर्ने मात्रै नभई त्यस्तो दावी गर्नेमाथि अनेकन हिसाबले प्रहार गर्ने खतरा रहन्छ।
त्यसैले आफ्ना दावीहरुलाई तथ्यसहित प्रस्तुत गर्नु बाञ्छनीय हुनेछ। तसर्थ, राजनीतिको शीर्ष तहमा केपी ओलीको उदयसँगै लालु प्रवृतिले घर बनाउँदै लगेको यथार्थमा स्पष्ट हुन तलका तथ्यहरु प्रस्तुत गरेको छु:
१. केपी ओली अध्यक्ष भइसकेपछिको धेरै समयसम्म पार्टीमा आन्तरिक रुपमा भए गरेका अन्यायपूर्ण गुटगत व्यवहारहरुको बारेमा उहाँकै तत्कालीन दलभित्रबाट सुनिएका आवाजहरुलाई चर्चा नै नगरिकन आम राजनीतिलाई नै फरक पार्ने घटनाहरुमा आधारित भएर मात्रै चर्चा गर्दा सबैभन्दा पहिला त केपी ओली जसले माओवादी र उसको हिंसात्मक विगतलाई गाली गर्दै आफ्नो व्यक्तित्व बनाउनुभयो, त्यही माओवादीसँग एकता गरेर सत्ताको सिँढी चढ्न उहाँले खेलेको खेललाई स्मरण गर्दा हुन्छ।
सबैलाई थाहा छ, केपी ओली नेकपा माओवादी र त्यसको नेतृत्वप्रति सदैव अनुदार नै हुनुहुन्छ तर जब-जब सत्तामा जान माओवादीको टेको चाहियो तब-तब उहाँले आफूले गाली गरेको माओवादीको हिंसात्मक गतिविधिलाई महान क्रान्तिकारी कदम र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गणतन्त्रका सर्जक मानिदिने गर्नुभएको छ।
सबैलाई थाहा नै छ, कुनैबेला एमाले पार्टीभित्र कुनै छलफल नगर्दै, नीति, सिद्धान्त, विचारको विषयमा सहमति हुनु अगावै केवल सत्ताको नेतृत्व आधा-आधा कार्यकाल भन्ने लिखित सम्झाैता गोप्य गर्दै त्यही माओवादी पार्टीको तिनै प्रचण्डसँग उहाँले एकता गर्नुभयो। तर जब सहमतिबमोजिम सत्ता छोड्नेबेला आयो, तब के गर्नुभयो, के गर्नुभएन त्यसको लेखाजोखा गरेर साध्य नै छैन। केपी ओलीले गरेका ती तमाम हर्कतहरु शैलीको राजनीतिभन्दा पृथक थिएनन् भन्ने दुनियाले बुझेकै छन्।
२. केपी ओलीले गरेको पार्टी एकता र विभाजनसम्मको नौटङ्की मात्रै लालु यादव शैलीको राजनीतिक अभ्यास थिएन। किनकि त्यतिबेला केन्द्रदेखि प्रदेश सरकारसम्मको गठन-विघटन, पुनर्गठनसम्म केपी ओली र उहाँको कोटरीद्वारा प्रदर्शीत असंवैधानिक, अनैतिक र अराजनीतिक व्यवहारहरु सम्झना लायक पनि छैनन्।
संविधानमै नभएको अभ्यास गर्दै संसद विघटन, संवैधानिक निकायदेखि अदालतसम्म आफ्नालाई नियुक्त गर्दै गरिएको घृणित सेटिङको श्रृङ्खला, आफूसँग विगतमा रहेको दलीय निकटतालाई भजाउँदै सम्मानित राष्ट्रपतिसमेतलाई झुक्काएर हुँदै नभएको हैसियतको जगमा प्रधानमन्त्री बन्न उहाँले खेलेको भूमिका र त्यसलाई अदालतले खारेज नगरुन्जेलका उहाँको गतिविधि र अदालतको संवैधानिक आदेश आफू प्रतिकुल हुँदाको उहाँको रोइलो पनि लालु यादवलाई बिर्साउने खालको नै थियो। त्यतिले नपुगेर आफ्नो विश्वासपात्र शंकर पोखरेललाई मुख्यमन्त्री टिकाउन लुम्बिनीमा के कस्ता घृणित हर्कतहरु गरिए भन्ने त तत्कालीन प्रदेश प्रमुखदेखि महिला सांसदले समेत भोग्नुपर्यो। ती सबै पनि शैलीकै घृणित अनुकरण थिए।
३. जब सम्मानित सर्वोच्च अदालतले केपी ओलीको संसद विघटनलाई असंवैधानिक ठहर गर्यो, तब उहाँको प्रहार आफूसमेतको निर्णयले आफ्नो स्वार्थको लागि बनेको नेकपामा मात्रै नभई त्यसपूर्व रहेको एमालेतर्फ पनि सोझियो। आफू अल्पमतमा रहेको नेकपालाई अदालतदेखि निर्वाचन आयोगसमेतमा रहेका सेटिङमुखी पात्रहरु (आफूले नियुक्त गरेको) को प्रयोग गरेर विघटन गराउँदै त्यस विघटनको निर्णयले पुनर्स्थापित एमालेसमेतमा उहाँले आफू नेतृत्वमा रहन के-के मात्रै गर्नुभएन?
पार्टी बनाउनेहरुलाई निकाल्न पार्टी टिकाउनेहरुलाई प्रयोग गर्दै पछि तिनीहरुको राजनीतिलाई पनि सौराहाकाण्डमार्फत कत्लेआम गर्दै समाप्त पार्ने उहाँको खेल पनि लालु यादवका हर्कत बिर्साउन सक्ने खालकै थियो। अष्ट लक्ष्मी शाक्यलाई सुरुमा मुख्यमन्त्री हुन नदिने, भिम रावल, घनश्याम भुषालहरुलाई सौराहामा राजनीतिक कत्लेआम गर्नेदेखि दुर्गा प्रसाईंजस्तालाई किस्तीमा केन्द्रीय सदस्य दिने काम के नेपाली मौलिक राजनीतिको निरन्तरता थियो त? पक्कै थिएनन्। अनि ती सबै गर्दैगर्दा केपी ओलीले पार्टीभित्र र बाहिरका आफ्नो विपक्षहरुलाई गरेका तल्लो स्तरका गालीहरु पनि लालु यादवलाई सम्झाउन लायक नै थिए।
४.देखिने/नदेखिने अनेकन खेलहरु खेल्दै पनि सत्ता प्राप्ति गर्नुपर्छ, किनकि सत्ताबिना राजनीति हुँदैन। अनि सत्तामा रहन जे पनि गर्न मिल्छ र गर्नुपर्छ, किनकि सत्ताविना जीवन नै हुँदैन भन्नेझैँ भाष्य स्थापित गर्दै नेपालको राजनीतिमा जायज/नाजायज जुनसुकै ढंगले पनि सत्तामा पुग्नुपर्छ र पुगेपछि टिक्नुपर्छ भन्ने सन्देश दिँदै आज केपी ओलीले देशलाई यस्तो अवस्थामा पुर्याउनुभयो कि आज मूल्य मान्यताको राजनीति समाप्त भएको छ।
एउटा गठबन्धनबाट चुनाव लड्ने अनि जितेपछि त्यसबाट निस्किएर विपरीत विचार भएकाहरुसँग गठबन्धन बनाउँदै सरकार निर्माण गर्नेदेखि टिकाउन गठबन्धन फेरिरहने तर सत्तामा चाहिँ टिकिरहने जुन प्रचण्डीय शैलीदेखियो, त्यो पनि केपी ओलीको लालु यादव शैलीय राजनीतिकै परिणाम हुन्। किन? किनभने अघिल्लो दिनसम्म राष्ट्रघाती, भ्रष्ट, आतंककारीलगायत अनेकन विशेषणले गाली गरेको पुष्पकमल दाहाललाई भोलिपल्टै महान क्रान्तिकारी भन्दै पुकार्दै उनकै सत्ता साझेदारी हुने जाने केपी कदमले एउटा नयाँ सरकार मात्रै बनाएको वा टिकाएको नभई सत्ता नहुँदा राजनीति असम्भव हुँदोरहेछ कि क्या हो, नत्र कहाँ त्यस्तो गालीको बाबजुद केपी ओली र पुष्पकमल दाहाल मिलेर अगाडि बढ्थे त? भन्ने सवाल गर्दै सब छोडेर सत्ता राजनीतिमा केन्द्रित हुन अरु पनि लामवद्ध भइरहेको घृणित दृश्य त्यही शैलीको अनुकरणको परिणाम त हो।
५. त्यति मात्रै कहाँ हो र, केपी ओलीकै सत्ता मोहले गर्दा आज अनेकन प्रकरणका दोषीहरु, निमुखा-गरीब जनताको मेहनतको कमाइ जम्मा गरेर राख्ने सहकारी संस्था ठग्ने ठगहरु सत्ताको केन्द्रमा छन्। ती सहकारी ठगहरुले पीडा दिएर रूवाएका जनताको चित्कारहरु देशभरका जनताले सुनिरहेका छन्। तर केपी ओली नेतृत्वको सत्ताले ती ठगहरुलाई सुरक्षा र न्यानो यस्तोसँग दिइरहेको छ कि जनताको चित्कारलाई सत्ताको मन्त्रमुग्ध संगीतले कम्जोर बनाएको छ। यस्तो लज्जास्पद राजनीति पनि नेपालको मौलिक नभई लालु यादव शैलीकाे अनुकरण नै हो।
६. अझै अर्को रोचक तर दुखद् त के छ भने आफूलाई चुनाव जिताउने गठबन्धन छोडेर आफू, आफ्ना परिवार र आफ्नो पार्टीविरुद्ध विष वमन गरेर नथाकेका केपी ओलीसँग मिल्न पुगेका तिनै प्रचण्डलाई पनि सिरक ओढाएर घाँटी रेट्ने शैलीमा कत्लेआम गर्ने कोसिस अहिले पनि केपी ओलीले गरिरहेका छन्। त्यसैअनुसार प्रचण्डलाई झुक्क्याउनको लागि भन्न मिल्ने र पर्ने सबै भनेर विगत गठबन्धनबाट छुटाएर आफूतिर ल्याउन सफल वर्तमानको सत्यताबीच उनी भित्रभित्रै चाहिँ पुष्पकमल दाहाल स्वयमकै राजनीतिक समाप्तिको ग्यारेण्टीसहितको सौदावाजी गर्दै नेपाली काँग्रेससँग मिलेर दुई दलीय सरकार बनाउने दाउमा छन्।
केपी ओलीको त्यो भित्रि दाउ बुझ्न उनले संसदमा शेरबहादुर देउवालाई संवादको लागि दिएको निम्तो र उनका पछिल्ला अभिव्यक्तिहरुलाई गहन ढंगले विचार गर्दा भैहाल्छ। हो, यस्तो भन्ने एउटा अनि गर्ने अर्को काम पनि लालु यादवकै राजनीतिक अनुसरणबाहेक अरु के नै हुनसक्छ?
७. केपी ओलीले अवलम्बन गर्दै आएको राजनीतिको शृंखला लामो छ, जसको चर्चा गर्दा एउटा हैन दुई/तीनटै किताब लेख्न सकिन्छ। त्यसैले अहिलेलाई केपी ओलीले आफू सम्मेलित भएर बनाएको समीकरणको सरकारको एउटा महत्वपूर्ण घटक दल अर्थात् जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन गराउन खेल खेल्नुभयो।
विगत चुनाव अगाडि कायम गठबन्धनको एउटा हिस्सा रहेको जसपालाई त्यसबाट निर्वाचान अगाडि निकालेर केपी ओलीले आफ्नो समीकरणको अंश बनाउनुभयो, त्यसो गर्दैगर्दा पनि बेइमानी गर्नुभयो।
जसपाका अध्यक्ष उपेन्द्र यादवलाई धोका दिएर हराउनुभयो तर त्यस पार्टीमा रहेका आफ्ना व्यक्तिगत मतियार अशोक राईलाई चाहिँ जिताउनुभयो। उहाँलाई लागेको थियो, अब उपेन्द्र सकिए। अशोकमार्फत भनेझैँ गराउनेछु तर जब उपचुनावमा पुरानै गठबन्धन फर्किएर उपेन्द्रलाई जिताइयो, तब केपी ओलीले आफ्ना तिनै मतियार अशोक राईलाई प्रयोग गर्दै आज आएर जसपा विभाजन गराउनुभयो। त्यो पनि कतिबेला? त्यतिबेला जतिबेला सरकारका उपप्रधानमन्त्री समेत रहेका जसपा अध्यक्ष यादव अमेरिका भ्रमणमा थिए।
आफू स्वयम भएको सत्ताको ठाउँमा अर्को ल्याउन आफू दिनरात कसरत गर्दै रहने तर त्यस खेलमा कतै नलागेको अवस्थामा पनि अरुलाई त्यस्तो गरिरहेको भनेर आरोप लगाएर तिनीहरुको पार्टीमा रहेका आफ्ना मतियार लगाएर फुटाउने काम पनि लालु यादवका व्यवहारिक शिष्य केपी ओलीबाहेक अरु कसले गर्न सक्थ्यो र?
अत, उल्लेखित र त्यसबाहेक अरु धेरै घटनाहरुले शैलीतर्फ उन्मुख नेपालको राजनीतिको तथ्य बयान गर्नुको अलवा त्यस्तो गर्न/गराउन जानेर/नजानेर नेतृत्व गरिरहनुभएका श्रद्धय केपी ओलीको यथार्थ उजगार गर्छ। सत्य यही हो।
अब सत्यलाई स्वीकार गर्दै नेपालको राजनीतिमा लालु यादव शैलीको राजनीति संस्थागत गराउँदै लाने गलत बाटोबाट पछाडि फर्केर सहमति, सहकार्य, आपसी सम्मान र सकारात्मक प्रतिस्पर्धासहितको जनपक्षीय राजनीतिमा आउने कि अझै लालुकै बाटोमा हिँडेर देश पनि सक्ने र आफू पनि सिद्धिने? निर्णय केपी ओली र उहाँलाई ‘बा’ भन्दै हिँड्ने एमालेहरुभन्दा पनि एमालेहरुबाट थिचिएका एमालेहरुले पो गर्ने कि? एमालेभित्र थिचिएकादेखि त्यहाँबाट बाहिर रहेका एमालेहरुले पनि अब आफूले आफैँलाई ‘अब त केपी कमरेडको राजनीतिमा अंकुश लगाउने कि? भनेर सोध्नुपर्ला कि!