जीवन भोगाई न हो– यहाँ कतिपय सुख अनि दुःखको द्वन्द्व हुन्छ, प्रायः म्यान्माली यसै–यसै बताउँछन्।
जीवन संघर्षको एउटा मेरूदण्ड हो। इच्छा, आकांक्षा, सपना र लक्ष्यहरूले नै मानिसको जीवनलाई सक्रिय अनि सृजनशील बनाउँछ।
सृजनशील नभएको जीवन पशुसरह हुन्छ। सपना, कल्पना, योजनाहरूले सजिएको एउटा सिङ्गो महल हो– जीवन। उल्हास, उमङ्ग र उत्साहका थरीथरी रङ्गी–विरङ्गले भरिएको भोलिको अपेक्षामा अझ् कृयाशील बन्छ– एउटा जीवन्त यात्रा।
हुनत, कल्पनाको एउटा तरङ्गबाट सपनाका सप्तरङ्गी इन्द्रेणी सजाउनु मानिसकै अधिकार हो। र, नैसर्गिक गुण पनि। यी नै सपनालाई साकार पार्दै मानिसले उन्नतिको शिखर चुम्छ। नत्र त पशु पंक्षीहरूमा पनि काल्पनिक संसार र सपनाका लहर हुन्थ्यो होला, है न र ?
अनेक योजना, कल्पना अनि सपनाको म्यान्माली जनजीवन। जो, विश्व महामारीसँगको द्वन्द्वमा केहीँ सफल बन्यो। आफ्ना सपनालाई झोलाभरी सजाएर खोपको पर्खाइमा हजारौं सपना सजाएका लाखौं 'म्यान्माली जीवन' चर्चाका अनेक कोण होलान्।
नागरिकको अधिकारमा पहिलो पूर्ण प्रजातान्त्रिक चुनाव गत नोभेम्बरमा सम्पन्न भयो। जहाँ बहुमत सीट जित्दै नेशनल लिग फर डेमोक्रेसी पार्टी र सर्वोच्च नेत्री आमा आङ सान सुकीको रोचक विजय यात्रासँगै पूर्ण प्रजातन्त्र र स्वतन्त्रताको अनुभूति गर्न प्रतिक्षारत थियौं।
वर्षाैदेखि राज्यसत्ताको दुरुपयोग र दोहोन गर्दै हुर्किरहेको सैनिक शासकको मस्तिष्क नै नराम्रोसँग खल्बलिएको थियो। म्यान्माली जनताको प्रगति र स्वतन्त्रताको सहज यात्रादेखि सैन्य तानाशाही रोइरहेको आभास हुन्थ्यो। नोभेम्बरको चुनावपछि हार स्वीकार्नुको सट्टा सैनिक सत्ता अनेकन झुटा आरोपमै अहिलेसम्म अल्झिरहेको छ। हेरौं, कतिदिनसम्म चल्छ अपराधीको अराजक यात्रा?
सैनिकले बन्दुकको बल देखाउँदै जनताको अधिकार खोस्ने प्रयास गरेको छ। देशमा एउटा डर कायम गर्ने सपना देख्छ, त्यो क्रूर शासक।
सन् १९८८ मा भएको जनआन्दोलनका नायक विद्यार्थी नेता उमिन् कोनाई भन्थें, ‘कैयौं शरीर यहीँ सडकमा न्यौछावर गरियोस्। लाखौं हाम्रा जीवनहरू जेलमा बिते। अब पनि हामी के–का लागि डराउने?’
गत फेब्रअरी १ को मिर्मिरे विहानी पख सबै–सबै सञ्चार संस्था बन्द गरियो। देशलाई बन्दी बनाउछ– त्यो क्रूर सैन्य मिन् आउ ह्लाईड। त्यो दिनको बिहान नेटर्वक थिएन। न फोन, न फेसबुक चल्यो। केही पनि चलेन। एकाएक मनमा चिसो पस्याे। कतै कुनै दुर्घटना त घटेन्? हतार–हतार बजार पुगें र रेडियो किनें।
रेडियोको आवाज खोल्दै आरएफए, भीओए, बीबीसी कुन चाहिँ भेटिन्छ, खोजिरहे। समाचारमा कुनै तथ्य र परिपक्व समाचार सुनिएन। मनमा उकुसमुकुस चिन्ता र असह्य पिडा लिएर बसें। अन्यौंलाकै बीच चिया पसलतिर लागें। निधारमा चिन्ताका अनेक धर्सा, मनका पिडाका छालसँगै तनाबै–तनाब थपियो।
अचानक बाटोमा भेटिएका साथीहरू भन्थें– किन हो आज फोनमा नेटर्वक नभएर मन उदास भयो कि कसो? उनीहरू एकप्रकारको ढुक्क, आनन्दको अनुभुति देखेर आफैप्रति अचम्म लाग्यो।
आफ्नो मन चाहीँ उदास थियो। मानाै, मेरै हातबाट सत्ता गएझैं। राष्ट्रप्रतिको चिन्ता, मनमा पिडा नै पिडा। त्यो दुखाई र त्यो राजनीतिक चासो। प्रश्नहरूले घेरिएको आफूलाई चिया पसल पु-याए। साथी-भाईहरू भेटिए र संवादमा जोडियौं।
ह्या...पत्ता लाग्यो! म्यवडी जो सैन्यको न्यूज च्यानल, जहाँबाट संकटकाल घोषणा गरियाे। एकवर्षलाई सैन्य परिषद्ले नै सत्ता चलाउने झेली घोषणाले मनै चिसो भयो। चिया पिउन जम्मा भएका हामीहरू पानी मै रोकियौं।
मौन दर्शक हुनु शिवाय केही उपाय थिएन। हामीसमक्ष सपना र भविष्यका योजनाहरू एक्कैपल्टमा टुक्रा–टुक्रा भई एकैपटक फुटेको ऐनासरी चैटा–चैटा भए।
जनता र राजनेतामाथि सैनिकले गरेको अत्याचारले नरमाईलो अनुभुति लिएर मन्द–मन्द पाईला चाल्दै आफ्नै दिनचार्य, कर्मक्षेत्रमा सुस्त–सुस्त विवशताका साथ फर्किए।
यान्गाैँ शहरमा तानाशाही सैनिक तैनाथ छ। अरु दिन भरिभराउ हुने सडकमा मानिस छैनन्। गाउँ–टोल, चोक–चोक र शहर–बजार नै शान्त छ। र, सेकेन्ड, मिनेट, घण्टा, दिन र रात पनि सुनसानमै वित्छ। बस्– कोहीँ उठ्दैनन्, कोहीँ जाग्दैनन्।
जुन्ताको बर्बर दमन पल–पलमा बढिरहेको महशुसबाहेक केही सोच्दैन– मेरो मन।
सरकारले सबै नियम उलघंन गरेको छ। निर्दोष नागरिकमाथि सैनिकले गोली बर्साउन थालेकाे एक सय दिन पूरा भएकाे छ। सैन्य तानाशाहीविरूद्ध पछिल्लो पुस्ता एकताबद्ध भएर डटेर लड्न युद्ध मैदानमा उत्रिएको छ। एकबारको जीवनलाई आहुती दिँदै हर-दिन युद्धभूमीमा सक्रिय छन्, युवा–युवती।
बाह्य छिमेकी देशहरुले समेत म्यान्मार प्रजातन्त्र पुनःस्थापन गर्न तत्कालै कुनै कदम चाल्न सकेनन्। देश र जनताको माग अनुरुप हत्यारा सैनिकसँग पलटवार गर्न तयार छ– युवा पुस्ता। बस् अग्रजहरूबाट सुझाव भने जरुरी छ।
देशमा वर्षाैदेखि सरकारी तानाशाहीविरूद्ध आवाज उठाइरहेका केएनयू, केआइए जस्ता तमाम सैन्य शक्ति एकठाउँमा एकमुठ्ठी भइ म्यान्मार राष्ट्रको स्वतन्त्रताका लागि लड्न तयार भएका छन्।