वीरगञ्जमा २ सय ८ जनाको स्वाब परीक्षण, पाँच संक्रमित थपिए

नारायणी अस्पताल वीरगञ्जकाे प्रयोगशालामा मंगलबार गरिएको २ सय ८ जनाको परीक्षणमा पर्साका पाँच संक्रमित थपिएका छन्।

परीक्षणमा पर्साका ४ पुरुष र १ महिलागरी जम्मा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतलाका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए। 

संक्रमित हुनेमा वीरगञ्ज महानगरपालिकाको ४ का १, वीरगञ्जकै ठेगान नखुलेका १, पर्सागढीका १, बहुदरामाईका २ जना संक्रमितहरु थपिएका छन्। 

उनीहरुको सिटी भ्यालु १५ देखि ३० सम्म रहेको छ। मंगलबार कुल २०८ जनाको स्वाब परिक्षण गरिएको थियो जसमध्ये पर्साका १५२ जना रहेका थिए। 

साउनको सुरुवातबाट कोरोना संक्रमण बढ्नेक्रम सुरु भएको पर्सामा पछिल्लो पटक  संक्रमितको संख्यामा कमी आएपनि जोखिम भने कम भएको छैन। 

पर्सामा सोमबार लगभग ४० जनाको मात्र कोरोना परीक्षण गर्दा एक जनापनि संक्रमित थपिएका थिएनन्। 

तर, मंगलबार परिक्षणको दायरा बढाएर १ सय ५२ जनाको परीक्षण गरिएपछि पाँच जना संक्रमित थपिएका हुन्। 

प्रकाशित मिति: : 2020-09-16 11:43:42

प्रतिकृया दिनुहोस्