विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनालाई विश्वव्यापी महामारीको संज्ञा दिएको आज शुक्रबार अर्थात ११ सेप्टेम्बरमा ६ महिना पुरा भएको छ।
डब्ल्यूएचओले ११ मार्चमा यसलाई महामारी घोषणा गरेको थियो।
यसअवधिमा कोरोनाको भ्याक्सिन निर्माण गर्ने कार्यमा विकसित देशहरू जुटेका छन्। तर, अहिलेसम्म कसैलाई सफलता हात लागेको छैन।
विश्वमा अहिले कोरोनाको २ करोड ८३ लाख ५५ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन्। यसमा ९ लाख १४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। अवस्था यस्तै रहने हो भने आउँदो साता मर्नेको संख्या १० लाख नाघ्ने सम्भावना प्रबल छ।
यसअवधिमा कोरोनाबाट संक्रमित मात्र भएका छैनन्, यसलाई जितेर घर फर्किनेको संख्या पनि २ करोड ३ लाखभन्दा बढी पुगेको छ। अझैं पनि विश्वमा कोरोनाबाट ७० लाख बढी मानिस संक्रमित छन्। यसमा ६० हजारभन्दा माथि मानिसहरूको अवस्था गम्भीर रहेको बताइएको छ।
चीनको उहान शहरमा डिसेम्बरको अन्त्यमा देखिएको कोरोना संक्रमण ३ महिनाभित्र विश्वव्यापी बनेको थियो। यसमा युरोप तथा अमेरिकाले लापरवाही गर्दा ठूलो समस्या झेल्नु पर्यो।
अमेरिकामा अहिले पनि मर्नेको संख्या रोकिएको छैन। विश्वको सबैभन्दा बलियो राष्ट्र मानिएको अमेरिका सबैभन्दा बढी कोरोना संक्रमित तथा संक्रमणबाट मर्ने देशको सूचिमा अग्रस्थानमा छ।
अमेरिकामा मात्र ६५ लाखभन्दा बढी संक्रमित फेला परेका थिए। यहाँ १ लाख ९६ हजारभन्दा बढीको निधन भएको छ। अमेरिकापछि भारत विश्वको दोस्रो संक्रमित देश हो।
चीनपछि विश्वमा सर्वाधिक जनसंख्या भएको भारतमा गत सातादेखि दैनिक ९० हजारभन्दा बढी संक्रमित फेला पर्न थालेका छन्। यहाँ ४५ लाखभन्दा बढी मानिस संक्रमित देखिएका छन्। मर्नेको संख्या भारतमा ७६ हजार माथि पुगेको छ। यो संख्या ब्राजिलभन्दा कम हो। ब्राजिलमा १ लाख २९ हजार बढी मानिस कोरोनाका कारण मरेका छन्। अमेरिकापछि ब्राजिलमा सबैभन्दा बढी मानिसकोे निधन भएको हो।
तर, भारतमा जसरी कोरोनाको संक्रमण बढिरहेको छ, यसले आउँदो महिना ब्राजिललाई पछाडि छोड्ने सम्भावना पनि उत्तिकै छ।
रुसमा पनि १० लाख बढी मानिस संक्रमित भएका छन्। यहाँ मर्नेको संख्या केही कम छ। रुसमा १८ हजार मानिस मात्र मरेका छन्।
रुसले गत महिना कोरोनाको भ्याक्सिन ‘स्पुटिनिक भी’ सार्वजनिक गरेको थियो। तर, यो भ्याक्सिनको विश्वसनीयतामा डब्ल्यूएचओले प्रश्न उठाइसकेको छ। मानवमाथि रिसर्च नै नभई सार्वजनिक गरिएको भ्याक्सिनले उच्च जोखिम निम्त्याउने डब्ल्यूएचओको भनाई छ।
डब्ल्यूएचओका निर्देशक टेड्रोस गेब्रयेससले कोरोनाविरूद्धको लडाईंमा विश्वको नेतृत्वपंक्ति एकजुट नभएका कारण जोखिम बढेको बताएका छन्। उनले यसलाई चिन्ताको विषय भनेका छन्।
कोरोनालाई महामारी घोषणा गरेको ६ महिना पुरा भएपछि टेड्रोसले भनेका छन्, ‘हामी एकजुट भएनौं। विभाजित भयौं। यो सबैभन्दा चिन्ताजनक कुरा हो। हामी सबै मिलेर मात्र भाइरसलाई हराउन सक्छौं। तर, एकजुट नहुँदा भाइरसले फैलिने अवसर प्राप्त गर्यो।’