चैत्र २५ देखि ३० सम्म महाधिवेशन गर्ने निर्णयसहित सकियो नेकपा स्थायी कमिटी बैठक

चैत्र २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)स्थायी कमिटीको बैठक समापन भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको स्थायी कमिटी बैठकले कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय समेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

बैठकको शुरुमा संक्षिप्त सम्वोधनपछि पुष्पकमल दाहाल प्रचण्डलाई बैठक सञ्चालनको जिम्मा लगाएर नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका थिए।

ओली बाहिरिएपछि बैठकको अध्यक्षता प्रचण्डले गरेका थिए। 
गत मंसिरमा कार्यकारी अध्यक्षको जिम्मा पाएका प्रचण्डले बैठकको अध्यक्षता गर्न नपाएको गुनासो गर्दै आएका छन्।

सहमति खोज्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले महाधिवेशनसम्म प्रचण्डलाई पार्टी सञ्चालनको जिम्मा दिन प्रस्ताव गरेको थियो। 

असार १० गते शुरू भई पटक-पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक पछिल्लोपटक साउन ६ गने छोटो समयका लागि बसेको थियो।

एमसीसी सम्झौता परिमार्जनसहित पारित गरिने

बैठकले विकास र सहयोगसम्बन्धी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता परिमार्जनसहित संघीय संसद प्रतिनिधिसभाबाट पारित गर्ने निर्णय गरेको छ। 

वरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वको एमसीसी अध्ययन कार्यदलले दिएको सुझावअनुसार परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

नेपाल सरकार र एमसीसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा सम्झौता भएको थियो। एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड अमेरिकी डलरमा अन्तरदेशीय विद्युत् प्रसारण लाइन र सडक मर्मत परियोजना संचालन गर्नका लागि एमसीसी सम्झौता भएको थियाे।

सम्झौताका कतिपय बुँदालाई लिएर विवाद हुँदा लामो समयदेखि संसदमा एमसीसी अनुमोदनको विचाराधीन रहेको थियो ।

 

प्रकाशित मिति: : 2020-09-11 16:41:43

प्रतिकृया दिनुहोस्