त्रिविमा वरियता मिचेर कार्यकारी निर्देशक नियुक्ति गरेकाे भन्दै अनशन बस्ने डा. केसीकाे चेतावनी

डा. गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलिय कार्यकर्ता नियुक्ति गरेको आरोप लगाएका छन्।

जुम्लामा रहेका डा. केसीले बिहीबार विज्ञप्ति जारी गर्दै त्रिवि शिक्षण अस्पतालमा वरिष्ठता मिचेर कार्यकारी निर्देशकमा नियुक्ति गरिएको भन्दै आपत्ति जनाएका हुन्।

त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा त्रिवि कार्यकारी परिषद्ले अर्थोपेडिक सर्जन प्रा.डा. दिनेश काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ। तर, यसलाई कुनै हालतमा स्वीकार्य नहुने उनले बताएका छन्। 

विज्ञप्तिमा भनिएको छ, ‘नियुक्ति वरिष्ठताका आधारमा गर्न हामीले बारम्बार माग राख्दै आएका थियौं। यसरी सबै पदमा पार्टी कार्यकर्ताहरु भर्ती गर्दै जाने हो भने त्रिवि शिक्षण अस्पतालजस्तो देशकै अग्रणी स्वास्थ्य र शिक्षण संस्था धरासायी हुने निश्चित छ। त्यसैले दलीय आधारमा भएका सबै नियुक्ति तत्काल खारेज गरी वरिष्ठताका आधारमा नियुक्ति गर्न सरकारको ध्यानकर्षण गराउछु।’

उनले आफ्नाे पूरा नभए कुनैपनि बेला अनशन बस्न सक्ने चेतावनी समेत दिएका छन्।

उनका मागहरु:

१. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गरियोस्। प्रधानमन्त्रीले नाजायज रुपमा रोकिराखेको उक्त प्रतिस्ठानको स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गरियोस्। 

गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गरियोस्। प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस्।

२. हामीसँग  २०७५ साउन  १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।

३. त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस्। विश्वबिद्यालय, काउंसिल र प्रतिस्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शि ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस्।

४. बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिस्चित गरियोस्। 

५. मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गरियोस्।  कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गरियोस्।  

प्रकाशित मिति: : 2020-09-10 20:05:56

प्रतिकृया दिनुहोस्