नेकपामा अब गुट चलाउन, फेसबुक र ट्वीटरमा नेतालाई गाली गर्न नपाइने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपाका नेता-कार्यकर्ताले गुटका आधारमा गतिविधि गर्न र सामाजिक सञ्जालमार्फत आरोप प्रत्यारोप लगाउन नपाउने भएको छ।

 आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्ने स्वतन्त्रताले विवाद बढ्दै जाँदा भिन्न पार्टी जस्तो गरी गुटगत गतिविधि हुँदै आएकोले त्यसलाई नियन्त्रण गर्ने प्रस्ताव अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अघि सारेका हुन्।

स्थायी कमिटीको बैठकका लागि तयार पारिएको प्रस्तावमा भनिएको छ, ‘पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्न जिम्मेवार कमरेडहरु र सम्वद सबैलाई यो बैठक निर्देशित गर्दछ।’

 कार्यदलको प्रतिवेदनका आधारमा तयार पारेको प्रस्तावलाई भोलि शुक्रबार बस्ने स्थायी कमिटीको बैठकले पास गर्ने छ।

स्थायी कमिटीको बैठकअगावै बाहिरिएको अध्यक्षद्वय केपी ओली र प्रचण्डको संयुक्त प्रतिवेदनमा कार्यकर्ताहरुले नेताविरुद्ध लेख्न नपाउने भनिएको छ। 

मुख्य गुट नै चलाइ रहेका अध्यक्ष ओली र दाहालले गुटले पार्टीलाई नै विस्थापित गर्न खोजेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन्। गत असार १० गते सुरु भएको स्थायी समिति बैठकले निरन्तरता नपाउँदा नेकपा विभाजनको संघारमा पुगेको थियो।

अध्यक्ष ओलीले बालुवाटारबाटै आफ्नो गुटलाई परिचालन गर्दै आएका थिए भने अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि भिन्नै पार्टीको गुटका गतिविधि अघि बढाएका थिए।

अध्यक्षद्वयको प्रस्तावमा भनिएको छ, ‘समग्र पार्टी र तीनै तहको सरकारको काममा समेत फैलिँदै गएको गुटबन्दीको असरलाई विधि, पद्दति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने र सवैप्रकारका अनेकता, अराजकता र अनुशासनहीनता एवं गुटबन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने निर्णय गर्दछ।’

नेकपामा तीन ठूला गुट र अन्य सहायक गुटहरु सधैँ सक्रिय छन्। पूर्वमाओवादी समर्थित गुटको नेतृत्व दाहालले गर्दै आएका छन् भने पूर्व एमालेभित्र रहेको ओली र नेपाल गुट पनि उत्तिकै सशक्त गुटका रुपमा रहेका छन्।

‘संस्थागत प्रणाली र वैधानिक व्यवस्थालाई चुनौती दिने प्रवृति झाँगिदै जाँदा पद्धतिहीनता, गुटबन्दी, अराजकता र अनुशासनहिनता फैलिँदै गयो। विभिन्न सन्दर्भमा नेतृत्व तहबाट समेत गम्भीर प्रकृतिका गल्ति, कमजोरीहरु हुन पुग्यो,’ कार्ययोजनाम भनिएको छ।

त्यस्तै सामाजिक सञ्जालमा दुई वा तीन पक्षमा विभाजित भएर अर्को पक्षमाथि आरोप लगाउने, खुइल्याउने जस्ता कार्यलाई पनि नियन्त्रण गर्ने भनिएको छ।

प्रस्तावमा लेखिएको छ, ‘पार्टीको नीति, नेता र कार्यकर्ताका विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्नेर पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाईकासाथ रोक्न जिम्मेवार कमरेडहरु र सम्बद्ध सबैलाई निर्देशित गर्दछ।’

प्रकाशित मिति: : 2020-09-10 12:23:56

प्रतिकृया दिनुहोस्