पर्सामा विभिन्न आइसाेलेसनबाट ५७ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
वीरगञ्जका विभिन्न अस्पतालको आइसोलेसन, होम आइसाेलेसन, सामुदायिक आइसोलेसनमा उपचाररत् संक्रमितहरूमध्ये ५७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
कोरोना संक्रमणमुक्त हुनेहरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सर्वसाधरण गरी ५७ जना रहेका छन्।
जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साका अनुसार अस्थाई कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरबाट १३, गण्डक अस्पतालबाट ११, वीरगञ्जको होटेल बिजय ज्योतिबाट ११, होटेल रानी पोखरीबाट ३ जना काेराेना संक्रमणमुक्त भएका छन्।
त्यसैगरी नारायणी एफएमका ५ जना कर्मचारी पनि कोरोना संक्रमणमुक्त भएका छन्।
उता, पर्साको पोखरीया नगरपालिकाको होम आइसाेलेसनबाट ६ , पोखरीया अस्पतालबाट २ , बहुदरामाई नगरपालिकाका ५ र पर्सागढी नगरपालिकाको मानवा अवस्थित सामुदायिक आइसाेलेसनबाट ११ जना कोरोना संक्रमणमुक्त भएको जिल्ला पर्सा कार्यालयका प्रशासकिय अधिकृत विनयकुमार श्रीवास्तवले बताए।
बीरगञ्जमा कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या १४ सय ५९ जना पुगेको छ।
स्थानिय प्रसासनले दिएको जानकारी अनुसार पर्सामा आइतबारसम्म २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएका छन्। जसमा १ हजार ८ सय ६५ पुरुष र ५ सय ३६ महिला रहेका छन्।