सरकारले वीरलाई कोभिड—१९ बिशेष अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ।
स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले वीर अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार बिफ्रिङमा जानकारी दिए।
नेपालकै पुरानो वीर अस्पताल देशभरमा धेरै बिरामीको उपचार गर्ने अस्पतालमा पर्छ। कम खर्चमा सबैजसो रोगको उपचार हुने भएकाले सर्वसाधारणको चाप यहाँ बढी छ।
तर, कोभिड—१९ का कारण वीरमा आउने बिरामीको संख्या कम भएको हुँदा त्यहाँ आउने बिरामीलाई राष्ट्रिय ट्रमा सेन्टरको एउटा तलाबाट सेवा दिने व्यवस्था मिलाउन लागेको उनले बताए।
पछिल्लो समय कोरोना भाइरस महामारीको समयमा पनि वीर अस्पतालबाट सर्वसाधारण बिरामीले उपचार लिइरहेका थिए।
सरकारले विभिन्न शिक्षण संस्थाबाट स्वास्थ्य शिक्षाका विभिन्न विधामा अध्ययनरत विद्यार्थीलाई कोरोना रोकथाम तथा नियन्त्रणको काममा खटाउने भएको छ।
यस्ता विद्यार्थीलाई स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागले आवश्यकताअनुसार कोभिड १९ रोकथामका लागि स्वयंसेवकको रुपमा खटाउने निर्णय भएको प्रवक्ता गौतमले जानकारी दिए।
वीर अस्पतालका डाक्टर र नर्ससहित ७१ जनामा काेराेना संक्रमण देखिएछि बुधबार र बिहीबारका लागि ओपीडी सेवा बन्द गरिएकाे थियाे।
७१ जनामा संक्रमण नै पुष्टि भएको र ७५ जना क्वारेन्टाइनमा बस्नु परेकाले सेवा प्रभावित भएको छ।
त्यसमा पनि ल्याब, फार्मेसी, आकस्मिक कक्ष र वार्डमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण देखिएकाले सेवा नै बन्द गर्नु परेको छ।
वीर अस्पतालमा १६ सय जना डाक्टर, रेजिडेन्ट डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन्।
कोरोना संक्रमणकै कारण जनशक्ति अभाव हुँदा वीरमा अहिले चारवटा वार्ड सञ्चालनमा छैनन्। ल्याबका ६ कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि ल्याब सेवा बन्द छ। कार्डियोलोजी (मुटुरोग विभाग) खुला छैन। सोमबार न्यूरो र क्यान्सर वार्डका बिरामीमा पनि कोरोना पुष्टि भएपछि ती वार्ड पनि बन्द भएका छन्। फार्मेसीका कर्मचारीलाई पनि संक्रमण देखिएपछि त्यो समेत बन्द छ। अस्पताल भर्ना भएका बिरामीलाई औषधि किन्न बाहिरै जानुपर्ने अवस्था छ।