उपत्यकामा एक हप्ता थपियो निषेधाज्ञा, केकेमा खुकुलो भयो ?

काठमाडौं उपत्यकामा कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञालाई थप एक हप्ता निरन्तरता दिने निर्णय भएको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बुधबारको बैठकले संक्रमणको जोखिम बढ्दै गएकोले थप एक हप्ता निरन्तरता दिनुपर्ने निर्णय गरेको हो। 

तर निषेधाज्ञाको मोडालिटीमा थोरै परिवर्तन गरिएको छ। बिहान ११ बजेसम्म किनमेल र हिड्डुलका लागि खुकुलो गरिएको छ। बैंकलगायतका नियमित सेवा प्रदायक संस्थाहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखेर सेवा दिन सक्ने व्यवस्था मिलाइएको छ। तर  होटल, रेष्टुरेन्ट, फुटपाथ पसल भने पूर्ण रूपमा बन्द गरिनेछ।

 नेपाल उद्योग वाणिज्य संघ, स्वास्थ्य क्षेत्र, स्थानीय निकाय लगायत सरोकारवालासँग परामर्श गरेर निषेधाज्ञाको मोडालिटी थोरै परिवर्तन गरिएको हो। मंगलबार तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच भर्चुअल बैठक भएको थियो।  

उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले  भदौ २ गतेको पहिलोपटक एक हप्ताका लागि निषेधाज्ञा जारी गरेका थिए। भदौ १० गतेको निर्णयानुसार यही भदौ १७ गते राति १२ बजेसम्मका लागि उक्त आदेशलाई निरन्तरता दिइएको थियो। अहिले काठमाडौंमा दैनिक चार सयको हाराहारीमा संक्रमित थपिएका छन्। 

संक्रमण तीव्र हुँदै गएपछि लकडाउन खोलिएको दुई महिनापछि सरकारले फेरि निषेधाज्ञा जारी गरेको हो।  

अहिले उपत्यकासहित मुलुकका ४३ जिल्लामा निषेधाज्ञा जारी  छ। सरकारले सुरुमा चैत ११ गतेदेखि झन्डै चार महिना लकडाउन गरेको थियो। 

प्रकाशित मिति: : 2020-09-02 18:12:02

प्रतिकृया दिनुहोस्