केन्द्रीय कारागारका एक कैदीको कारोना संक्रमणबाट मृत्यु

केन्द्रीय कारागारका एक कैदीको कारोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक दीर्घ पोखरेलका अनुसार कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषको मृत्यु भएको हो।

‘उनमा क्षयरोग थियो भने मानसिक रुपमा पनि समस्या थियो’, पोखरेलले भने, ‘पछिल्लो समय मेगा अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो।’

पोखरेलका अनुसार १० भदौमा कोरोना भाइरस संक्रमण परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो। चार दिनपछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

केन्द्रीय कारागार सुन्धारामा आइतबार एकै पटक थप ३५ जना कैदीबन्दी र ५१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियाे।

यसअघि १५ जना कैैदीबन्दीमा कोरोना पुष्टि भएको थियो। योसँगै केन्द्रीय कारागारमा संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको कारागार व्यवस्थापन विभागले जनाएको छ।

त्यस्तै, कारागारको सुरक्षामा खटिएका ५६ जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको छ। आइतबार ५१ र त्यसअघि ५ जनामा संक्रमण पुष्टि भएको हो।

कारागारको महिला सेलमा गत साता एकैपटक सयजनाभन्दा बढीमा कोरोनासँग मिल्दो लक्षण देखिएको थियो। त्यसपछि परीक्षण गर्दा पाँचजनामा संक्रमण पुष्टि भएको हो।

केन्द्रीय कारागारमा तीन हजार एक सय कैदीबन्दी छन्। 
 

प्रकाशित मिति: : 2020-09-01 13:18:23

प्रतिकृया दिनुहोस्