सरकारले उपत्यकाभित्रका होटललाई आइसोलेसन सेन्टर बनाउने

सरकारले उपत्यकाभित्रका होटललाई आइसोलेसन सेन्टर बनाउने भएको छ।

उपत्यकामा संक्रमितको संख्या दैनिक ४ सय भन्दा बढी भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होटललाई आइसोलेसन सेन्टरको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो। 

स्वास्थ्य सेवा विभागले उपत्यकाभित्रका होटललाई आइसोलेसन बनाउन सूचीकृत गर्ने र होटल आइसोलेसन सम्बन्धि छुट्टै निर्देशिका जारी गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। 

‘मन्त्रालयले तोकेका आइसोलेसन केन्द्रहरुमा बेड अभाव भएमा होटल प्रयोग गर्न लागिएको हो,’ उनले भने, ‘संक्रमित व्यक्तिहरु आफ्‍नै खर्चमा विभागले व्यवस्था गरेको होटल वा अन्य होटलमा बस्न चाहेमा स्वीकृत दिनेछ।’ 

 विभागले एक जना व्यक्ति बराबर दुई हजार रुपैयाँ भुक्तानी गरेर संक्रमितलाई राख्‍ने व्यवस्था गरेको डा गौतमले बताए। 

उपत्यका बाहिर हरेक प्रदेशको समाजिक विकास मन्त्रालयमार्फत् होटल चयनको निर्णय भएको डा गौतमले बताए। 

यस्तै उनले क्वारेन्टाइन, आइसोलेसन र अस्पतालबाट संक्रमित भाग्नु खतरा रहेको रहेको बताए 

‘आफू, समाज र आफ्ना परिवारलाई सङ्क्रमणबाट जोगाउनका लागि नभाग्नुहोस्। अस्पताल, क्वारन्टाइन र आइसोलेसनबाट भाग्नु भनेको आफैँ आफ्नो परिवार समाजलाई संक्रमणको जोखिममा राख्नु हो’, उनले भने। 

उनले सङ्क्रमण फैलन नदिनका लागि संक्रमितको लागि क्वारेन्टाइन, अस्पताल र आइसोलेसन नै एक मात्र एउटा उपाय रहेको उल्लेख गरे।

यस्तै उनले अस्पताल, क्वारन्टाइन र आइसोलेनमा आफूहरुको कमजोरी रहेको पनि सहर्स स्वीकार गरे। 

‘घरको जस्तो खानपिन र बस्नेको सुविधा पाउँदैनौ, त्यो पक्कै नै हामीलाई सहज हुँदैन,’ उनले भने, ‘अहिलेको परिस्थिति त्यस्तो ठाउँमा बस्नु वाध्यता हो।’

उनले सेवा सुविधा सुधार गर्दै जान जिम्मेवार निकायलाई मन्त्रालयले अनुरोध गरिसकेको बताए।

प्रकाशित मिति: : 2020-08-30 23:38:00

प्रतिकृया दिनुहोस्