विश्वमा कोरोना भाइरसको संक्रमितको संख्या अढाई करोड नाघेको छ। ‘वर्ल्ड ओ मिटर’ का अनुसार शनिबार रातीसम्म कोरोनाको संक्रमणको संंख्या २ करोड ५१ लाख ४३ हजाभन्दा माथि पुगेको हो।
कोरोनाका कारण हालसम्म ८ लाख ४५ हजार ६ सय २८ जनाको निधन भएको छ। यसमा कोरोना मुक्त हुनेमा १ करोड ४ लाख ८० हजारभन्दा माथि छन्।
संक्रमण र मर्नेको संख्यामा अमेरिका अहिले पनि पहिलो नम्बरमा छ। पछिल्लो समय अमेरिका, ब्राजिल र भारतमा मात्र संक्रमितको संख्या ५३ प्रतिशत पुगेको छ।
अमेरिकामा हाल ६१ लाख ३६ हजार ७ सय ४८ जना संक्रमित छन्। जसमा १ लाख ८६ हजार ८ सय २५ जनाको निधन भइसकेको छ। पछिल्लो २४ घण्टामा अमेरिकामा ९ सय २४ भन्दा बढी मानिसको निधन भएको थियो।
यसपछि ब्राजिलमा संक्रमितको संख्या ३८ लाख ४६ हजार ९ सय ६५ पुगेको छ। यहाँ पनि मर्नेको संख्या १ लाख २० हजार ४ सय ९८ छ। भारतमा संक्रमितको संख्या ३५ लाख ३९ हजार ७ सय १२ पुगेको छ। यहाँ पनि मर्नेको संख्या ६३ हजार ६ सय ५७ पुगेको छ।
अहिले विश्वमा एकै दिन मर्नेको संख्या सबैभन्दा बढी भारतमा छ। भारतमा पछिल्लो २४ घण्टामा ९ सय ४४ जनाको निधन भएको थियो। दोस्रोमा अमेरिका छ भने तेस्रोमा ब्राजिल। ब्राजिलमा ९ सय ४ भन्दा बढीले ज्यान गुमाएका छन्।
विश्वमा कोरोना संक्रमणको पहिलो घटना ३१ डिसेम्बरमा गणना गरिएको थियो। यसपछि संक्रमितको संख्या एक करोड पुग्न १ सय ८० दिन लागेको थियो। तर, पछिल्लो समय ४३ दिनमै संक्रमितको संख्या १ करोड नाघेको छ। अझ यसमा पछिल्लो १९ दिनमा विश्वभरि ५० लाख संक्रमित बढेका हुन्।
आउँदो केही दिनमा संक्रमित र मर्नेको संख्या द्रुतगतिमा थपिन सक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको छ। संगठनले यसअघि नै युरोपमा जाडोयाम सुरु भएपछि कोरोनाको प्रभाव झन् बढ्न सक्ने चेतावनी दिएको थियो। अहिले पनि विश्वमा ६८ लाख बढी संक्रमित छन्। यसमा ६१ हजार बढी मानिसको अवस्था गम्भीर रहेको बताइएको छ।