कोरोना संकटले ‘दिवालिया’ बने होटलका साहुजी, बैंकको ऋण थपिएको थपियै !

प्रदीपकुमार साहले जनकपुरधाम उपमहानगरपालिका–९ रामानन्द चोकमा गत फागुन ९ गते नयाँ होटेल ‘परफेक्ट प्लाजा’ उद्घाटन गरे । ५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको होटेलबाटै कमाएर घर परिवारको पालनपोषणसहित जीविकोपार्जन गर्न सकिने सपना देखेका थिए उनले ।

तर होटल सञ्चालनमा आएको १ महिनापछि नै चैत्र ११ गतेदेखि सरकारले कोरोना संक्रमण (कोभिड–१९) रोकथामका लागि लकडाउन घोषणा गर्‍यो । जसका कारण उनको होटल पनि बन्द भयो । होटल बन्द भएर कमाइ नहुँदा बैंकबाट लिएको ऋणको मासिक ब्याज र किस्ता बुझाउन समेत समस्या भएको छ ।

‘होटल बन्द भए पनि बैंकबाट लिएको ऋणको मासिक ब्याज नै ३ लाख रुपैयाँ जसरी पनि तिर्नु नै परेको छ,’ होटल सञ्चालक साहले भने, ‘होटेलमा कूल २२ जना कर्मचारी रहेकोमध्ये धेरैजसोलाई बिदा दिए पनि ५ जना कर्मचारीसहित बिजुली बिल र अन्य खर्च गरेर मासिक १ लाख रुपैयाँभन्दा बढी खर्च भइरहेको छ ।’ होटेल व्यवसायी संघ धनुषाका अध्यक्ष सुरेन्द्र भण्डारीले पनि रामानन्द चोकमा डेढ करोड रुपैयाँको लागतमा फागुन २५ गते नयाँ होटल ‘भान्सा घर’ उद्घाटन गरेका थिए । घर भाडा लिएर बैंकिङ ऋणमा नयाँ होटल सञ्चालन गरेका उनी पनि लकडाउनका कारण समस्यामा परेका छन् ।

१ वर्षअघि उनले महावीर चोकस्थित होटल शुभम् सञ्चालन गरेका थिए । २ नम्बर प्रदेशको अस्थायी राजधानी समेत जनकपुर भएको र नेपाल सरकारले समेत भ्रमण वर्ष घोषणा गरेका कारण उनले नयाँ होटलमा लगानी गरेका थिए । 

प्रकाशित मिति: : 2020-08-28 12:01:17

प्रतिकृया दिनुहोस्