बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका ७ कि ७० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार वृद्धाको बिहीबार बिहान साढे १० बजे कोभिड आईसीयू कक्षमा उपचारका क्रममा मृत्यु भएको हाे।
उनी दम बढेपछि यही भदौ ३ गते नेपालगञ्जको नर्सिङ होममा भर्ना भएकी थिइन्। पीसीआर जाँच गर्दा पोजेटिभ देखिएपछि कोहोलपुर पठाइएको थियो। स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो।
महिलाको मृत्युसँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या ६ पुगेको छ। ६ जनामध्ये नेपालगञ्जका तीनजना, नरैनापुर, कोहलपुर र बैजनाथका एक/एकजनाको मृत्यु भएको हो। बुधबार पनि बाँकेमा ३७ वर्षीय पुरुषको मृत्यु भएको थियो।
बाँकेमा ९ जना चिकित्सकसहित ४० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित
बाँकेमा ९ जना चिकित्सकसहित ४० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएकाे छ।
भेरी अस्पतालका चिकित्सक डा राजन पाण्डे र डा संकेत रिसाल कोरोना संक्रमित छन्। बिहीबार पनि भेरी अस्पतालका दुई जना चिकित्सकमा कोरोना देखिएको छ।
कोभिड– १९ संकट व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँके जिल्लामा स्वास्थ्य सेवाका ४० जना कोरोना संक्रमित भएका छन्। जसमध्ये ९ जना चिकित्सक, १७ जना नर्स, एक जना ल्याबकर्मी, ६ जना पाराडिक्स, ७ जना हेल्पर रहेका छन्।
संक्रमित ४० जनामध्ये भेरी अस्पतालका ४ जना चिकित्सक, १ नर्स, २ हेल्थ पर्सन गरी ७ जना र नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर र नेपालगन्ज मेडिकल कलेजका ५ जना चिकित्सकसहित ३३ जना कोरोना संक्रमित भएका हुन्।