भरतपुर अस्पतालको आइसोलेसन वार्डबाट मंगलबार बिहान भागेका एक संक्रमितलाई प्रहरीले फेला पारेको छ।
युवक बुधबार बिहान साढे १० बजेतिर नुवाकोटको बेलकोटगढी नगरपालिका ५ मा भेटिएको चितवन प्रहरीले जनाएको छ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाले नुवाकोटको बेलकोट–५ मा स्थानीय प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताए।
‘प्रहरीको चेकिङको क्रममा उनी फेला परेका हुन्। साइकलमा त्यहाँ पुगेको भन्ने जानकारी आएको छ,’ उनले भने।
भरतपुर अस्पतालले निकालेको सूचनामा भने उनी गल्छीदेखि दुई किलोमिटर भित्र पक्राउ परेको उल्लेख छ।
उनलाई नुवाकोटमै आइसोलेसनमा राख्नको लागि समन्वय गरिएको प्रवक्ता थापाले बताए।
भरतपुर महानगरपालिका १२ ठेगाना भएका १९ वर्षीय युवकलाई संक्रमित प्रमाणित भएपछि भदौ ६ गते अस्पताल ल्याइएको थियो। उनी चोरी आरोपमा प्रहरीको नियन्त्रणमा रहेका बेला संक्रमण पुष्टि भएको थियो।
उनको कोरोना रिपोर्ट पोजिटिभ आएपछि भदौ ६ गते श्रीमतीको जमानीमा छाडेर भरतपुर अस्पताल पठाइएको थियो।