काेराेना संक्रमणबाट थप ६ जनाकाे मृत्यु भएकाे छ। मंगलबार र बुधबार बारामा दुई, ललितपुर, काभ्रे, बाँके र धनगढीमा एक एक जनाकाे मृत्यु भएकाे हाे।
नारायणी अस्थायी वीरगञ्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचार गराइरहेका बाराका थप दुई जना कोरोना संक्रमितको मंगलबार राति मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका–१ निवासी ७० वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका १ छतवाका ४२ वर्षीय पुरुष रहेको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले बताए ।
डा चौरसियाका अनुसार ७० वर्षीय पुरुषमा श्वासप्रश्वास, निमोनिया, उच्च रक्तचापलगायतको समस्या देखिएको थियो । गत भदौ २ गते भर्ना भएका ती वृद्धको मंगलबार राति ८ बजेर ५ मिनेटमा मृत्यु भएको डा चौरसियाले बताए ।
यसैगरी छतवाका ४२ वर्षीय पुरुषको मंगलबार राति पौने ११ बजेको मृत्यु भएको हो । डा चौरसियाका अनुसार मिर्गौलाका बिरामी रहेका ती पुरुष मंगलबार नै कोरोना अस्पतालमा भर्ना भएका थिए । यसअघि मंगलबार बिहान बाराकै दुई जना संक्रमितको नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा मृत्यु भएको थियो ।
यता पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको छ ।
गत साउन २३ गते पाटन अस्पतालमा भर्ना भएका काठमाडौंका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।
मंगलबार राति नै सूर्यविनायक नगरपालिका–८ दोकाचाकी कोरोना संक्रमित ५३ वर्षीया महिलाको मृत्यु भएको छ।
धुलिखेल अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको नगरपालिकाको सामाजिक विकास समिति संयोजक एवं वडाध्यक्ष किरण थापाले जानकारी दिए ।
गत साता कोरोना संक्रमण पुष्टि भएकी ती महिलालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । थाइराइडको उपचारका लागि गएकी ती महिलामा अस्पतालमै संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ।
यता बाँकेमा पनि कोरोना संक्रमणबाट ३७ वर्षीय पुरुषको मृत्यु भएको छ।
मंगलबार राति नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।
नेपालगञ्जका ३७ वर्षीय पुरुषको दुवै फोक्सोमा निमोनिया भएपछि भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो।
बिहान १० बजे भर्ना गरिएका उनको ११ बजे स्वाव लिइएको थियो। भोलिपल्ट ९ गते दिउँसो तीन बजे कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।
मेडिकल कलेजमा उपचार रहेका उनका अवस्था बिग्रिँदै गएपछि नेपालगञ्जबाट भेन्टिलेटरसहित कोहलपुर मेडिकल कलेजमा सारेर उपचार भइरहँदा मंगलबार राति एक बजेर ३० मिनेटमा मृत्यु भएकोजिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए।
त्यसैगरी कोरोना संक्रमण पुष्टि भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका एक बिरामीको बुधबार बिहान मृत्यु भएको छ ।