बाँकेमा थप एक कोरोना संक्रमितकाे मृत्यु, मृतक पाँच पुगे

फाइल तस्वीर

बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ।

मंगलबार राति नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

नेपालगञ्जका ३७ वर्षीय पुरुषको दुवै फोक्सोमा निमोनिया भएपछि भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो।

बिहान १० बजे भर्ना गरिएका उनको ११ बजे स्वाव लिइएको थियो। भोलिपल्ट ९ गते दिउँसो तीन बजे कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।

मेडिकल कलेजमा उपचार रहेका उनका अवस्था बिग्रिँदै गएपछि नेपालगञ्जबाट भेन्टिलेटरसहित कोहलपुर मेडिकल कलेजमा सारेर उपचार भइरहँदा मंगलबार राति एक बजेर ३० मिनेटमा मृत्यु भएकोजिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए।

याेसँगै बाँकेमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ५ पुगेकाे छ।  

यसअघि नरैनापुर, बैजनाथ, कोहलपुर र नेपालगञ्जकै एक-एक जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।

थप ६ जना डिस्चार्ज 

आज बुधबार ६ जना डिस्चार्ज हुँदैछन्। साउन २८ गते कोरोना पुष्टि भएका उनीहरु होटल र खजुरास्थित कोरोना विशेष अस्पताल रहेका थिए।

बाँकेमा अहिलेसम्म ८ सय ४४ जना संक्रमित भएका छन्। त्यसमा ५ जनाको मृत्यु भएको छ। ६ सय ६० जना डिस्चार्ज भएका छन्। एक सय ७९ जना उपचारमा रहेका छन्।

प्रकाशित मिति: : 2020-08-26 07:08:06

प्रतिकृया दिनुहोस्