बितेको २८ घण्टामा देशभर कोरोनाभाइरसबाट थप ७ जनाको ज्यान गएकाे छ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ३ तथा सिरहा, पर्सा, धनुषा, र रुपन्देहीका १/१ जना गरी ७ जनाकाे ज्यान गएकाे बताएका हुन्।
योसँगै देशभर मृतकको कुल संख्या १६४ पुगेको छ।
कोरोना भाइरस संक्रमणका कारण सोमबार पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको थियाे। उपचाररत काठमाडाैंका ७८ वर्षीय पुरुष र धनुषाका ७६ वर्षीया महिलाको मृत्यु भएको हाे।
यता, बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।
काठमाडौं घर भएका ६६ वर्षीय पुरुषको मृत्यु भएको छ। मृतक निमोनियाबाट समेत ग्रसित रहेका थिए।
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत २२ वर्षीय युवाको मृत्यु भएको छ।
सिराहाको लाहान गोविन्दपुर बस्ने युवाको उपचारका क्रममा सोमबार अपरान्ह ३ बजे मृत्यु भएको हो।
मृतक युवालाई अत्यधिक खोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना गरिएको थियो। भदौ ७ गते उनको पीसीआर रिपोर्ट कोरोना पोजिटिभ आएपछि सोही दिन कोभिड १९ अस्पतालको आईसीयूमा सारेर भर्ना गरिएको थियो।
मृत युवा लागुपदार्थको सेवनकर्ता हुनुका साथै मुटु सम्बन्धी दीर्घ रोगी रहेकाे थिए।
वीरगञ्जमा कोरोना संक्रमणका कारण सोमबार थप एकजना पुरुषको मृत्यु भएको पुष्टि भएको छ।
नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा उपचारको क्रममा पर्साको सुपौली घर भएका ६८ वर्षीय पुरुषको आइतबार राति १० बजे मृत्यु भएको थियाे। उनकाे सोमबार साँझ रिपोर्ट पोजेटिभ आएको थियाे।
मुटुसम्बन्धी समस्याका कारण वीरगञ्जको तराई अस्पतालमा उपचारका लागि पुगेका ती पुरुषलाई आइतबार राति साढे ९ बजे गण्डक कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
यस्तै रुपन्देही गैडहवा गाउँपालिका ३ का ५३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट सोमबार राति भैरहवामा रहेको भीम अस्पतालमा ज्यान गएको छ।
बुटवलमा घर बनाउने क्रममा छतबाट खसेर घाइते भएका थिए। उनको टाउकोमा रगत जमेकाले शल्यक्रिया गर्न पीसीआर परीक्षण गर्दा ती पुरुषमा कोरोना पोजेटिभ देखिएको थियाे।
कोरोना पोजेटिभ देखिएपछि ती पुरुषलाई भैरहवा युनिभर्सल मेडिकल कलेजबाट भीम अस्पताल ल्याइएको थियो।
यता धनुषाका ७६ वर्षीय पुरुषकाे पनि काेराेना संक्रमणबाट मृत्यु भएकाे छ।