देशको ठूलो दल नेकपा (एमाले) को महाधिवेशन स्थलको अनौपचारिक भ्रमण नगरेको भए त्यहाँको वास्तविकता थाहै नपाइने रहेछ। सौराहाबाट फर्किरहँदा गाडीभरि कौतुहलताले घोचिरहे। त्यहाँ नपुगेको भए एमाले महाधिवेशनका उतारचढाव, त्यहाँको माहौल र त्यसको अन्तर्य पत्तै नपाइने रहेछ।
सतहमा आएका, सञ्चारमाध्यमले फलाकेका सीमित पत्रकारहरुको प्रस्तुतिले मात्र आफ्नो धारणा बनाउनुपर्ने र विश्लेषण गर्नुपरेको भए गुमराहमै परिने रहेछ। धन्न भाञ्जो दीपकले ‘ई–टिकट’ पठाएर विमानस्थलसम्म नघिच्याएको भए यत्रो राजनीतिक उत्सवको भित्रीपाटोको अत्तोपत्तो नै नहुने रहेछ।
श्रव्य, दृश्यहरुको रेकर्ड र छापा माध्यमको चाङ यतिखेर टेबलमा थुप्रिएको छ। तिनलाई खोतलेर दृष्टिकोण बनाउन लागेको भए वास्तविकताभन्दा धेरै टाढा पुगिने रहेछ।
महाधिवेशनको विवरण, विषयवस्तु, घटनाहरु बढाइचढाइ गरिएका पूर्वाग्रही रहेछन्। जसले प्रमुख प्रतिपक्षी पार्टीको दशौं महाधिवेशन, त्यसको तयारी र त्यहाँको माहौल तथा गतिविधिलाई ठ्याक्कै प्रतिनिधित्व गर्न नसक्दो रहेछ। सत्य र तथ्यपरक रिपोर्टिङ, खोज–अनुसन्धानको निचोडको साटो बलजफ्ती निकालिएका पूर्वाग्रहपूर्ण निष्कर्ष र दृष्टिकोण सत्यसँग कहीँकतै मेल खाएको देखिएन। पूर्वाग्रहबाट प्रेरित संप्रेषण यथार्थभन्दा कोशौँ टाढा रहेछ।
जे कुरा मूलप्रवाहका मिडियाहरुमा मसलेदार बनाएर उछालियो, अधिवेशन स्थलको माहौल, एमालेभित्रको खास रस्साकस्सीको वास्तविकतालाई ‘ट्रोल’(मन गढन्ते, आक्षेपपूर्ण, होच्याउने) भिडियो जस्तो पो बनाएर प्रस्तुत गरिएको रहेछ। त्यसैले, ती यथार्थभन्दा टाढा, मनगढन्ते र आक्षेपपूर्ण रहेको त्यतिबेलै पुष्टि भयो।
अधिवेशन स्थल, त्यसवरपरको वातावरण, सर्वसाधारणलगायत स्थानीय वासिन्दा, पर्यटकीय नगरी सौराहा र नारायणगढ वरपर भेटिएका व्यक्ति, दर्शक, प्राध्यापक, विश्लेषक, व्यापारी/व्यवसायी र विभिन्न राजनीतिक दलका व्यक्तिहरुको धारणा भने ‘निर्देशित मिडियाले बनाएको ट्रोल’भन्दा बेग्लै थियो।
सबैभन्दा रोचक र ज्ञानबद्र्धक ‘अब्जर्वेशन’ नवलपरासी, गैंडाकोटका काँग्रेसजनको थियो। उनीहरुले देखेको यस्तो थियो– एमाले भेलामा जति मानिस तपाईंहरुले टिभी, पत्रिकामा देख्नुभयो, त्यति नै मान्छे कार्यक्रम स्थलसम्म आउनै सकेनन्। नारायणगढ पुग्ने नाकाबाहिरै उनीहरु अड्किए। देशभरबाट एमालेजन जसरी चितवन ओइरिए, हामी पनि त्यसैगरी जान्थ्यौँ होला, यदि अहिले नेपाली काँग्रेसलाई पनि जीवनमरणको संकट परेको हुन्थ्यो भने।
मेरा एक जना मनोविश्लेषक मित्रले भने– एमालेजनको प्रतिष्ठा र इज्जतको विषय बनेको रहेछ– अधिवेशन स्थलमा पुग्नैपर्ने आकर्षण। गाउँ, नगर, वडा, प्रदेश, केन्द्रका प्रत्येक एमाले सदस्य, शुभचिन्तक र शुभेच्छुकलाई माधव नेपालले एमाले विभाजन गरेपछि पहिचान (आइडेन्टिटि) को सवाल प्रखर रूपमा उठेको रहेछ। स्वास्थ्य, बाटो, खानेपानी, स्कूल लगायतका विषयहरुमा स्थानीय तहमा को पृथक रहन सक्ला र ? एमाले सशक्त रहेन भने सम्पूर्ण एमालेजन एक्लो परिन्छ भन्ने आमधारणा नै बनेको रहेछ। त्यसैले एमालेको साख जोगाउन र पार्टीको ‘र्याङ्क एण्ड फाइल’ गाउँ–शहर, हिमाल–पहाड–तराईबाट जुर्मुराएछन्। घरगाउँ, वस्ती, वडा र टोल–टोलबाट स्वतः स्फूर्त रूपमा शुभचिन्तकहरु निस्किएका रहेछन्– महाधिवेशनस्थलतर्फ। बुढाबुढी धरी उत्रिएछन्– किनभने वृद्धभत्ता दिने नेतालाई कमजोर सावित गर्ने दुष्चक्रलाई तोड्दै। उनीहरु एमालेसँग ऐक्यबद्धता जनाउनउनीहरु चितवनतर्फ लागे छन्।
एमालेका प्रत्येक सदस्यको मनको धुकधुकी ‘उनलाई’ थाहा थियो। हरेक पार्टी सदस्य र समर्थकको मनमा ज्वारभाटा,आँधिबेहरी र सुनामी एमाले अध्यक्ष केपी ओलीले महाधिवेशनको पूर्वसन्ध्यामा उठाउन सके। कुशल सङ्गठक र राजनेतालाई मात्र यो कुराको ज्ञान हुन्छ। ओलीलाई पनि रहेछ। महाधिवेशन स्थलको टुङ्गो लाग्नेबित्तिकै उनले भनेका थिए– एमाले महाधिवेशनमा जनसागर कसरी उर्लिन्छ, हेर्न चाहनेहरुले चितवनमा आउनू। केपी ओली सार्वजनिक रूपमा डेढ दुई महिनाअघिदेखि यही कुरा दोहोर्याइरहेका थिए।
एमाले महाधिवेशनसम्बन्धी समाचार र विचार सम्प्रेषण जसरी गरियो, पूर्वाग्रही बनेर ओलीलाई पहिलो दिनदेखि नै पराजित भयो भनेर लखेटिरहे। अडियो, भिडियो, सामाजिक सञ्जाल र छापा माध्यममा निरन्तर लखेटिरहँदा पनि महाधिवेशन सहज रूपमा चलिरह्यो किनभने हलभित्र एमाले प्रतिनिधि थिए, एमाले लखेट्नेहरु थिएनन्। त्यसैले अधिवेशन अवधिभर ओली किञ्चित विचलित बनेको देखिएन। उनी अधिवेशन सफल बनाउन लागिरहे।
महाधिवेशन प्रतिनिधिहरु आफ्नो ध्येय र उद्धेश्यमा नेतासँगै रहिरहे। खासमा पार्टी नेतृत्व र महाधिवेशन प्रतिनिधिहरुको सम्बन्ध कर्मी मौरी र रानुको जस्तो देखियो।
आलोचना गर्नेहरुले पूर्वाग्रही रूपमा हल्लाप्रचार गरिरहे। प्रतिनिधिहरुले पनि आफ्नो काम जारी राखे। जब अधिवेशन सम्पन्न भयो, तब मात्र ओलीलाई ‘असफल’ भनेर दोषरोपण गर्नेहरु झसङ्ग भए किनभने उनीहरु एमाले नेतृत्वको नकारात्मक चित्रणमा लिप्त रहिरहँदा रहँदै एमाले महाधिवेशनले नयाँ निर्वाचनसँगै नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गरिभ्याइसकेको थियो।
नवनिर्वाचित अध्यक्ष ‘राष्ट्रिय एजेण्डा’ सेट गर्न लागे। समापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ओलीले भने, ‘पूरानो सोच, बिचार र तरिकाबाट होइन, उदाहरणीय, नरम, शालिन, संयमी बनेर एमालेको नेतृत्व अगाडि बढ्छ।’ (हेर्नुहोस्– केपी ओलीले नारायणी किनार, सौराहाको बन्द सत्र र अधिवेशन समापन गर्दाको सम्बोधनको रेकर्ड यूट्युबमा उपलब्ध छन्।)
जोदाहा ओलीका यी दूर्लभ सम्बोधन हुन्। जसलाई अगाडि राखेर राजधानी फर्किएपछि मुलुकका मूर्धन्य समाजशास्त्री, राजनीतिशास्त्री, विकास र व्यवस्थापनविद्, विज्ञ प्राध्यापकहरुसँग पर्घेल्ने प्रयत्न यसै आलेखमा गरिएको छ।
एमाले अध्यक्ष केपी ओलीका भनाइहरु कार्यान्वयन होलान् ? प्राध्यापकहरु भन्छन्– अहँ, केपी ओलीले बोले पनि ती त्यत्तिकै कार्यान्वयन हुनेवाला छैनन्। यसका लागि स्वयम् ओलीले आफूलाई नयाँ राजनीतिक नेताको रूपमा रूपान्तरण गर्नुपर्छ। नयाँ कार्यक्रम कार्यान्वयन गर्न ओली पनि नयाँ बन्नुपर्छ। अब ओलीले पार्टीका बैठकहरु तीन–तीन महिनाको क्यालेण्डर बनाएर सञ्चालन गर्न नयाँ नेतृत्वलाई माथिदेखि तलसम्म नयाँ ‘टास्क’ दिनुपर्छ। उनले आफूलाई यसैमा निरन्तर लगाइरहनुपर्छ। अहिलेकै गतिमा पार्टी, देश, समाजलाई रूपान्तरण गर्ने अभियानमा लागिरहे भने मात्र ओली सफल हुनसक्छन्।
मंसिरको चौथो साता (२५–२६ गते) डाकिएको केन्द्रीय समितिको बैठकमा उनी राजनेता र कुशल सङ्गठकको रूपमा प्रस्तुत हुनुपर्छ। जसको छनक उनले नारायणी नदी किनार र सौराहामा दिइसकेका छन्। अब उनले आफूलाई यसैमा अभ्यस्त गराउँदै अगाडि बढ्नुपर्छ।
समाजशास्त्री ती प्राध्यापक भन्छन्– ओलीले भनेका कुरा र गरेका कामको ‘रोल मोडल’ उनी आफैँ हुनुपर्छ। उनले गरेका काम–कुराहरु पारदर्शी, ‘पार्टिसिपेटरी’ (सहभागितामूलक) पनि हुनुपर्छ। उनका इर्दगिर्द विचौलिया, दलाल, माफिया, डन, अपराधीहरु रहनुहुन्न।
घरानियाँका फाइल बोक्नेहरुलाई अधिवेशनमा उनले रोकेका मात्र छैनन् तिनको नाकमुख पनि सुकाइ दिए। अधिवेशनमा चुनिएका पदाधिकारीको नामावलीले यही बताउँछ। अधिवेशन समापन मन्तव्यमा उनले पार्टीमा दलाल तस्कर माफिया, डन विचौलिया ठेकेदार–अपराधीलाई कुनै ठाउँ नरहने स्पष्ट शब्दमा अभिव्यक्त पनि गरे।
राजनीतिशास्त्रका प्राध्यापकले भने– राजनीतिक रूपमा ओलीले अधिवेशनमा ‘पार्टी एजेण्डा क्लियर’ गरेका छन्। अब हुने निर्वाचनमा एमाले देशको पहिलो ठूलो पार्टी बन्छ र मुलुकलाई विकासको मार्गदर्शन गर्छ। तर ती प्राध्यापक जोड दिँदै भन्छन्–यसको लागि प्रत्येक पार्टी सदस्य, संगठन र एमाले रूपान्तरित हुनुपर्छ। शास्त्रमा भनिएको पनि छ, नदी बगेपछि स्वच्छ हुन्छ, को के गरेपछि पवित्र हुन्छ भनेजस्तै महाधिवेशनबाट एमालेको अनुमोदित कार्यक्रम कार्यान्वयन भएपछि मात्र लक्ष पूरा हुन्छ। पार्टी नेतृत्वले कार्ययोजनालाई अनुमोदन गर्नुपर्छ र जनताबाट अनुमोदन गराउन निर्वाचनबाट त्यो अनुमोदित हुनुपर्छ। सँघारमा आइसकेको स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचनमा होमिन सङ्गठनले त्यो कार्यक्रमसहितको ‘एजेण्डा’ तय गरेर अगाडि बढ्नुपर्छ।
समाज रूपान्तरणको विविध आयाम र मत हुन्छ। समाजमा भिन्न वर्ग, लिङ्ग, संस्कृति, भूगोल हुन्छ। जनतासँग बसेर, जनसहभागितामा बनाइने कार्यक्रम कार्ययोजनामा नागरिकले आफ्नो विम्ब देख्यो भने मात्र एमालेका नेता तथा कार्यकर्तामार्फत् आफ्नो रूपान्तरण हुनसक्ने महसुस गर्नसक्छ। गाउँ, नगर र प्रदेशमा आयोजना गरिएका प्रत्येक बैठक, भेला, सम्मेलनमा जनताबीच पार्टीका स्पष्ट कार्यक्रम कार्ययोजना लिएर जानुपर्छ।
ओलीले यही कुरा अधिवेशनमा दोहोर्याउदै पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीजस्ता नेताका नाम र उनीहरुले गरेका कामहरुको उदाहरण दिई–दिई जनतासँग जोडेर युवापुस्तामा जाने कुरा भनिरहे।
राजनीतिशास्त्री अगाडि भन्छन्, उनले युवा पुस्तामा नेतृत्व जानुपर्छ मात्र भनेनन्, यो अधिवेशनमा ओलीले युवा पुस्तालाई नै नेतृत्वमा स्थापित पनि गरेका छन्। युवा नेतृत्वलाई पदाधिकारीमा ल्याएर पार्टीमा नयाँ रक्त सञ्चारको छनक मात्र दिएका छैनन् कि अब तिमीहरुले समाज रूपान्तरण गर्ने कामको नेतृत्व गर्नुपर्छ भनेर जिम्मेवारी बोध गराएका छन्।
अबका पार्टी बैठक, भेला, सभा सम्मेलनमा ओलीले तिनीहरुलाई टेष्ट गर्दै अगाडि बढ्नुपर्छ। नयाँ नेतृत्वले समाज रूपान्तरण गर्ने काममा ढिलासुस्ती र आलेटालेमा समय विताउन थाल्यो भने समाजले नयाँ नेतृत्वलाई प्रहार गर्न बाँकी राख्नेवाला छैन।
ती प्राध्यापकले भने– अबको एमालेको राजनीतिसँगै देशको राजनीति माथिल्लो चरणमा पुगेको छ। त्यसैले थिङ्क ट्याङ्कहरु यसैमा केन्द्रित भएर लाग्नुपर्छ। नयाँ–नयाँ प्रतिभाहरु एमालेमा देखिनुपर्छ। ओलीले पहिलो कार्यकालमा युवा नेतृत्वलाई ‘ग्रूम’ गरे। दोस्रो कार्यकाल शुरु गर्दा नगर्दै उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको चरणमै पुर्याएका छन्।
व्यवस्थापनका प्राध्यापक थप्छन्– अबको पाटो भनेको तीन–तीन महिनाको ‘क्यालेण्डर’ बनाएर काम अगाडि बढाउनु हो। आमचुनाव ढोकैमा छ। त्यसैले प्रत्येक बैठकमा स्पष्ट ‘एजेण्डा’ बनाएर प्रस्तुत हुनुपर्छ किनभने एमालेको राजनीतिक दर्शन, संगठनात्मक स्वरूप, कार्यक्रम र कार्यनीति प्रष्ट छ।अब बनाउन बाँकी भनेको कार्यक्रम कार्य–योजनासहितको स्पष्ट मार्गचित्र हो। त्यसको लागि ओलीले छुट्टै ‘च्याप्टर’ तयार गर्नुपर्छ।
प्रत्येक पदाधिकारी र केन्द्रीय सदस्यहरुको निश्चित लक्ष्यसहितको ‘टीओआर’ बनाउनुपर्छ। कार्यक्रमको कार्ययोजना र अनुगमन संयन्त्र बनाउनुपर्छ। पार्टीको आउँदो बैठकमा यो तयार गरेर ‘टाइमलाइन’ सहित ओलीले नै प्रस्तुत गर्नुपर्छ। ढिला गर्ने छूट उनलाई पनि छैन।
अब पार्टी अध्यक्षले आफूलाई घनिभूत रूपमा ‘फ्लोर लेवल’को सूचना, जनमत र जनभावना बुझ्नेसँग संवाद, अन्तक्र्रियाको अभ्यास गर्नुपर्छ। ओली सफलताको रहस्य यही हो।
त्यसैले अब केपी ओली सिर्जनशील हुनुपर्छ, ध्वंशात्मक होइन। रचनात्मक हुनुपर्छ, आक्रामक होइन। सिर्जनात्मक पार्टी अध्यक्षले नै समाज रूपान्तरणको कार्यलाई सहज, छिटो र बहुजनहितको पक्षमा बनाउन सक्छ।
ब्यवस्थापनशास्त्री थप्छन्, ढिकीमा धान कुट्दैगर्दा लामो लौरोमा नाँतो बाँधेको लाउनेले जसरी नकुटिएको धानलाई मुसलमा पुर्याएर धानलाई चामलमा रूपान्तरण गर्छ। ओलीले एमालेको धान लाउने लाठीको रूपमा त्यही काम गरिरहनुपर्छ। जसका लागि उनले निरन्तर अन्तक्र्रियाहरुमार्फत् ‘इन्फर्मल होमवर्क’ गरिरहनुपर्छ।
भुइँचालोले थिलथिलो भई मनोबल कमजोर भएका नेपाली र एमालेजनका लागि धरहरा, रानीपोखरी, काष्ठमण्डप, हनुमानढोका, दरबार हाइस्कूलजस्ता निर्माण अभियानले नेपालीको रक्तसञ्चार गराएको थियो तर अब त्यत्तिले पुग्दैन।
विकासविद् प्राध्यापक थप्छन्– अब विकासमै रूपान्तरण चाहिएको छ। यसका लागि राष्ट्रिय ढुकुटी बाँडेर पनि पुग्दैन। शीर्ष नेतृत्वमा चुनिएका केपी ओलीले अब आधुनिक विकासको नयाँ नेपाली धारणा अगाडि सार्नुपर्छ।
त्यो भनेको के ? विकासविद् आफैँ भन्छन्– संविधानमा लेखिए जसरी विकास हुँदैन। शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, जलविद्युत विकासको मार्गचित्रसहित हस्तक्षेपकारीका रूपमा ओली अगाडि आउनुपर्छ। यसले नै उनलाई आधुनिक नेपालको राजनेताका रूपमा स्थापित गर्नेछ।
पार्टी महाधिवेशनमा ओलीले पार्टीलाई ‘लेवी’ तिरेको कुराको प्रशंशा गर्दै आर्थिक गतिविधि पारदर्शी हुने र बैंकिङ प्रणालीमार्फत् लिनुदिनु पर्छ पनि भने। यो सत्य कुरा हो।
०७६ साल वैशाख १ गते उनले राष्ट्रिय सभागृहमा राष्ट्र बैंकदेखि २७ वटै वाणिज्य बैंकका प्रमुखहरु राखेर प्रत्येक नेपालीको बैंक खाता खोल्ने घोषणा गरे तर ३० लाख नेपालीबाहेकका खाता खुलेको रेकर्डबाट देखिँदैन। कुरो सत्य हुँदाहुदै पनि कार्यान्वयन भएन भने त्यसको के नै अर्थ रहन्छ र ?
विकासविदले औँलो ठड्याउँदै भने– अब त्यसरी हुँदैन। विकासको के कार्यक्रम हो ? मतदाताले बुझ्ने गरी ‘टक–टक’ दिनुपर्छ। किन्तु परन्तुले अब चल्दैन। जलस्रोत, शिक्षा, रोजगारी, पर्यटन, पशुपंक्षी मत्स्यपालन, उद्योग, कृषि, वन, फलफूल, सार्वजनिक यातायात, शहरी विकास, खानेपानी, विदेश नीति, प्रशासन सुधार लगायतका कम्तिमा एक सय बढी क्षेत्रको स्पष्ट तस्बिर चाहिन्छ।
विकासविज्ञ भन्छन्– स्पष्ट र छिटो विकासका लागि ओलीले धेरै समय सुन्ने अभ्यासमा लगाउनुपर्छ, आफैँ बोलिरहने होइन। अब ओलीले सुन्नेभन्दा बोल्ने बानीमा लगाम लगाउनुपर्छ। विगतमा सुन्नमा बढी समय नदिएकाले नै उनी समय व्यवस्थापनमा फितलो सावित भएका हुन्।
‘जापानको रेल न एक मिनेट ढिला हुन्छ न त छिटो’ भनेजस्तै ओली पनि निर्धारित समयमा जापानी रेलजस्तै ‘पंचुअल’ भए भने धेरै समस्या समाधान हुन्छन्। अब व्याख्या र भाषणमा अल्मलिने होइन, कार्यक्रम लिएर नै केपी ओली अगाडि बढ्नुपर्छ। यसका लागि ओलीले ‘क्वालिटी सर्कल’ बनाउनुपर्छ।
यसो गरे उनको यो अन्तिम कार्यकाल सफल हुन्छ। समाज रूपान्तरणको उनको अविभारा समयमै पूरा हुनसक्छ। अनि नेपालीले भन्न थाल्ने छन्– धेरै पटक देशमा क्रान्ति भए तर उपलब्धि व्यवस्थापन गर्न नसकेर रग्गमंगिएको नेपालमा केपी ओलीले कायापलट गरिछाडे !
लेखक भनाउदा पनि ओलि परस्त नै रहेछन ।
यथर्थ परक लेख खुब चित्त बुझ्यो
हो, तपाईहरुको विश्वास र आत्मरति आर्यघाट सम्मपनि रक्त रंजित भई रहन्छ! त्यसैले त २५० वर्ष शाहाहरु र १०० वर्ष राणा भाई भारदारहरु अनि ३० वर्ष पंचको नाममा ढोके र हुक्केहरुको मस्तिमा देश रुमलिन पुग्यो! यो १५ र बांकि कतिवर्ष यस्तै भिड र नाटक मंचन गरेर कमिशन, घुस, दलाल र वेथितिहरुको डफ्फाबाट शासित रहन तपाई जस्ता सोझा ॲध भक्त बुद्दिजिविहरु प्रवक्ता नवनिदिने हो भने त खत्तम भई हाल्छन नि डन र माफिया अनि अल्क्षिहरुको सपना.... जय होस हरेक महाराजाको जय गाऊन जम्मा गरिने पंच भेला को....
के प्रतिकृया दिनु नेताको …. यो देशले अनाहकमा ठूलो जनशक्तिको समय फजुलमा खेरफाल्न परेको छ । मिलेर काम गर्न सक्दैनन् । कुरा भाषणमा विश्वास गर्ने धैर्य टुटिसक्यो ।