पूजारी हत्या प्रकरणः आफ्नो जमिन बेचेर मन्दिर बनाउने पूजारीको हत्या कसले गर्‍यो?

केही दिनअघि भएको एउटा घटनाको चौतर्फी चर्चा भइरहेको छ। त्यसको दवाव अहिले नेपाल प्रहरीलाई परेको छ।

घटना हो ६५ वर्षीय पूजारी श्रीराम साहको हत्या।

हत्या भएको पाँच दिन भइसक्दा पनि हत्यारा पत्ता लगाउन नसक्दा प्रहरीमा दवाव बढेको हो।

रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियास्थित हनुमान मन्दिरका पूजारी साहको बुधबार गोली प्रहार गरी हत्या भएको थियो।

मन्दिर नजिकै रहेको छाप्रोमा रोटी खाइरहेका साहमाथि अत्तात समूहले गोली प्रहार गरेको थियो। बायाँ कन्चटमा गोली लागेका साहको घटनास्थलमा नै मृत्यु भएको थियो।

यद्यपी साहको हत्या कसले गर्‍यो। आखिर के को लागि हत्या भयो? यी दुई प्रश्नको उत्तर प्रहरीले अझै भेट्न सकेको छैन।

‘साहको कसैसँग रिसइवी नभएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। त्यसैले पनि अनुसन्धानमा क्लू फेला पर्न सकिएको छैन अहिले नै घटनाको बारेमा केही भन्ने अवस्था छैन’, प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआइजी धिरज प्रताव सिंहले भने, ‘थप अनुसन्धान भइरहेको छ।’

साहले पूजा गर्दै आएको हनुमान मन्दिर उनको घरबाट करीव ८-९ सय मिटरको दूरीमा थियो। श्रीमतीको केही वर्षअघि नै मृत्यु भएको र छोराछोरी समेत नभएकाले उनी मन्दिरमा एक्लै बस्दै आएकाले उनको हत्यारा केमा आएका थिए र हुलिया कस्तो थियो भन्ने समेत खुल्न नसकेको डिआइजी सिंहले भने।

प्रहरीले २ नम्वर प्रदेश प्रहरीबाट तालिम प्राप्त कुकुर समेत ल्याएर अनुसन्धान गरे पनि कुनै सुराख पत्ता लागेन।

घटना पछाडि कुनै आवेग र आक्रोश नभएर धार्मिक साम्प्रदायिक हिंसा फैलाउने कारणलेसमेत भएको हुनसक्ने अनुमान भइरहेको छ।

प्रहरीले यस कोणबाट पनि अनुसन्धान गरिरहेको छ। तर प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटना धार्मीक कारणले नभएको देखिएको छ। ‘धार्मिक विषयमा घटना भएको देखिएन। केही तथ्यहरू फेला परेका छन्। त्यसलाई भेरीफाइ गरिरहेका छौं। अहिल धेरै कुरा खुलेको छ। तर अनुसन्धान नसकि केही भन्न मिल्दैन’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बिएल नेपाली सेवालाई भने।

घटनाको अनुसन्धान प्रदेश २ प्रहरी कार्यालय जनकपुरको टोलीले पनि गरिरहेको छ। वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोख्रेलको नेतृत्वमा अनुसन्धान गरिरहेको छ। टोलीले केही मानिसको पहिचानसमेत गरिसकेको दाबी गरेको छ। ‘अनुसन्धानको क्रममा केही मानिसको पहिचान भएको छ। तर उनीहरुको बारेमा अनुसन्धान भइरहेकाले यसै भन्न मिल्दैन’, ती अधिकृतले भने।

साहका दाजुभाइ मन्दिरबाट करीव १ किलोमिटरको दुरीमा बस्दै आएका छन्। साहले आफ्नो नाममा रहेको केही जग्गाजमिनसमेत बेचेर मन्दिर बनाएका थिए। मन्दिर करीव १० कठ्ठा ऐलानी जग्गामा बनेको छ।

पूजारी शालिन व्यक्ति भएको स्थानीय बताउँछन्। उनी मन्दिरबाट उठेको भेटीबाट नै पेट पाल्दै आएका थिए।

घटनास्थलबाट मृतक साहको मोबाइल प्रहरीले सोही रात बरामद गरेको थियो। हाट बजार लाग्ने जस्तो ठाउँमा उक्त मन्दिर छ। प्रहरीका अनुसार त्यस क्षेत्रमा मानिसहरूको चहलपहल कम हुने गरेको पाइएको छ।

प्रहरीले हत्यामा संलग्न सीमा पार हुन सक्छन् भन्दै सीमा क्षेत्रमा सुरक्षा तैनाथी कडा पारेको छ।

यससँगै जिल्लाभरका सबै प्रहरी युनिटहरूलाई परिचालन गरिएको छ। तर, हत्यापछि हत्यामा संलग्न सीमा पार भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनामा पेस्तोलको प्रयोग भएको बताइएको छ।

घटनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट विद्यार्थी संगठन र साझा पार्टी लगायतले हिन्दू पुजारी तेलीको हत्यामा संलग्नको पहिचान गरेर कानूनी कठघरामा ल्याउन माग गरेका छन्।

प्रकाशित मिति: : 2020-08-25 10:42:41

प्रतिकृया दिनुहोस्