आफ्नै विश्वासिला पात्रहरूले नै ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै राेष प्रकट गरेका छन्।
नेकपा एमालेकाे जारी केन्द्रीय कमिटी बैठकमा उनकै विश्वासिला सदस्यहरूले उनकाे कार्यशैलीमाथि प्रश्न गरेका हुन्।
पूर्वपार्टी उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई गरिएको कारबाहीप्रति बिमती राख्दै बैठकमा बोल्ने सदस्यहरूले रोष प्रकट गरेका हुन्।
जारी मंगलबारको बैठकमा स्थायी कमिटी सदस्यसमेत रहेका कर्ण थापा, कृष्ण गाेपाल श्रेष्ठ र अग्नी खरेलले ओलीको कार्यशैलीकाे आलोचना गरे।
बैठकमा आफूले बोल्ने समय पाएको ३ मिनेटभित्र थापाले भीम रावलमाथिकाे कारबाहीको चर्को आलोचना गरे। उनले यसरी पार्टी र पार्टी नेतृत्व अगाडी बढेमा आउने २०८४ को आमनिर्वाचनमा एमाले २०६४ सालको अवस्थामा पुग्ने बताए।
२०६४ सालमा एमाले संसद्को तेस्रो पार्टी भएको थियाे। माओवादी पहिलो र कांग्रेस दाेस्रो पार्टी थिए। ‘यही अवस्थामा नेतृत्व अगाडी बढेमा। एमालेको हालत ०८४ को निर्वाचनमा उही ०६४ को अवस्थामा पुग्छ’, थापाकाे भनाइ उदृत गर्दै एक पाेलिटव्यूराे सदस्यले भने।
उनले भीम रावलमाथिको कारबाही फुकुवा गर्न पनि माग गरे।
अर्का सदस्य श्रेष्ठले आफू बाेलमा पार्टीलाई घाटा हुने भन्दै ओलीप्रति व्यङ्ग्य हाने। ‘बोल्ने समय त दिनुभयाे। तर म यो बैठकमा बाेले भने पार्टीलाई पक्कै घाटा हुन्छ। त्याे भन्दा बरु म बाेल्दै बाेल्दैन हस धन्यवाद’, श्रेष्ठले यति भन्दै पाएको ३ मिनेटको समय पनि बाेलेनन्।
पूर्वमन्त्रीसमेत रहेका अग्नी खरेलले पार्टीले व्यापारीबाट जग्गा दान लिने र पार्टी भवन बनाउने निर्णय सच्याउनुपर्ने बताए। पार्टी कार्यालयको भवन बनाउनेबारे पार्टीमा छलफल किन भएन? खरेलले प्रश्न गरे।
यदि व्यापारीबाट पार्टी भवन बनाए यसले भाेलिका दिनमा एमालेलाई लखेटिरहने धारणा राखे। उनले पार्टी भवनकाे विषय मात्र हाेइन, ओलीलाई दायाबाया बस्नेहरू भन्दा अलि बाहिर निस्कन पनि आग्रह गरे।
खरेलले अध्यक्षमाथि प्रहार हुँदा उनको सचिवालयले प्रतिवाद गर्न नसकेकाे पनि आरोप लगाए। ‘तपाईंमाथि यति धेरै प्रहार भएको छ तर तपाईंको दायाबाया बस्नेले किन प्रतिवाद गर्दैनन? गर्न लगाउनुस् अनि हामी पनि लगराैँला’, उनले भनेका थिए।
थापा, श्रेष्ठ र खरेलमात्र होइन कुनै समय ओलीको कोर टीमका मानिएका महेश बस्नेले पनि ओलीको सचिवालयमाथि प्रश्न उठाए। ओलीमाथि भइरहेको प्रहारको उनको सचिवालय बचाउन गर्न नसकेको आरोप लगाए।
यस्तै उनले संकटकाे बेलामा हराउने सहजतामा कराउने प्रवृत्तिको पनि आलोचना गरे। ‘अहिले अध्यक्ष तथ प्रधानमन्त्री ज्यूमाथि घेरबन्दी छ। यस्तो संकटको समयमा हराउने अनि सहजतामा कराउने ठिक भएन। सबै मिलेर अहिले अघि बढ्नुपर्ने अवस्था छ’, उनले भनेका थिए।