डब्ल्यूएचओका निर्देशकले भने–पीपीई खरिदमा भ्रष्टाचार गर्नु भनेको स्वास्थ्यकर्मीको हत्या गर्नु सरह हो

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का निर्देशक टेड्रोस ग्याब्रिएससले २ वर्षभित्र कोरोना संक्रमणको महामारी समाप्त हुन सक्ने बताएका छन्। 

उनले सन् १९८१ मा फैलिएको स्पेनिस फ्लूको उदाहरण दिँदै कोरोना पनि दुई वर्षभित्र समाप्त हुने आशा व्यक्त गरे। 

स्पेनिस फ्लूलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याउन दुई वर्ष समय लागेको उनको भनाई थियो। उनले प्रविधिको विकाससँगै कोरोनालाई थोरै समयभि नियन्त्रण राख्न सकिने सम्भावनाको विषयमा पनि कुरा गरेका छन्। 

टेड्रोसले स्विट्जरल्याण्डको जेनेभाबाट भर्चुअल पत्रकार सम्मेलन गर्दै भने, ‘हामीसँग महामारीलाई नियन्त्रणमा राख्ने प्रविधि र ज्ञान पनि छ। इतिहासको अध्ययन गर्ने हो भने महामारीका कारण अर्थव्यवस्था तथा समाज परिवर्तन भएको छ।’

उनले पीपीई खरिदमा हुने गरेको भ्रष्टाचारलाई हत्याको अपराधसँग तुलना गरेँ। नेपालमा पनि केही समयअघि पीपीई खरिदमा भ्रष्टाचार भएको आरोप सरकारलाई लागेको थियो। 

उनले भने, ‘यो स्विकार्य छैन। हाम्रो ज्यान जोगाउन स्वास्थ्यकर्मी पीपीई नलगाई दिनरात काम गरिरहेका छन्। स्वास्थ्यकर्मीले पीपीई नपाउनु र भ्रष्टाचार गर्नु भनेको उनीहरूको ज्यान जोखिममा पार्नु हो।’

प्रकाशित मिति: : 2020-08-24 07:07:56

प्रतिकृया दिनुहोस्