कोरोनालाई लिएर अमेरिकी सरकारको आलोचना भइरहँदा एउटा सुखद समाचार पनि बाहिरिएको छ। अमेरिकामा हालसम्म ३० लाख संक्रमित ठिक भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले बताएको छ।
अमेरिकामा हालसम्म ५७ लाखभन्दा बढी मानिस संक्रमित भएका छन्। यहाँ १ लाख ७६ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। तर, यसैका बीच मर्नेको संख्यामा केही कमि देखिएको पनि मन्त्रालयको रिपोर्टमा उल्लेख छ।
अमेरिकामा भ्याक्सिनको परीक्षण पनि अन्तिम चरणमा पुगेको साइन्टिस्टहरूले बताएका छन्। अमेरिकाले बनाएको भ्याक्सिनको मानवमाथि पहिलो प्रयोग दक्षिण अफ्रिकामा हुँदैछ।
विश्वको धनीमध्येका एक माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्स र उनको श्रीमती मिलिन्डाको नाममा स्थापना भएको फाउन्डेसनको सहयोगमा अमेरिकी कम्पनीहरूले दक्षिण अफ्रिकामा २९ सय स्वयम सेवकमाथि भ्याक्सिनको प्रयोग गर्दैछ।
अमेरिकी वैज्ञानिक तथा कोरोना टास्क फोर्सका सदस्य डाक्टर एन्थोनी फाँसीले देशमा भ्याक्सिनको आविस्कार भएपनि त्यो सबैलाई लगाउनु पर्ने आवश्यकता नभएको बताएका छन्। उनले भ्याक्सिनको खोप जबर्जस्ती लगाउनु नहुने स्पष्ट पार्दे भनेका छन्, ‘हामीले पहिले पनि कसैलाई खोप लगाउन जबर्जस्ती गरेका थिएनौं।’
बुधबार जर्ज वासिङ्टन विश्वविधालयमा भिडियो कन्फ्रेन्सिङमा उनले आफ्नो विचार स्पष्ट पारेका हुन्। उनले स्थानीय प्रशासनले चाहेमा बालबालिका तथा संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई खोप लगाउन सक्ने स्पष्ट पारेका छन्।
फाँसीको यो विचार अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनभन्दा बेग्लै आएको हो।
अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले भ्याक्सिन तयार भएपछि आफ्ना सबै नागरिकलाई निःशुल्क बाढ्ने जानकारी दिएका थिए। यस्तै, रुसले बुढाबुढी तथा स्वास्थ्यकर्मीलाई पहिलो किस्ता अन्र्तगत खोप दिने बताएको थियो।