निषेधाज्ञामा भ्रष्टाचार, सत्ताद्वन्द र प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध रहुन्: कांग्रेस

नेपाली कांग्रेसले निषेधाज्ञामा भ्रष्टाचार, सत्ताद्वन्द्व तथा प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध रहुन् भनेको छ। 

जनताले अप्ठेरो सहेर र कांग्रेसले ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने मान्यतामा रहेर सरकारलाई साथ दिइरहेको बताइएको छ।

 एक सय बीस दिन लामो लकडाउनले लकडाउन या निषेधाज्ञा आफैंमा समाधान नभएको पुष्टि भएको भन्दै सरकारले अधिकतम क्षमता प्रस्तुत गर्न सक्नुपर्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘चैत महिनादेखि सवा सय दिनसम्मको लकडाउनमा देशले कोरोनाविरुद्धको संघर्षभन्दा सत्ताको द्वन्द्व, भ्रष्टाचार र प्रधानमन्त्रीका हलुका एवं विवादास्पद अभिव्यक्तिहरु बढी सुन्यो, देख्यो र भोग्यो। निषेधाज्ञाको अबको चरणमा यी बिषयलाई निषेध गरेर अघि बढ्ने इच्छाशक्ति र सामर्थ्य देशले खोजेको छ,’ उनले भनेका छन्।

तर उनले कोरोनाविरुद्धको संघर्षमा संयम र एकताका लागि सरकार र समुदायलाई अपिल गरिएको छ।

‘नेपाली कांग्रेस आग्रह गर्दछ– विगतमा गरिएका कमजोरी र गल्तीहरुबाट पाठ सिकेर युद्धस्तरमा कार्य गर्ने स्थितिको विकास हाल जारी निषेधाज्ञाको समयमा गरियोस्,’ विज्ञप्तिमा भनिएको छ।

यस्तै, फ्रन्टलाइनमा कार्य गरिरहेका स्वास्थकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी र संचारकर्मीप्रति सम्मान व्यक्त गर्दै कांग्रेसले उनीहरुलाई आवश्यक पर्ने भौतिक सामग्री र मनोवैज्ञानिक सहजताका लागि सहजीकरण गर्न पनि सरकारलाई अपील गरेको छ।

निषेधाज्ञा लम्बिन सक्ने स्थितिमा श्रमिक, विद्यार्थी, बेरोजगार युवा, एकल महिला, अपांगता भएका नागरिक आदिलाई हातमुख जोर्न संकट पर्न सक्ने अवस्था आउने बताएका छन्। 

‘समयमै दृष्टि र योजना निर्माण गरिराख्नु जिम्मेवार राज्यको कर्तव्य हुन्छ। नेपाली कांग्रेस ती सबै वर्ग र समुदायका तर्फबाट सरकारलाई यसबारे आवश्यक ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित मिति: : 2020-08-20 18:41:14

प्रतिकृया दिनुहोस्