भाग्यमा विश्वास गर्ने परम्परावादी समाज र आफन्तकबाट पूर्वजन्मको कमाइ भनेर दृष्टिविहीन व्यक्तिका बुबाआमाले कस्ता तिखा र पीडादायक वचन खप्नु पर्ला? समाजका नकारात्मक दृष्टिले बुबाआमाको मनलाई कति घोच्थ्यो होला? मन कति छिया छिया हुन्थ्यो होला?
१२ वर्षसम्म दृष्टिविहीनता भएकै कारण पढाइबाट वञ्चित हुनुपर्दा कलिलो बाल मष्तिकमा कस्तो भाव खेल्यो होला? यस्तो अवस्था हुँदा आमाबुबाका आँखा कति रसाए होलान्? त्यो भोग्नेलाई मात्र थाहा हुन्छ।
दृष्टिविहीन अवस्थामा पनि १२ वर्षको उमेरपछि शिक्षा प्रारम्भ गरी पी.एच.डी.सम्मको अध्ययनको लामो यात्रा पूरा गर्ने सफल व्यक्ति हुन् डा. कमल लामिछाने।
अथक परिश्रम, लगनशील दह्रो आत्मबल र दृढ इच्छाशक्तिका कारण जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुसन्धानकर्ता हुँदै उनी प्रतिष्ठित चुकुवा युनिभरसिटी जापानको सहप्रध्यापकसम्मको उच्च पदमा पुग्न सफल भए।
उनको सफलता नै अहिलेको परम्परावादी, रुढिवादी समाजको लागि गतिलो जवाफ बनेको छ। दृष्टिविहीन भइकन पनि दृष्टियुक्त , व्यक्तिभन्दा कमलको सक्रियता, शैक्षिक योग्यता, समाजप्रतिको उत्तरदायित्वमा कुनै पनि कमी देखिँदैन।
डा. कमल लामिछानेको जन्म चितवनको जुटपानीमा भएको थियो। बुबा भानुभक्त र आमा गोमाका पाँच दाजुभाइमध्ये उनी कान्छा सन्तान हुन्। उनी जन्मजात दृष्टिविहीन व्यक्ति हुन्।
दृष्टिविहीन भएपछि उनको उपचारको गर्ने धेरै प्रयास भयो तर सफल हुन सकेन। डाक्टरले उपचार गरे, सफल हुँदैन मात्र भने तर यस्ता व्यक्तिले पढ्न सक्छन् भनी कहिल्यै भनेनन्।
तत्कालीन समाजमा दृष्टिविहीनले पनि पढ्न सक्छन् भन्ने व्यक्ति पनि थिएनन् बुबाआमा निरक्षर भएका कारण त्यस्तो ज्ञान हुने कुरै भएन। त्यसैले १२ वर्षसम्म उनी शैक्षिक अवसरबाट पूर्णरूपले वञ्चित हुन पुगे।
कमल १२ वर्षको उमेरमा कसैको जानकारीका आधारमा नेपाल अन्धा कल्याण सङ्घबाट सञ्चालित भक्तपुरको मेन स्ट्रिम विद्यालयमा कक्षा १ मा भर्ना भए। त्यहाँ उनले सुरुमा ब्रेललिपि सिके त्यसपछि कक्षा १ मा पढेपछि उनलाई एकैचोटी कक्षा ५ मा स्तरउन्नति गरे।
पढ्नु भन्नु मात्र थियो पाठ्यपुस्तकको अभाव थियो संरचना अपाङ्गमैत्री थिएन आवश्यक जनशक्तिको अभाव थियो, दृष्टिविहीन व्यक्तिको लागि आवश्यक पर्ने धेरै सामग्रीको अभाव थियो तर पनि पढाइप्रति गहिरो इच्छा शक्तिको कारण उनको पढाइको यात्रामा अवरोध आएन सहज ढङ्गले अघि बढे।
अहिले फर्केर हेर्दा उनलाई १२ वर्षदेखिको शिक्षा आर्जन उपयुक्त नै थियो जस्तो लाग्छ। १२ वर्षसम्मको अध्यारो जिन्दगी, विद्यालय जाने अवसर पाएपछि उनलाई संसार उज्यालो नै उज्यालो लाग्न थाल्यो।
त्यो घटना नै उनको जीवनको नयाँ मोड थियो। अहिले त शिक्षा उनलाई अनुदान होइन अनुभूति हुन्छ, अन्दाज होइन अनुभव हुन्छ।
उनले २०५३ सालमा भक्तपुरको आदर्श उच्च माविबाट एस.एल.सी. पूरा गरे । त्यसपछि सानो ठिमी क्याम्पसबाट आई.ए. र सन् २००३ मा अङ्ग्रेजी विषयमा स्नातक तह पूरा गरे।
एकपल्ट उनलाई एउटा सेमिनारमा जापान जाने अवसर प्राप्त भयो त्यहाँ उनले अपाङ्गतासम्बन्धी कार्यपत्र प्रस्तुत गरे त्यसपछि जापानको अपाङ्गमैत्री संरचना देखेर त्यहीँबाट उच्च शिक्षा हासिल गर्ने इच्छा जाग्यो।
अमेरिकाको विश्वविद्यालयमा पढ्ने अवसरलाई छोडेर उनको शैक्षिक यात्रा जापानतिर मोडियो। उनले जापानको युनिभरसिटी अफ चुकुवाबाट मास्टर डिग्री पूरा गरे।
त्यस्तै युनिभर्सिटी अफ टोकियोबाट 'अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने र सामाजिक रूपमा समायोजन गर्न शिक्षाको कस्तो भूमिका हुन्छ? (द लिक्स विटुइन डिसाविलिटी एजुकेशन एण्ड इम्प्लाेमेन्ट) विषयमा सन् २०१० मा पीएच.डी. को शैक्षिक योग्यता पूरा गरे।
हाल उनी जापानको युनिभर्सिटी अफ चुकुवामा पूर्णकालीन स्थायी एसोसियट प्रोफेसरका रूपमा कार्यरत छन्। उनी नै यति ठूलो पदमा पुग्ने पहिलो नेपाली दृष्टिविहीन हुन्। त्यस युनिभर्सिटीमा उनी विकास, शिक्षा र अपाङ्गताको विषयमा अध्यापन गर्छन् र अपाङ्गताको विशेषज्ञको रूपमा विभिन्न अनुसन्धानमा पनि लागि परेका छन्।
कमलको कार्यक्षेत्र युनिभर्सिटीमा मात्र सीमित छैन। उनलाई विश्वका विभिन्न संस्थाहरूले मुख्य वक्ताका रूपमा आमन्त्रण गर्ने गरेका छन्। संयुक्त राष्ट्रसङ्घका विभिन्न फोरममा उनी मुख्य वक्ताका रूपमा आमन्त्रित हुने गरेका छन्।
त्यस्तै विश्व बैङ्क, युनेस्कोजस्ता अन्तर्राष्ट्रिय संस्थामा उनले विकास, शिक्षा, अपाङ्गताका विषयमा आफ्ना गहन विचारहरू व्यक्त गर्ने अवसर पाएका छन्।
शिक्षा, विकास, अपाङ्गतासम्बन्धी उनको पुस्तक 'डिस्याबिलिटी एजुकेसन एण्ड इम्प्लोइमेन्ट इन डिभेलोपिङ कन्ट्रिज : फ्रेमच्यारिटी टु इन्भेस्टमेन्ट' सन् २०१५ मा क्याम्ब्रिज युनिभर्सिटीको छापाखानाबाट प्रकाशित भएको थियो।
यो पुस्तक सन् २०१६ नोभेम्बरमा जापानका विज्ञहरूको संस्था 'अन्तर्राष्ट्रिय विकासका लागि जापानिज समाज (जासिड) द्वारा पुरस्कृत भयो यो पुस्तकको विमोचन २०१४ को अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका दिन न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा गरिएको थियो।
उनको भनाइमा 'दृष्टिविहीन भएका मान्छेले शब्दले संसार निर्माण सक्छन्। बोल्नै पर्ने हुन्छ, सिक्नै पर्ने हुन्छ जीवनलाई जति बढी प्रयोग गरिन्छ सफलताको मात्रा त्यति नै बढ्दै जान्छ।
त्यसैले सफल हुन सकारात्मक र आत्मविश्वासी हुनुको विकल्प छैन कोही पनि मानिस आफैँमा पूर्ण छैन एउटासँग एक चिज छ र अर्कोसँग अर्को चिज छ र अन्तरनिर्भरबाट नै जीवन सफल बन्ने हो। अहिले नेपाली समाजमा अपाङ्गतालाई हेर्ने नकारात्मक दृष्टिमा कमी आएको छ। चेतनाको कमीको कारण यस्तो दृष्टि जन्मिएको हो भन्ने उनको विचार छ।
अहिले मानिसहरू राम्रा शब्द प्रयोग गर्न सिकिरहेका छन्, विभेदको तह घटिरहेको छ। वास्तवमा शिक्षाले ज्ञान र चेतना पनि दिने भएकाले गलत सोच र पूर्वाग्रही सोच क्रमिकरूपले घट्दै जाने उनको बुझाइ छ।
उनी अहिलेको राजनीतिक अवस्थाप्रति अत्यन्तै चिन्तित छन्। हरेक परिवर्तनले नेपाली समाजलाई फाटो मात्र ल्यायाे।
हाम्रो परिचय देशको विकाससँग जोडिएको छ भन्ने चेतना राजनीतिक दलका नेताहरूमा नआएको देख्दा उनलाई ज्यादै दुःख लाग्छ उनीहरूको नियत त्यति खराब नभए पनि दीर्घकालीन सोच र उपयुक्त योजना निर्माणमा कमी देख्छन् उनी।
उनीहरूमा विदेशी सहयोगलाई अधिकार ठान्ने प्रवृत्तिका कारण राष्ट्रिय स्रोतहरूको उचित परिचालन हुन नसकेको उनको बुझाइ छ।
उनको भनाइमा 'नेपाल जस्तो देशले चाहेमा पाँच छ वर्षभित्र नै विकासको फड्को मार्न सक्छ त्यसका लागि नेताहरूमा दम्भको व्यवस्थापन, उचित राजनीतिक सोच र समझदारीलाई महत्व दिने भावनाको अभाव देखिन्छ।
त्यस्तै विशेषज्ञता मरिरहेको छ, नेताहरूले भागबन्डामा काम गर्ने प्रवृत्तिले उचित र विशेषज्ञ व्यक्ति सही ठाउँमा पुग्न नसक्दा देशको यस्तो दुर्दशा भएको उनको आँकलन छ।
अपाङ्गता भएका व्यक्तिहरूले सफलता पाउन शिक्षा र रोजगारीमा आफूलाई जोड्न सुल्झाउँछन् कमल। एउटा शारीरिक अङ्गको खराबीले सक्षमता र क्षमतालाई बाधा पुऱ्याउन सक्दैन।
आफूसँग जे छ त्यसलाई अगाडि बढाउने हो र त्यो अरूलाई पनि दिने हो जे छैन त्यो अरूबाट लिने हो पलपलमा अप्ठ्यारा र चुनौतीहरू छन् त्यसलाई अवसरको रूपमा लिने हो।
कसैले हामीजस्ता अपाङ्गहरूलाई विभेद गरेन र अपमान गरेन भने हामी कसरी अगाडि बढ्न सक्छौँ? त्यस्ता बाधा अड्चन चिर्दाको मज्जा नै बेग्लै हुन्छ र सफलता त्यसैमा निर्भर रहन्छ भन्ने अनुभव छ उनको।
कमललाई आफू पहिलो नेपाली दृष्टिविहीन पीएच.डी. हुँदा खासै गर्व गर्न मन लाग्दैन।
एउटा दृष्टिविहीन नागरिक पीएच.डी. हुन राष्ट्रले सन् २०१० सम्म पर्खनु पयो भने नेपालको शैक्षिक अवस्था कस्तो रहेछ सहजै अनुमान गर्न सकिन्छ योभन्दा अगाडि अरू कोही त्यो ठाउँमा पुगेको भए अपाङ्गताको शैक्षिक विकास धेरै माथि पुगिसक्थ्यो भन्ने उनको विचार छ ।
विशेष क्षमता भएर अहिलेको कमल लामिछाने बनेको हैन, अपाङ्गता भएका मान्छे आफूभन्दा धेरै सक्षम छन्, केवल उनीहरूलाई उचित शिक्षाको अभाव छ त्यसैले अपाङ्गता भएका व्यक्तिहरूले शिक्षा प्राप्तिमा लगानी गर्नुपर्छ अनि मात्र अरूले विभेद गर्ने आँट गर्न सक्दैनन्, अवसरबाट वञ्चित बनिदैनन्।
कमल लामिछाने नेपाली समाजका एक होनाहार व्यक्तित्व हुन् जस्तो लाग्छ उनी विदेशमा बसे पनि हृदयभरि नेपालको माया छ, उनको कान्तिपुरको स्तम्भ लेख र सामाजिक सन्जालमा उनका टिप्पणीले यो कुराको पुष्टि गर्छ।
उनीसँग राष्ट्र विकासको दृष्टिकोण योजनाको स्पष्ट खाका देखिन्छ। उनको सोचाइ अहिले अपाङ्गता भएका व्यक्तिहरूको उन्नति, प्रगतिमा मात्र सीमित छ जस्तो लाग्दैन।
उनी राष्ट्रको चौतर्फी विकासमा आफ्ना विचारहरू पोख्न सक्छन्। कुनै क्षेत्र र विषयमा अल्पकालीन र दीर्घकालीन योजना बनाउने क्षमता र दक्षता छ उनीसँग उनको सोचाइ र दृष्टिकोणलाई राष्ट्रनिर्माणको योजनासँग जोड्ने हो भने राष्ट्रले उनीबाट धेरै कुरा पाउन सक्छ नेपालका राजनीतिज्ञहरूले धेरै लाभ लिन सक्छन्।
(लेखक मनाेसामाजिक परामर्शक हुन्)