विष खुवाइएपछि पुटिनका आलोचक कोमामा

रुसका प्रतिपक्षी नेता एलेक्सी नाभाल्नी कथितरुपमा विष खुवाइएपछि साइबेरियास्थित अस्पतालको भेन्टिलेटरमा कोमामा रहेका छन् । उनको प्रवक्ताले उनलाई विष खुवाइएको आरोप लगाएकी छिन् ।

किरा यार्मिसका अनुसार ४४ वर्षीय नाभाल्नी सर्बियाबाट मोस्कोसम्मको यात्राको दौरान अकास्मात बिरामी परेपछि उनको विमानलाई आपत्तकालित अवतरण गरिएको थियो । उनको अवस्था चिन्ताजनक रहेको आइसीयूमा राखेर उपचार भइरहेको टास समाचार एजेन्सीलाई उद्धत गर्दै अलजजिराले समाचार प्रकाशित गरेको छ । यार्मिसले पनि ट्वीटरमा उनलाई विष खुवाइएको र हाल आइसीयूमा रहेको जानकारी दिएकी छिन्।

‘उनको चियामा केही मिसाएर विष दिइएको हामीलाई लागेको छ। उनले बिहान पिएको भनेको चिया मात्र थियो,’ उनले भनिन्, ‘डाक्टरले तातो पेय पदार्थबाट विषलाई शरीरले सोसेको बताएका छन् ।’

उनले एक रेडियोसँग कुरा गर्दै विमान रहँदा उनलाई पसिना आउन थालेको र बाथरुम जाँदा बेहोस भएको बताइन् । ‘उनी हालसम्म बेहोस छन्,’ उनले भनिन् ।

यार्मिसले यो वर्षको क्षेत्रीय चुनावी अभियानका कारण उनलाई विषय खुवाइएको हुन सक्ने आशंका व्यक्त गरेकी छिन् । नाभाल्नी शीर्ष सरकारी अधिकारीविरुद्ध भ्रष्टाचार अभियानका कारण र राष्ट्रपति भ्लादिमिर पुटिनको कटु आलोचकका रुपमा चर्तित छन् । उनीमाथि यसअघि पनि भौतिक हमला भएको थियो ।

गत वर्ष पक्राउ परेका बेला जेलमा विष दिइएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । डाक्टरहरुका अनुसार उनमाथि एलर्जिक आक्रमण भएको थियो ।

सन् २०१७ मा उनीमाथि उनको अफिस अगाडि नै रसायनिक आक्रमण भएको थियो । त्यसतिबेला उनको आँखामा चोट लागेको थियो ।

प्रकाशित मिति: : 2020-08-20 13:53:33

प्रतिकृया दिनुहोस्