कोरोनाको महामारीका बीच स्कुल तथा कलेज खोल्ने ट्रम्प प्रशासनको निर्णय घातक सावित हुन थालेको छ। अमेरिकाको ६ विश्वविद्यालयमा २ सयभन्दा बढी विद्यार्थी कोरोनाबाट संक्रमित भेटिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको पुनः आलोचना भइरहेको छ।
संक्रमणको संख्या बढ्न थालेपछि सरकारले पाँच राज्यको स्कुलका २ हजार बढी विद्यार्थीलाई ‘क्वारेन्टाइन’ मा राख्ने निर्णय गरेको छ। आयोवा विश्वविद्यालयमा सर्वाधिक १ सय ७५ विद्यार्थी संक्रमित भेटिएका छन्। दोस्रो नम्बरमा नोट्रेडेम विश्वविद्यालयमा ८० विद्यार्थीको कोरोना टेस्ट पोजिटिभ आएको छ।
यस्तै, जर्जियाको चेरोकी काउन्टी स्कुलमा सबैभन्द्या बढी ११ सय छात्रछात्रालाई क्वारेनटाइनमा राखिएको छ। ट्रम्प प्रशासनले ३ अगस्टमा स्कुल तथा कलेज पुनः सुचारु गर्न स्विकृति दिएको थियो। यसपछि विधाथीमा संक्रमणको संख्या बढेको हो।
ट्रम्प प्रशासनले यसअघि विदेशबाट पढ्न आउने विद्यार्थीलाई घर फर्काउने नीति ल्याउन लागेको थियो। तर, कडा विरोधका बीच सरकार पछि हटेको थियो।
अमेरिकाको विभिन्न विश्वविद्धालयमा १३ हजारको हाराहारीमा नेपाली विद्यार्थी अध्ययनरत छन्।
यस्तै विश्वव्यापि रूपमा अमेरिकामा १० लाख बढी विद्धार्थी अध्ययनरत रहेको अमेरिकाको शिक्षा मन्त्रालयले बताएको थियो। कोरोनाका कारण अहिले सबैको पढाई प्रभावित भइरहेको छ।