अमेरिकामा टेक्सास, फ्लोरिडा, क्यालिफोर्निया र एरिजोना कोरोनाको ‘हट स्पट’

अमेरिकामा कोरोनाको कारण दैनिक मर्नेको संख्यामा केहि कमि देखिएपनि संक्रमितको संख्या अझैं चुनौतिपूर्ण बन्न पुगेको छ।

टेक्सासपछि सबैभन्दा बढी मर्नेको संख्या फ्लोरिडामा देखिएको छ। फ्लोरिडामा दैनिक १ सय ७४ को हाराहारीमा मानिस मरिरहेका छन्। 

टेक्सासमा अहिले पनि दुई सयको हाराहारीमा मानिस मरिरहेका छन्। बुधबार मात्र यहाँ १ सय ९७ जनाको निधन भएको थियो। यी दुई शहरपछि क्यालिफोर्नियामा १ सय ५१ जनाको निधन भएको छ। 

अहिले टेक्सास, फ्लोरिडा, क्यालिफोर्निया र एरिजोना कोरोनाको ‘हट स्पट’ मानिएको छ। यी चार शहरमा कोरोनाबाट दैनिक सयभन्दा माथि मानिस मरिरहेका छन्। एरिजोनामा पछिल्लो २४ घण्टामा १ सय ५ जनाको निधन भएको छ। 

१० हजारभन्दा बढी मानिस मर्ने शहरमा फ्लोरिडा पनि समावेश भएको छ। अमेरिकाको पाँच वटा शहर न्युयोर्कमा सर्वाधिक ३२ हजार ९ सय ३५ जनाको निधन भइसकेको छ। 

हिजोआज यो शहरमा मर्नेको संख्यामा निकै कमि आएको छ। अमेरिकी सरकारले न्युयोर्कमा कोरोना नियन्त्रणमा आउन लागेको दावी पनि गरेको छ। 

न्युयोर्कपछि न्युजर्सीमा १६ हजार ३० जनाको निधन भएको छ। तेस्रो नम्बरमा क्यालिफोर्निया रहेको छ। यहाँ ११ हजार ६ सय ७३ जनाको निधन भइसकेको छ। 

चौथो नम्बरमा टेक्सासमा १० हजार ४ सय ९५ जनाको निधन भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। पाँचौ नम्बरमा फ्लोरिडामा मर्नेको संख्या १० हजार पुगेको छ। 

अमेरिकामा हालसम्म ५७ लाखको हाराहारीमा मानिसहरू संक्रमित भएका छन्। यसमा ३० लाख स्वास्थ भइसकेका छन् भने १ लाख ७६ हजार २ सय ८८ जनाको निधन भइसकेको छ। अमेरिका कोरोनाबाट संक्रमित र बढी मर्ने देशमा पहिलो नम्बरमा पर्छ। 

सरकारले कोरोना मुक्त हुने संक्रमितको संख्या ९५ प्रतिशत रहेको दावी गरेको छ भने मर्नेको संख्या ५ प्रतिशत छ। प्रतिस्पर्धी देश रुस र चीनले कोरोनाविरूद्धको भ्याक्सिन छिट्टै बजारमा उपलब्ध गराउने दावी गरिरहेको बेला अमेरिकी चिकित्सक पनि यसमा भिडेका छन्। 

अमेरिकामा दैनिक ४० हजारको हाराहारीमा नयाँ संक्रमित फेला पर्ने गरेका छन्। विगतको तुलनामा यसमा कमि देखिएको छ। विश्वव्यापी रूपमा हेर्दा कोरोना संक्रमितका संख्या सबैभन्दा बढी भारतमा देखिन थालेको छ। भारतमा ६० हजारको माथि संक्रमित फेला पर्न थालेका छन्।

प्रकाशित मिति: : 2020-08-20 06:29:38

प्रतिकृया दिनुहोस्