फिर्ता भयाे संसदकाे लाेगाे

संसद सचिवालयले संसदको नयाँ लोगो फिर्ता गरेको छ।  

लोगो सार्वजनिक भएपछि सांसदहरुले नै देशको नक्सा र झण्डाको अपमान गरेको लोगो लगाउन नसक्ने भन्दै विरोध गरेका थिए। सामाजिक सञ्जालमा पनि लोगोलाई लिएर संसद सचिवालयको निकै आलोचना भइरहेको छ।

चौतर्फी आलोचना भएपछि संसद सचिवालयले अहिले उक्त लोगो फिर्ता गरेको जनाएको छ। लोगो बनाउने व्यक्ति टेकबिर मुखिया नै त्यो लोगो रफ भएको र त्यही रफलाई संसदका कर्मचारीले सार्वजनिक गरेको आरोप लगाएका छन्।

 संघीय संसद सचिवालयले पुनः नयाँ लोगो बनाएर ल्याउन निर्देशन दिँदै बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयलाई सबै लोगोहरू फिर्ता पठाएको संसद सचिवालयले जनाएको छ।

१८ लाख ४६ हजार १८ रुपैयाँमा संसद सचिवालयले ३५० वटा लोगो बनाएको हो। तर, अहिले यो कुनै पनि लोगो काम नलाग्ने भएपछि फिर्ता भएको छ। संसद सचिवालयले केही बिचार नगरी खर्च गरेकाे भन्दै आलोचना पनि भइरहेकाे छ।

 ‘बनाउनेले बनाइहाल्यो सुरुमा ठिक छ भनेर ल्याएपछि अब भएन यस्तो के बनाएको भन्ने कुरा पनि आउँदैन,’ संसद सचिवालयको स्रोत भन्छ, ‘अब हुने खर्च संसद सचिवालयले नै बेहोर्न पर्ने नै त होला।’  सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि  सोही अध्यावधिक गरिएको नक्सा समेटिएको लोगो बनाइएको हो। उक्त लोगो सार्वजनिक भएपछि सांसदहरुले नै प्रश्न उठाएका थिए। 

यसैबिच लोगोमा राखिएको सुन पुनः प्रयोगमा नआउने भएपछि त्यसको खर्च कसले बेहोर्ने भन्नेमा भने निर्माण गर्ने कार्यालय र संसद् सचिवालयबीच विवाद देखिएको छ ।

प्रकाशित मिति: : 2020-08-19 11:14:17

प्रतिकृया दिनुहोस्