संवैधानिक परिषद्को बैठक बोलाउन प्रधानमन्त्री ओली र देउवा सहमत

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संवैधानिक परिषद्को बैठक गर्ने विषयमा सहमति भएको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा डेढ घन्टा भएको छलफलमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच उक्त सहमति भएको हो। यस विषयमा भोलि (मंगलबार) पनि छलफल हुनेछ। 

बैठकको सुरुमै प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक गर्नुपर्ने प्रस्ताव देउवासमक्ष राखेका थिए। ओलीको यो प्रस्तावमा सभापति देउवा सहमत भए।

‘प्रधानमन्त्री ओलीले सभापति देउवालाई संवैधानिक परिषद्को बैठक गरौं भन्नुभयो,’ बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले सूत्रन्युजसँग भने, ‘प्रधानमन्त्रीजीले संवैधानिक आयोगमा नियुक्ति गर्नुपर्‍यो। यसका लागि सल्लाह गरौं भन्नुभयो।’

प्रधानमन्त्री ओलीको भनाइमा सहमति जनाउँदै देउवाले त्यसका लागि कांग्रेस तयार रहेको देउवाको भनाइ उद्धृत गर्दै नेता लेखकले भने,‘यस विषयमा भोलि पनि छलफल हुन्छ।'

छलफलमा सहभागी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि संवैधानिक परिषद्को बैठक राख्दा उचित हुने बताए। छलफलमा प्रधानमन्त्री ओलीसहित प्रचण्ड, सुवास नेम्वाङसहित देउवा र रमेश लेखक उपस्थित थिए।

त्यसैगरी कोरोना भाइरसको संक्रमण नियन्त्रण र बाढी पहिरोका कारण भएको मानवीय तथा भौतिक क्षतिका विषयमा पनि कांग्रेसले प्रधानमन्त्रीको ध्यानाकर्षण गरायो।

‘कोरोना भाइरसका कारण जनतामा धेरै निराशा छाइरहेको छ। सरकारको ध्यान जानुपर्ने गएको छैन। सरकारको ध्यान जानुपर्‍यो भनेर हामीले प्रधानमन्त्रीजीलाई भन्यौं,’ कांग्रेस नेता लेखकले भने, ‘देशभरि बाढीपहिरोले समस्या पैदा गरेको छ। यसमा पनि सरकारले ध्यान दिनुपर्‍यो।’

कांग्रेसले त्रिविका प्राध्यापक र नेविसंघका नेतालाई मुद्दा चलाउने विषयमा पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गरायो। नेता लेखकले भने, ‘त्रिविका आन्दोलनरत प्राध्यापकलाई मुद्दा चलाउने काम भइरहेको छ।नेविसंघका नेतालाई पनि मुद्दा चलाउने काम भइरहेको छ। सरकारले ठीक गरेको छैन। नियुक्ति नभएका कारण विश्वविद्यालय अस्तव्यवस्त छन्। यस विषयमा पनि हामीले ध्यानाकर्षण गर्‍यौं।’

प्रकाशित मिति: : 2020-08-17 17:09:21

प्रतिकृया दिनुहोस्