नेपाल–भारत संयन्त्र बैठक सम्पन्न, पुनर्निर्माणकाे कुराे उठ्याे, सीमा विवादकाे उठेन

नेपाल भारतबीच संयुक्त निरीक्षण संयन्त्रण (ओभरसाइट मेकानिजम) को बैठक काठमाडौंमा सम्पन्न भएकाे छ।

नक्सा विवादपछि नेपाल र भारतबीच संवादहीनता रहेकै बेला दुई देशबीच साेमबार पहिलो औपचारिक बैठक बसेकाे हाे।

 यसअघि दुवै देशका प्रधानमन्त्रीचबीच शनिवार टेलिफोन संवाद भएको थियो। सोमबारको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्रा सहभागी थिए।

कोरोनाका कारण भिडियो कन्फरेन्समार्फत भएको बैठकमा विशेग गरी भारतको सहयोगमा सञ्चालित परियोजनाहरुमा केन्द्रित रहेर कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालमा भारतीय लगानीमा सञ्चालित परियोजनाहरुको अनुगमनका लागि यो संयन्त्र गठन भएको थियो।

भारतीय सहयोगमा ४६ हजार घर पुनर्निर्माण

 नेपालमा भुकम्पबाट भत्किएका घर पुननिर्माण गर्ने क्रममा भारतले प्रतिवद्धता गरेअनुसार ५० हजारमध्ये ४६ हजार घर निर्माण भएका छन्।

बैठकमा २०७२ सालको भूकम्पले भत्किएका ५० हजार घर निर्माण गरिदिन भारतीय पक्षले प्रतिवद्धता जाहेर गरेअनुसार ४६ हजार ३०१ घर निर्माण भएको भारतीय राजदूतले जानकारी दिए।

कोरोनाविरुद्धको लडाइमा भारतीय सहयोगका लागि धन्यवाद

नेपाल पक्षले समग्र परियोजनाको समीक्षा गर्दै कोरोनाविरुद्धको लडाइमा भारतीय सहयोगका लागि धन्यवाद दिएको छ। 

भारतीय दूतावासका एक अधिकारीका अनुसार यो संयन्त्रको बैठक भएकाले सीमा विवादबारे कुरा नभएको बताए। सीमाबारे छलफल गर्न सचिवस्तरीय अलग्गै संयन्त्र भएकाले यसमा कुरा नहुने उनले बताए।

त्यस्तै मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको विषयमा पनि छलफल भएको थियो।

प्रकाशित मिति: : 2020-08-17 14:44:05

प्रतिकृया दिनुहोस्