सत्तारुढ र प्रतिपक्षी दल संवैधानिक नियुक्तिबारे छलफल गर्न सहमत

 सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी नेपाली कांग्रेस संवैधानिक अंगहरुमा खाली रहेका पदमा नियुक्तिका लागि छलफल अगाडि बढाउन सहमत भएका छन्।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक राख्न प्रस्ताव गरेको भेटमा सहभागी कांग्रेस नेता रमेश लेखकले बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक अंगका केही पदमा पदपूर्ति हुन सकेको छैन।

‘कोरोना महामारी नियन्त्रण र बाढी पहिरोमा सरकारले प्रभावकारी देखिएन’

भेटमा कांग्रेस नेताहरुले कोरोना भाइरसको महामारी नियन्त्रण र बाढी पहिरोमा सरकारले प्रभावकारी नभएको समेत बताएका छन्।

‘कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको छ, संक्रमण तीब्र गतिमा बिस्तार भएको छ। बढ्दो चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार समर्थ देखिएन। कमजोरीको समिक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन? आइसोलेसन र भेन्टिलेटर पर्याप्त ब्यवस्था गर्न किन ढिलाइ? भनेर सोधेका थिया’,ैैं उनले भने। 

यता सिन्धुपाल्चोकको जुगल गाउँपालिकको लिदिमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको छ र कयौं बेपत्ता भएको सम्बन्धमा पनि ध्यानाकर्षण गराइएको नेता लेखकले जानकारी गराए। 

‘गाउँबासीले दश दिन अघि देखिनै गुहार गर्दा पनि तीनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपुर्‍याउनु अत्यन्तै दुःखद भएको र गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्ने कुरा उठाएका छौं,’ उनले भने। 

यस्तै कांग्रेसले देशको अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएको भन्दै सरकारको भुमिका सन्तोषजनक नदेखिएको बताएको छ।  ब्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न कांग्रेसले सुझाव दिएको नेता लेखकले बताए। 

प्रकाशित मिति: : 2020-08-17 13:50:12

प्रतिकृया दिनुहोस्