धेरै पुरानो समयको कुरा हो, एकजना अर्धजंगली, अर्धबर्बर तर शक्तिशाली राजा थियो। यद्यपि सुदूर छिमेकी ल्याटिन देशले अख्तियार गरेका प्रगतिशील विचारहरूको प्रभावले गर्दा उसका विचारहरू पनि केही हदसम्म माझिएका थिए, तापनि उसभित्र रहेको बर्बर प्रवृत्तिले गर्दा ती असल विचार बाहिर व्यवहारमा कहिल्यै देखा पर्दैन थिए।
उसका विचार लहडी थिए र कार्यव्यवहार सनकी। राजाका भनाइ र गराइबारे केही भन्नसक्ने कोही थिएन। आफूलाई ठीक लागेको कुनै पनि कुरालाई उसले लागू गथ्र्यो। घरपरिवार वा राज्य व्यवस्थाका सदस्यहरूले उसले भनेअनुसार कार्य गरे भने ऊ मित्रवत् नै रहन्थ्यो तर कतै कसैले कुनै पनि किसिमबाट राजाको इच्छा वा भनाइअनुसार काम गरेन भने आफूलाई सामान्य देखाउँदै पनि राजाले त्यस्तो व्यक्तिलाई अनौठो स्थानमा अनौठो तरिकाले सजाय दिएर आनन्द लिने गथ्र्यो। यस कारण अन्य धेरै मानिसले अनाहकमा दुःख पाइरहन्थे।