सिन्धुपाल्चोक पहिरोको सबभन्दा जोखिममा, पाँच वर्षको स्याटलाइट म्यापिङ
मैले उनलाई आइतबार दिउँसो साढे २ बजे फोन गरेको थिएँ। उनी १२ बजेदेखि नै लगातार पैदल हिँडिरहेका रहेछन्। सास फुलेर उनको आवाज स्याँस्याँ सुनिन्थ्यो।
सिन्धुपाल्चोक, जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ स्थानीय जनप्रतिनिधिको टोली लिएर लिदी गाउँ जाँदै थिए।
यो गाउँ अरनिको राजमार्गबाट निकै टाढा छ। राजमार्ग जोडिने बलेफी बजारबाट जुगल गाउँपालिकाको सीमा १३ किलोमिटर पर छ। त्यहाँबाट अर्को ७ किलोमिटर मोटरबाटो कात्तिके पुगिन्छ। कात्तिकेबाट लिदी पुग्न फटाफट हिँड्न सक्नेलाई पनि तीन घन्टाको बाटो हो।
श्रेष्ठ फटाफट हिँड्न सक्ने अवस्थामा थिएनन्। ढाडको नसा चेपिएर उनको हिँडाइ धीमा भएको छ। त्यसमाथि समूहमा सँगसँगै हिँड्दा यसै पनि गति कम हुने भइहाल्यो।
‘अझै एक–डेढ घन्टा लाग्छ होला लिदी पुग्न,’ उनले मसँग मोबाइलमा कुरा गर्दा बीच्चबीच्चमा लामो–लामो सास तान्दै भने, ‘उसो त तीन घन्टाको बाटो हो, आज भने हामीलाई चार घन्टै लाग्ला जस्तो छ।’
लिदी गाउँ जुगल गाउँपालिका, वडा नम्बर २ मा पर्छ। यहाँ शुक्रबार बिहान ६ बजेतिर पहिरो खसेर ३९ जना एकैठाउँ पुरिएका थिए। तीमध्ये १९ जनाको शव फेला परिसकेको छ। बाँकी २० जना अझै हराइरहेका छन्, जो सकुशल फेला पर्ने आश गाउँलेहरूले मारिसके।
शुक्रबारदेखि स्थानीय गाउँलेहरूले लगातार पहिरो पन्छाउँदा पनि सकिएको छैन। मान्छेले मात्र खनेर पार लाग्दैन भन्ने बुझेर गाउँपालिकाले एक्स्काभेटर चलाउने निधो गरिसक्यो। एक्स्काभेटर आफ्नो लागि आफैं बाटो खन्दै पहिरोग्रस्त क्षेत्रतर्फ बढिरहेको छ, श्रेष्ठले भने, ‘भोलि दिनभरिमा पुग्छ होला।’
यो गाउँमा जम्मा १७२ घरपरिवार बसोबास गर्छन्। पहिरोमा पुरिएकाहरू ११ परिवारका हुन् भने ३७ घरपरिवार प्रभावित छन्। पुस्तौंदेखि डाँडाको नाडी छामेका उनीहरूले बेलैमा पहिरो पहिल्याउने स्थानीय ‘टेक्निक’ नलगाएका भए यी ३७ परिवार एकैठाउँ चिरिप्प हुन्थे।