सर्लाहीमा निषेधाज्ञा थप एक सात लम्ब्याइएकाे छ। समुदायमा पुगिसकेको कोरोना संक्रमण थप फैलिन नदिन निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सर्लाहीमा २६ गतेदेखि सात दिनका लागि निषेधाज्ञा जारी गरिएको थियो। उक्त निर्णयअनुसारको निषेधाज्ञा आइतबार रातिबाट सकिँदै थियाे।
समुदायमा कोरोना संक्रमणको आशंकासहित आइतबार दिउँसो कोरोना रोकथाम नियन्त्रण समितिको बैठकले निषेधाज्ञाको समय बढाउने निर्णय हो।
भदौ १ गतेबाट लागू हुने निषेधाज्ञामा सोमबार, बुधबार र शुक्रबार साँझ ४ देखि ७ बजेसम्म स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै अत्यावश्यक खाद्यान्न सामग्रीका पसल सञ्चालन अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।
पछिल्लो एक सातामै १ सय ५० जना नयाँ संक्रमित फेला परेका छन्।
सर्लाहीमा हालसम्म ९ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये ७ सय ६६ जना निको भएर घर फर्किसकेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।