गण्डकी प्रदेशमा एकै परिवारका ४ जनासहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा आइतबार एकै परिवारका ४ जनासहित थप ७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। 

गत शुक्रबार व्यास नगरपालिका–१ चारकुनेकी ६९ वर्षीय वृद्धामा कोरोना पोजिटिभ देखिएपछि उनकै परिवारका सदस्यहरुको परीक्षण गर्दा रिपोर्ट पाेजिटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतिले बताए।

उनका अननुसार पोखरामा गरिएको परीक्षणमा ती महिलामा कोरोना देखिएपछि उनका परिवारले आफै गएर परीक्षण गरेका थिए। संक्रमण हुनेमा ९ वर्षीय बालक, १३ वर्षीया बालिका, ४० वर्षीय पुरुष र ३६ वर्षीय महिला रहेको जनाइएको छ।

अवस्था सामान्य रहेका उनीहरुलाई दमौली अस्पतालको आइसोलेसनमा राखिएको छ।

यस्तै, वृद्धामा कोरोना पोजिटिभ देखिएपछि कन्ट्याक ट्रेसिङ मार्फत १०२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको र रिपोर्ट आउन बाँकी रहेको नगरपालिकाले जनाएको छ। 

त्यस्तै, जिल्लाको भानु नगरपालिका–४ का ३० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुने पुरुष नगपालिकाकै कर्मचारी रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताएका छन्।

यस्तै क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा नवलपरासी पुर्व बिनयत्रिबेणी गाउँपालिका १ का ३७ र ४२ वर्षीय दुई पुरुषमा पनि काेराेना देखिएकाे छ। 
 
उनीहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको  छ | 

यता पर्बत जिल्ला, बिहादी गाउँपालिका ५ का ३५ वर्षीय पुरुषमा पनि काेराेना देखिएकाे छ। 
 

प्रकाशित मिति: : 2020-08-16 14:17:08

प्रतिकृया दिनुहोस्